
काठमाडौं – यौन हिंसा र शोषणको विरोध गर्दै स्विट्जरल्यान्डका महिलाहरूले सडकमा प्रदर्शन गरेका छन् ।
शुक्रवार उनीहरूले गरेको प्रदर्शनलाई पर्पल वेभ नाम दिइयो किनकि प्रदर्शनमा भाग लिएका महिलाले पर्पल रंग छानेका थिए । लाउसेन शहरमा हजारौं महिलाले जुलुस निकाले र आफ्नो अन्डरवेयर जलाए ।
यौन हिंसाको विरोधमा उनीहरूले दाउरामा आगो लगाए र त्यसमा आफ्नो टाई र अन्डरवेयर झोसे ।
स्विट्जरल्यान्ड संसारको नवौं धनी देश हो । तर त्यहाँ लैंगिक असमानता, कार्यस्थलमा भेदभाव, असमान तलब र अवसरको कमी छ । त्यसैको विरोध गर्दै महिलाहरूले प्रदर्शन गरेका हुन् ।
स्विट्जरल्यान्डमा महिलाले पुरुषको तुलनामा २० प्रतिशत कम तलब पाउँछन् ।
महिलाहरू यौन हिंसा र शोषणविरुद्ध शून्य सहनशीलता चाहेका छन् ।
देशका १२ शहरमा महिलाहरू आफ्नो मागका साथ सडकमा ओर्लिएका थिए । उक्त जुलुसमा सबै क्षेत्रमा काम गर्ने महिलाहरू संलग्न थिए । सन् १९९१ मा असमानताका विरुद्ध सडक प्रदर्शन गरेयता स्विट्जरल्यान्डमा यो सबभन्दा ठूलो आन्दोलन हो । त्यतिखेर पाँच लाख महिला सडकमा आएका थिए । अधिकारवादी समूहहरूले २८ वर्षपछि पनि स्थिति खासै नसुध्रिएको बताए ।
एजेन्सी