चार्ल्स शोभराज हैनन् रेशम चौधरी !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

दरबार हत्याकाण्ड ज्योतिषीले पत्ता लगाउने, टीकापुरको हत्याकाण्ड भने ठ्याक्कै राज्यले नै पत्ता लगाउने यो उदेकलाग्दो भएको छ । यद्यपि हरेक घटनाक्रमले एउटा मानक खडा गरेको हुन्छ । तर त्यो मानक मानापाथी, ढकतराजु जस्तो एक चिम्टी तलमाथि गडबड नगरी भन्ने चाहिँ हुँदैन । हाम्रो राजनीतिक संस्कारको मानकले यस्तै थुप्रै गडबडहरू पैदा गरेको छ । जस्तो कि, अखण्ड सुदुरपश्चिमको माग गर्दै प्रदर्शन गर्नेलाई केही भएन तर हातमा कालो झण्डा र ढुंगाबाहेक अरू केही नबोकेका थरुहट प्रदेशको माग गर्ने जनतालाई किन गोली बर्साइयो, कसैले जवाफ दिनुपरेको छैन । कोही कठघरामा उभिनुपरेको छैन । यहाँ राज्यतर्फको गोली खानु आधिकारिक मान्यता प्राप्त हुनु जस्तो भएको छ । आजभोलि त यो दोहोरो मुठभेड भन्ने शब्दको प्रयोग पनि व्यापक हुन थालेको छ । यो पनि आधिकारिक मान्यताप्राप्त शब्द जस्तो भयो । 

केपी ओली सरकारका एकजना मन्त्री छन् गोकुल बाँस्कोटा । मलाई राम्रोसँग चिन्छन् । मेसेजको रिप्लाई पनि दिन्छन् । तर फेमिलियर छन् भन्दैमा ठाउँको ठाउँ ढाँट्ने मन्त्रीलाई काँध थाप्न कहाँ सकिन्छ र ? मिडियाका सामु गुठीलाई सामन्तवादसँग तुलना गरेका बाँस्कोटाको चर्को विरोध भएपछि संसदमा उभिएर ‘हैन, मैले कहाँ त्यस्तो भनेको हुँ र ? भनेकै छैन । भनेको भए प्रमाण पेश गरे भैगो नि त यार’ भनेका थिए । पत्रकार पनि के कम त ? प्रमाण पेश नै गरिदिए । मन्त्रीका कारण बदनाम प्रधानमन्त्री शीर्षकमा स्टोरी लेख्न कल्पिँदै थिएँ, अचानक इमुमा अनुपम चौधरी भाइको मेसेज आयो । उनले लेखेका थिए, ‘दाइ यार, तपाईं त हाम्रो मनमुटुमा बसेको स्तम्भकार, हामी तपाईंको नियमित पाठक, फ्यान नै हौं, यो हाम्रो रेशम दाइको खुट्टामा किन फलामको नेल लगाइदिएको होला के ? उनी हाम्रो अग्रज, मैले भोट पनि उनैलाई दिएको हुँ । आज सारै दुःख लाग्यो, यस विषयमा तपाईंले लेखिदिनुपर्‍यो ।’


Advertisement

कसैले लेख भनेर लेख्ने वा नलेख्ने भन्ने त हैन तर नियमित पाठकको चित्त बुझाउनु मेरो कर्तव्य हो ।  सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल भयो –एक्कासि ढाडको नसामा गम्भीर समस्या देखिएपछि वीर अस्पतालमा उपचार गर्न लगिएका जननिर्वाचित तर निलम्बित सांसद रेशम चौधरीको खुट्टामा फलामको नेल बाँधिएको तस्वीर । उनको हातमा पनि त्यस्तै किसिमको नेल बाँधिएको थियो भन्ने सुनिन्छ । सुरक्षा निगरानीका नाममा रेशम चौधरीमाथि गरिएको यो हदैसम्मको राणाकालीन, पञ्चायतकालीन हर्कत पहिलोपटक भने हैन । यसभन्दा अगाडि पनि उनी बिरामी भएको समयमा अस्पतालको शय्यामा यस्तै किसिमको फलामको नेलले नै बाँधेर राखिएको थियो । तर यसपटक भने झापा विद्रोहबाट उदाएका, १४ वर्ष लामो जेलनेल भोगेर दुःखकष्ट सहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा दयामाया पलायो । र ओलीको निर्देशनपश्चात् चौधरीको खुट्टामा लगाइएको नेल हटाइएको छ । यस्तो कुकर्ममा सहभागी हुनेहरूलाई कारवाही गर्न पनि निर्देशन दिइएको छ । तर आफ्ना बफादार सिपाहीहरूलाई कारवाही गर्न कमलो मन गरेका आईजीपीले शायदै सक्लान् । 

