२७ जेठ २०८३, बुधबार

राम्रो व्यवस्थापन भएको विद्यालय पुरस्कृत, विद्यार्थी आफैंले गर्छन् आफ्नो हाजिर

राम्रो व्यवस्थापन भएको विद्यालय पुरस्कृत, विद्यार्थी आफैंले गर्छन् आफ्नो हाजिर
सन्दर्भ तस्वीर

सिञ्जा- हिमा गाउँपालिकामा रहेका २० विद्यालयमध्ये कालिका आधाभूत विद्यालयलाई शिक्षा क्षेत्रमा नमुना र उत्कृष्ट काम गरेको भन्दै नगद पुस्कारसहित पुरस्कृत गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले राम्रो गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो गर्ने विद्यालयलाई कारवाही गर्ने नीति लिइएको बताए । 

विद्यालयले दिने शिक्षा र व्यवस्थापन हेरेर सरोकार निकायको बैठकले कालिका आधारभूत विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए । 'गाउँपालिकाका २० विद्यालय र एक आवासीय विद्यालयलाई व्यवस्थित र चुस्त बनाउन गाउँपालिकाले अभियान थालेको छ,' उनले भने । 

कालिका विद्यालयमा कम जनशक्ति भए पनि विद्यालय प्रशासन व्यवस्थित भएका कारण शैक्षिक अवस्था राम्रो देखिएको गाउँपालिकाले जनाएको छ । विद्यालयको चिटिक्क कक्षाकोठा, भित्तामा विभिन्न शैक्षिक सूचनामूलक सन्देश, बालमैत्री कक्षाकोठा, बालमैत्री तथा अपाङ्गमैत्री शौचालयदेखि अन्य क्षेत्रमा राम्रो व्यवस्थापन भएको छ । यसैगरी विद्यालयले गरीब, विपन्न र अनाथ बालबालिकाका लागि आवासीय विद्यालयसमेत शुरू गरिएको बताइएको छ । 

विद्यार्थी आफैंले आफ्नो हाजिर गर्छन् 

बिहान विद्यार्थीहरू आउनेबित्तिकै कक्षाकोठामा आफैं हाजिर गर्छन् ।  प्रधानाध्यापक दीपबहादुर शाही भन्छन्, 'हामीले सानो स्रोतमा पनि शिक्षामा गुणस्तर कायम गर्ने प्रयास गरेका छौं । हाम्रो कामको मूल्याङ्कन गरेर स्थानीय सरकारले प्रोत्साहन गरेकामा विद्यालय परिवार खुशी छ । आगामी दिनमा झन् सक्रिय हुनेछौं । अहिले कक्षा १ देखि ५ र र ईसीडी (पूर्व बाल विकास कार्यक्रम)का विद्यार्थी गरी १५२ जना विद्यार्थीहरू छन् ।'  तीन शिक्षक दरबन्दीमा, एक करारमा र एक निजी स्रोतबाट राखिएको प्रधानाध्यापक शाहीले जानकारी दिए । 

कक्षा कोठा भने पाँच वटा मात्रै भएकाले दुई वटा कक्षा एउटै कोठामा राख्नुपर्ने बाध्यता छ । यसैगरी घेरबार गर्न बाँकी रहेको र यसका लागि बजेट नभएको प्रधानाध्यापक शाहीले बताए । 'विभिन्न भित्ते लेखन, गोटी प्रणाली हाजिरी, सफा कक्षाकोठाले पढ्ने वातावरण राम्रो भएको छ,' कक्षा ५ मा अध्ययनरत विद्यार्थी प्रमिला रोकायाले भने ।

salt training

कमेन्ट गर्नुहोस्