
सुर्खेत- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको दोस्रो बैठक आइतबार देखी वीरेन्द्रनगरमा सुर्खेतमा शुरु भएको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्षपछि जिल्ला एकता टुंगो लागेपछि कर्णाली प्रदेशको बैठक दोश्रो पटक बस्न लागेको हो ।
प्रदेश कमिटि गठन भएपश्चात दोस्रो पटक बस्न लागेको बैठकमा कर्णाली प्रदेशका दश वटै जिल्लाका जिल्ला कमिटिलाई पुर्णता दिने तयारी थालिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकमा प्रदेश कमिटीले जिल्ला कमिटीलाई पूर्णता दिने, स्थानीय कमिटिहरू गठन गर्नेलगायतका एजेण्डा अघि सारिएको नेता रिजालको भनाई छ ।
‘बैठक सोमबार सकिनेछ । बैठकमा प्रदेश र स्थानीय कमिटि गठन गरिनेछ,’ उनले भने, ‘अनि प्रदेश सरकार र स्थानीय सरकारको प्रभावकारी परिचालनका बारेमा आवश्यक निर्णय गरिनेछ ।’ प्रदेश कमिटिको पहिलो बैठकपछि दश वटै जिल्लामा सम्पन्न भएको पार्टी अभियानको समिक्षा पनि गरिने उनको भनाइ थियो ।
हरेक जिल्लाका स्थानीय तहगत कमिटि तथा जिल्ला कमिटी एकिकरणको लागि भएको आधार एवम् सिफारिसमा छलफल गरिने बताईएको छ । यसैबीच आज आइतबार बसेको बैठकमा इन्चार्ज जनार्दन शर्मा प्रभाकर, सहइन्चार्ज यामलाल कंडेललगायतका नेताले प्रस्तुतिकरण राखेका थिए । नेताहरुको प्रस्तुति पछि विभिन्न पाँचओटा समूह बनाई छलफल गरिएको नेता रिजालको भनाई छ ।