हुनसक्छ नेपाल प्रहरीका लागि रेशम चौधरी बिकिनी किलरका नामले परिचित, नेपाली प्रेमिका भएका र नेपालकै जेलमा दालभात हसुरेर बसेका चार्ल्स शोभराज समानका हुन् । कथंकदाचित् रेशम चौधरी भन्ने मनुष्य फरार भए भने त बर्बादै हुन्छ, जागिर जान्छ, नजरबन्दीमा परिन्छ । सुरक्षा दृष्टिले यो सतर्कता ठीकै होला । तर एउटा बुझ्नुपर्ने कुरा के हो भने रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेर ल्याएको हैन, उनी आफैं एकप्रकारको आत्मसमर्पण गरेर आएका हुन् । बरू प्रहरीले त पक्राउ गर्न नसकेकै हो । नेपाल–भारत सीमा नजिकै आएर चुनाव प्रचारप्रसारका लागि रेशम चौधरीले आफ्ना कार्यकर्तासँग भेटघाट गर्दा अनुसन्धान विभाग, प्रहरीको संयन्त्र शायद मस्त सपनामा थियो, निदाइरहेको थियो । उसो त काठमाडौंमा  त्यो पनि सिंहदरबार नजिकै दिनदहाडै बम पड्किँदा पनि उनीहरू सुतिरहेकै छन् । रेशम चौधरीलाई फलामको नेल लगाएर चारैतिर घेरेर राख्नु भनेको त कस्तो भयो भने मरेको बाघलाई बन्दूक ताकेर जगाउन खोजे जस्तो ।

त्यो राजनीतिक घटनाक्रम थियो र राजनीतिक घटनाक्रम राजनीतिक रूपमै हल गरिनुपर्दछ । त्यसो हुन सक्दैन भने यहाँ कोही चोखो रहनेवाला छैन ।

हो, बिकिनी किलर चार्ल्स शोभराज  सन् १९७१ मा एपेन्डिसाइटिसको बिरामी भएको बहाना गर्दै जेलबाट बाहिर आए र अस्पतालबाटै फरार भए । चार्ल्स शोभराजलाई सन् १९७६ मा दोस्रोपटक पक्राउ गरियो । दश वर्षपछि उनले जेलबाट भाग्नका लागि कैयौं दुस्साहसी कदम चालेका थिए । शोभराजले जेलभित्रै जन्मदिनको पार्टी राखे । उक्त पार्टीमा विभिन्न व्यक्तिका साथै सुरक्षा गार्डहरूलाई पनि बोलाइएको थियो । पार्टीमा बाँडिएको बिस्कुट र अंगुरमा निद्रा लाग्ने औषधि मिसाइएको थियो । केहीबेरमै शोभराज र उनीसँगै जेलबाट भागेका अन्य चार व्यक्तिबाहेक अरू सबै जेलभित्रै निदाए । चार्ल्स शोभराज जेलबाट बाहिर निस्कने कुरामा यति धेरै विश्वस्त थिए कि उनले जेलको गेटमा तस्वीर समेत खिचाएका थिए । शायद प्रहरीलाई चार्ल्स शोभराजकै याद आयो कि ?  त्यसो भए फलामको नेल नै निगरानीको अन्तिम अस्त्र हो भने प्रहरीको ड्युटी चाहिँ के हो त ? मोबाइलमा युवतीसँग च्याट गरेर बस्ने त हैन होला ।

भनाइको तात्पर्य के हो भने  रेशम चौधरी मात्र हैन, उनको स्थानमा चार्ल्स शोभराज, हिटलर नै होस् वा जोकोही कुख्यात अपराधी किन नहोस्,  उनीहरूले विना कुनै मानसिक दबाबका बीच उपचार गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ । डाक्टरहरू पनि यही तर्क गर्छन् । उनीहरू भन्छन्, ‘अस्पतालमा डाक्टर भेट्न आउने जो कोही प्रोफाइल भएका, आचरण र विचरणका भए पनि हाम्रा लागि ती केवल बिरामी नै हुन् ।’ तर यो गणतन्त्रमा त्यो पनि विद्रोह, आन्दोलनमा धेरै दिलचस्पी राख्ने कम्युनिस्टको दुईतिहाइको सरकार भएको समयमा एउटा राजनीतिक घटनाप्रधान विषयलाई यसरी व्यक्तिहत्या जस्तो अत्यन्तै अमानवीय ढंगले जुन व्यवहार भयो, त्यो खेदजनक छ । यो बर्बर अत्याचार भएको छ । एउटा राजनीतिक आन्दोलनको दुःखद घटनाक्रमले जन्माएको परिस्थितिले कुनै खास एक व्यक्ति विशेषलाई अपराधी कसरी किटान गर्न सक्छ ? हिजोको झापा विद्रोह भन्नुहोस् वा जनयुद्ध वा जनआन्दोलन के डम्फु बजाएर आएको थियो ? के १९ दिने जनआन्दोलनमा माखो मरेका थिएनन् ? मादल मात्रै बजेको थियो त ? 

