... अनि जन्मियो ‘सेतो याक’ !

रामचन्द्र भण्डारी
रामचन्द्र भण्डारी

लोकान्तरका समाचार संयोजक भण्डारी प्रशासन, न्याय र राजनीतिमा कलम चलाउँछन् ।

काठमाडौं –‘रसुवाको धुञ्चे पुग्दा मेरो मुटु आधी भयो । राम्चेमा पहिरो गएर नेपाली सेनाको ब्यारेक लिएर गएको, भार्खुमा पहिरो गएको ... । यो सबै देखेपछि मेरो एकदमै सातो गयो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा कुराकानीका क्रममा सहसचिव केदार पनेरूले त्यो कहालीलाग्दो दिनको स्मरण गरे ।

साहित्यकार समेत रहेका पनेरूको हालै सार्वजनिक भएको उपन्यास ‘सेतो याक'का सन्दर्भमा कुराकानीका लागि हामी उनको कार्यकक्षमा पुगेका थियौं । 'सेतो याक' रसुवागढी र केरुङकै सेरोफेरोमा केन्द्रित छ ।


Advertisement

'सेतो याक'को कुरा गर्दा पनेरू रसुवागढी भन्सारको प्रमुख भएर त्यहाँ गएको प्रसंग छुटाउने हो भने अपूरो हुन जान्छ । सोही कारण उनी हामीलाई रसुवा पुग्दाको अनुभव सुनाउँदै थिए ।

२०७२ सालको विनाशकारी भूकम्प लगत्तैको समय थियो त्यो । रसुवागढी भन्सार प्रमुखको रूपमा जिम्मेवारी पाएपछि कार्यकक्षतर्फ जाँदै पनेरू । 


Advertisement

‘सबै कोल्याप्स भएको अवस्थामा पुगेँ म । बच्चाहरू मरेका, शवहरू पुरिएका, कन्टेनरहरू पुरिएका कहालीलाग्दा घटना सुनाउँथे स्थानीयले । स्थिति निकै हृदयविदारक थियो,’ उनले थपे ।

नेपालको आकर्षक टूरिस्ट गन्तव्यअन्तर्गत पर्ने लाङटाङ थिलोथिलो भएको थियो ।

चीनलाई काठमाडौंसँग जोड्ने मुख्य नाका तातोपानी तत्कालै सञ्चालनमा ल्याउन नसकिने गरी भूकम्पले ध्वस्त बनाएको अवस्थामा रसुवागढी नाकामा पनि त्यस्तै गरी पुगेको क्षतिका बाबजुद नाका सञ्चालनको वातावरण बनाउन पनेरूले खेलेको भूमिका साँच्चै प्रशंसनीय छ ।

तत्कालै भारतले लगाएको नाकाबन्दीका बेलामा रसुवागढी नाका नेपालीका लागि मनोवैज्ञानिक रूपमा कसरी सारथि बन्यो, त्यो कुरामा सारा नेपाली जानकार छन् । यो विषयलाई यहीँ छाडौं ।

पनेरूले रसुवा बसाइका क्रममा भोटेकोशी किनारमा एउटा शव जलिरहेको देखे, त्यहीँबाट भयो उपन्यास ‘सेतो याक'को न्वारन ।

‘भोटेकोशीको बगरमा एउटा लास जलिरहेको देखें, त्यो विदेशीको लाश थियो भनेर भन्न अहिले मैले मिल्दै‍न ..., यो विषयले उपन्यास खेलनको शुरूवात गर्न प्रेरणा दियो ।’

त्यो जलेको कसको शव थियो, त्यसलाई पनेरू किन ‘विदेशीको लाश’ भन्न चाहँदैनन्, ती कुराहरू थाहा पाउन भने उपन्यास ‘सेतो याक' नै पढ्नुपर्छ ।

'सेतो याक'मा उत्तरी रसुवाको हिमाली बस्ती, त्यहाँका सोझा र इमान्दार तामाङहरू, तिनीहरूको संस्कृति, लाङटाङ जाने पर्यटक, केरुङका ‘जिरो फिगर’ लगायतका कथा वस्तुलाई निकै रोचक ढंगले एउटै मालामा उनिएको छ । पढ्न थालेपछि नसकुञ्जेल उठ्नै मन लाग्दैन ।

उपन्यास लेखनका लागि बुढापाकासँग कैयन अन्तर्वार्ता लिएको र स्थानीयसँग ४ महिना त भाषा नै सिकेको उनी बताउँछन् । रसुवागढी बसाइमा मिलेको फुर्सद र देखे/सुनेका यथार्थ घटनाहरूको संग्रह हो, 'सेतो याक' ।

लेखनको सधैं भोक, गायब बनाइयो ५० कविता !

पनेरूले अर्थ मन्त्रालयको बजेट महाशाखामा लगातार ९ वर्ष काम गरे । कामको व्यस्तता सधैं नै हुन्थ्यो । थोरै समय निस्कियो भने उनी लेख्न शुरू गरिहाल्थे । यसबीचमा एडीबीसम्बन्धी एक प्रोजेक्टमा उनको काम पर्‍यो । बिहानको समयमा फुर्सद हुन्थ्यो । कविता लेखेर बस्दथे ।

व्यस्तताकाबीच थोरै फुर्सद निकालेर उनले लेखेका करीब ५० वटा कविता कम्प्यूटरबाटै गायब भए । यो २०६३ सालतिरको कुरा हो । आफ्नो सिर्जना यसरी हराउँदा दुःख त लाग्छ नै तर उनले लेख्न भने छाडेनन् ।