अस्पतालमा गइसकेपछि अपराधी नै हो भने पनि अस्पतालमा रहँदासम्म उसको परिचय भनेको उपचार गर्न आएको एक बिरामीको हुन्छ । तर बिरामीको खुट्टामा फलामको नेल किन लगाउनुपर्‍यो ? नेल्सन मण्डेला जस्तै फलामको नेलमा बाँधिए रेशम चौधरी । ग्यासको च्याम्बरमा हालेर हिटलरले यहुदीहरूलाई दिएको त्यो क्रूर सजाय अहिले पनि विश्वले भुल्न सकेको छैन । फरक विचार र आस्था भएकै कारण विभिन्न युगमा सम्राटहरूले मानव चिहानको पहाड नै निर्माण गरे । महाभारतको लडाईंमा पनि लाखौं धार्मिक योद्धाहरू मारिए । पहिलो र दोस्रो विश्वयुद्धमा खसेका बमहरूले करोडौं मानिसहरूको चिहान खडा गर्‍यो । तर जस्तोसुकै युद्धमा पनि घाइते र बिरामीको उपचार सुनिश्चित गरिनुपर्छ । दुश्मन नै किन नहोस्, ती घाइते र बिरामी छन् भने तिनमा मानवअधिकार लागू हुन्छ । के रेशम चौधरीलाई युद्ध अपराधीलाई जति पनि सहुलियत छैन ? 

मलाई त के लाग्छ भने यस राज्यले नै रेशम चौधरीलाई नेल्सन मण्डेलाको परिचय निर्माण गरिदिँदैछ किनभने उनको मामिलामा टीकापुर मात्र हैन, सिंगो देश नै विभाजित छ । अन्यथा यसो हुँदैनथ्यो भने उनले चुनाव पनि जित्दैनथे होला । उनले सहज ढंगले चुनाव जित्नुको अर्थ हो, समाजमा पनि जनता विभाजित छन् । जनताका विचारहरू विभाजित छन् । सामाजिक सञ्जालमा कतियपले उनलाई नेल्सन मण्डेला जस्तो समेत भन्न भ्याएका छन् । टीकापुर स्थानीय घर भएका रोहित थारूले रेशम चौधरी आफ्ना लागि नेल्सन मण्डेला सरी भएको बताएका छन् । सबैलाई अवगत नै छ, नेल्सन मण्डेला दक्षिण अफ्रिकामा सन् १९१८ को १८ जुलाईमा  जन्मेका विश्वप्रसिद्ध व्यक्तित्व हुन् । उनी आफ्नो जीवनमा रंगभेदी, जातिभेदी नेतृत्वविरुद्ध अनवरत लडेर दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रप्रमुख बनेका व्यक्ति हुन् । मण्डेलाले राजनीतिक जीवनमा लामो समय जेलमा बिताएका थिए ।  के रेशम चौधरीको विभेदपूर्ण व्यवस्थाविरुद्धको आन्दोलन दक्षिण अफ्रिकाको जस्तो थियो त ? के थरुहट आन्दोलन र मधेस आन्दोलनको कुनै विचार थिएन ?  

रंगभेदविरुद्धको आन्दोलन गरेकै कारण मण्डेलालाई  २७ वर्षसम्म जेल सजाय दिइएको थियो । सन् १९५६ मा मण्डेलामाथि देशद्रोहको आरोप लागेको थियो भने सन् १९६४ मा आजीवन कारावास सजाय दिइएको थियो । मण्डेला जेल गएपछि विश्वभरमा रंगभेदविरुद्धका आन्दोलनको एक प्रतीक बनेका थिए । मण्डेला सन् १९९० मा जेलबाट छुटेपछि सन् १९९३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । त्यो समय मण्डेलासहित १ सय ५५ जनामाथि देशद्रोहको आरोप लाग्यो । चार वर्षसम्म चलेको सुनुवाइपछि मण्डेलामाथिको आरोप खारेज भयो । सन् १९६० मा अफ्रिकन नेसनल कांग्रेसमाथि प्रतिबन्ध लागेपछि मण्डेला भूमिगत हुनुभयो । रंगभेदी सरकारसँग तनाव त्यसबेला झन बढ्यो जब १९६० मा ६९ काला मानिस प्रहरीको गोलीको शिकार बने । यो शार्पविल हत्याकाण्डले चर्चित छ । यस्तो लाग्छ, टीकापुरको त्यो दुर्घटना पनि  शार्पविल हत्याकाण्डको प्रारूप थियो । के यसको जवाफ भीम रावलहरूले दिन सक्छन् ? के राजेन्द्र महतो र उपेन्द्र यादवहरू जेल बस्न तयार छन् ? के माखेसाङ्लो र आँपहरू झर्छन् भनेर उत्तेजक अभिव्यक्ति दिने प्रधानमन्त्री माफी माग्न तयार छन् ? के त्यतिखेर नाकामा गएर नाकाबन्दी गर्ने सीके लाल र खगेन्द्र संग्रौलाहरू आत्मालोचना गर्न तयार छन् ? 

रेशम चौधरी धान खाने मुसा, चोट पाउने भ्यागुता त भएका छैनन् ? 

आफूलाई न्याय हुने आशाका साथ रेशम चौधरी अदालतमा उपस्थित भएका हुन् भन्ने मेरो मान्यता छ । जस्तो कि, रिभोनियनको अदालतको कठघरामा उभिएर मण्डेलाले प्रजातन्त्र, स्वतन्त्रता र समानताको पक्षमा आफ्नो दृढ विश्वास व्यक्त गरेका थिए । तर उनको विश्वासविपरीत रोबेन आइल्यान्डमा मण्डेलालाई १८ वर्ष थुनेपछि सन् १९८२ मा पोल्समूर जेलमा स्थानान्तरण गरियो । प्रश्न के हो भने रेशम चौधरी अपराधी हुन् भने चुनाव लड्नका लागि किन निर्वाचन आयोगले अनुमति दियो जबकि उनी कानूनको नजरमा सर्वाधिक खोजी गरिएका एक पात्र थिए । ल, ठीकै छ, चुनाव लड्न पाए, आरोप पुष्टि भएको थिएन भन्ने तर्क गरौं तर कारागारमा राखिरहेका समयमा उनलाई सांसदको शपथ खुवाइयो र लोगोसहित उनलाई फेरि जेलमा नै लगियो । हातहतियार सहित रंगेहात समातिएका कुख्यात गुण्डाहरू जेलबाट निस्केर घर गइसके तर यी चौधरी बन्धुलाई अस्पतालमा पनि किन फलामको नेल ? के मानवता भन्ने सकियो, यार ? अनि कहाँ गए यी च्याउसरी उम्रेका मानवअधिकारवादीहरू, चुइँक्क बोल्दैनन् त गाँठे ! 

अन्त्यमा सम्मानित अदालतले रेशम चौधरी संलग्न भएको भनिएको टीकापुर प्रकरणबारे फैसला त गरेकै छ । तर त्यो फैसलालाई जनताले किन चित्त बुझाउन सकेका छैनन् भने त्यो टीकापुर प्रकरण राजनीतिक घटनाक्रमको उपज थियो । पक्कै पनि त्यो दुःखद थियो तर त्यो एक व्यक्ति विशेषले सनकका भरमा निम्त्याएको हत्याकाण्ड थिएन । फेरि पनि भन्नुपर्छ, त्यो राजनीतिक घटनाक्रम थियो र राजनीतिक घटनाक्रम राजनीतिक रूपमै हल गरिनुपर्दछ । त्यसो हुन सक्दैन भने यहाँ कोही चोखो रहनेवाला छैन । सम्भवतः नेपालको जेल नेताहरूले भरिनेछन् । रेशम चौधरी बसेको जेलमा राजेन्द्र महतो पनि हुनेछन् । सीके लाल पनि त्यहीँ हुनेछन् । रेशम चौधरी धान खाने मुसा, चोट पाउने भ्यागुता त भएका छैनन् ? 

मधेस आन्दोलन र थरुहट आन्दोलनबारे लगातार कुरा उठाइरहेका राजपाका नेता महन्थ ठाकुरले केही दिनपहिले संसदमा बोल्ने क्रममा प्रश्न गरे – ‘त्यही आन्दोलनमा मारिनेहरू शहीद बन्ने, तर घाइतेहरू अपराधी बन्ने यो हुन्छ ?’ मलाई लेख्न अनुरोध गर्दै मेसेज गर्ने ती भाइ फेरि अर्को मेसेज पठाउँछन्, ‘रेशम चौधरी भ्यागुता हैनन्, नेल्सन मण्डेला हुन् हाम्रा लागि त !’

कमेन्ट गर्नुहोस्