रसुवागढीमा सरुवा पनि दुर्गममा गएर काम गर्ने उनको विशेष इच्छाको बलमा भएको थियो ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले राम्रै ठाउँमा जान गरेको आग्रहका बाबजुद रसुवागढी रोजेर त्यहाँ पुगेका थिए पनेरू ।

‘अर्थ मन्त्रालयको बजेट महाशाखामा रहेर काम गरेको पनि ९ वर्ष भइसक्यो, अब कतै दुर्गममा गएर केही वर्ष सेवा गर्ने इच्छा छ भन्दा डा. महतले ‘तपाईं लामो समयदेखि यहाँ हुनुहुँदोरहेछ, कतै राम्रै ठाउँमा जानुस्, म मिलाइदिन्छु’ भन्नुभएको थियो तर मैले दुर्गममा गएर काम गर्ने इच्छा व्यक्त गरें,’ पनेरूले लोकान्तरसँग भने ।

दुर्गममा गएर सेवा गर्दा ग्रेड थपिने र बढुवाका लागि सहज हुने थोरै आशा पनि आफूमा कताकता रहेको उनी स्वीकार्छन् । यदि उनी रसुवा गएका थिएनन् भने के थाहा ‘सेतो याक' नै जन्मिँदैन थियो कि !

काममा सधैं अब्बल !

कर्मचारी समायोजनको चूनौतीपूर्ण कामलाई पनेरू नेतृत्वकै महाशाखाले टुंग्याएको हो । देश संघीयतामा गएपछि कर्मचारी समायोजनको काम निकै चुनौतीपूर्ण मानिएको थियो ।

रसुवाबाट फर्किएपछि केही समय प्रदेश सभामा खटाइएका पनेरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएपछि कर्मचारी समायोजन तथा संगठन विभाग महाशाखाको प्रमुखको रूपमा जिम्मेवारी सम्हाले । काम यति महत्त्वपूर्ण थियो कि उनले लगभग तयार भएको आफ्नो उपन्यासलाई पनि समायोजन नसकिँदासम्म प्रकाशनमा ल्याएनन् ।  

केही दिनअघि उपन्यास 'सेतो याक' विमोचनका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘आफूले यत्तिको मेहेनती कर्मचारी नदेखेको’ भन्दै सहसचिव पनेरूको प्रशंसा समेत गरेका थिए ।

पनेरू पनि आफूलाई मन्त्री पण्डितले समस्याबाट नभाग्न ‘इन्सपायर’ गरेको बताउँछन् ।

नबिर्सिने ती क्षण...

करीब ३० वर्ष लामो सरकारी सेवामा पनेरूले केही यस्ता प्रशंसा कमाएका छन्, जसलाई उनी कहिल्यै भुल्ने छैनन् । ती प्रसंग पनेरूले हामीसँग यसरी बाँडे ।

प्रसंग – १ :​ २०४८ सालको कुरा हो । म निर्वाचन आयोगमा कार्यरत थिएँ । एक दिन म काम गर्दै थिएँ । कामको चाप एकदमै थियो । रातको ११ बझिसकेको रहेछ । तत्कालीन प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले म एक्लै बसेर काम गरिरहेको देख्नुभएछ । उहाँले नजिक आएर सोध्नुभयो – ‘यति राति के गरिरहेका छौ ?’ मैले काम गरिरहेको बताएँ । त्यसपछि उहाँले कहाँ बस्छौ भनेर सोध्नुभयो । मैले नैकाप भनें । उहाँले यति राति भइसक्यो अब कसरी जान्छौ त भन्नुभयो, मैले ढिला भएछ अब हिँडेर जान्छु भनें । त्यसपछि उहाँले तिमीलाई एकदमै गाह्रो भयो म गाडीको व्यवस्था गर्दिन्छु, भन्नुभयो ।

प्रसंग– २ : मैले रसुवामा गएर गरेको कामको साक्षी तत्कालीन अर्थमन्त्री डा. रामशरण महत हुनुहुन्छ । आफूसँग चिनियाँ राजदूतले भनेको कुरा उहाँले मलाई सुनाउनुभएको थियो, म तपाईंलाई बताउँछु । चाइनिज राजदूतले डा. महतसँग के भन्नुभएछ भन्दा– ‘तैंले असाध्यै योङ, असाध्यै इनर्जेटिक र असाध्यै मेहेनती मान्छे पठाइस्, उसले नेपालतर्फबाट आफ्नो सरकारको स्रोत साधनलाई परिचालन र सबै निकायहरूसँग समन्वय गरेर बाटो खुलायो, त्यसले गर्दा हामीलाई केरुङतर्फको बाटो खोल्न बाध्य बनायो । मलाई विदेशी राजदूतले भेटेर नेपाली कर्मचारीबारे पहिलोपटक तारिफ गरे । मैले तपाईंलाई ठीक ठाउँमा पठाएछु भनेर म आफू पनि एकदमै खुशी छु भनी डा. महतले मलाई भन्नुभएको थियो ।

भाषा साहित्यमा पनि उस्तै अब्बल

नेपाली साहित्य र जनप्रशासनमा स्नातकोत्तर गरेका पनेरू भाषा साहित्यका निकै अब्बल विद्यार्थी थिए । आफूले भाषा विज्ञान र पाश्चात्य समालोचनामा उत्कृष्ट अंक ल्याएको उनी सगर्व सुनाउँछन् ।

सरकारी कर्मचारीको रूपमा देशको सेवा गर्न अझै २३ महिना बाँकी छ उनीसँग । लेखन भने जारी रहने छ । अर्को कृतिको पनि तयारी गरिरहेका पनेरूका केही गीत अहिले कम्पोजमा छन् ।

छिट्टै ती गीतहरूलाई बजारमा ल्याउने उनको तयारी छ ।

कमेन्ट गर्नुहोस्