
गलेश्वर – जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगंगा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाका लागि मोना जापानले करीब ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
मोना जापानले संकलन गरेको ६ लाख ७७ हजार ७ सय ८८ रुपैयाँ शिशु प्रसिद्धी दर्जीको नाममा गरिमा विकास बैंकको केन्द्रीय कार्यालयमा रहेको खातामा जम्मा गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिए ।
‘पालनपोषणदेखि शिक्षादीक्षामा खर्च गर्ने गरी मुद्दती खातामा राखिएको छ, आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछौं,’ श्रेष्ठले भने । रोजगारको सिलसिलामा जापान पुगेकी दर्जी ब्रेनट्युमर रोगबाट ग्रसित थिइन् । दर्जीको मृत्युपछि १ महिनाको शिशुलाई नेपालमा ल्याइएको थियो ।
उपचार तथा अन्त्येष्टिसम्म मोना जापान र क्षेत्रीय समिति नागोयाबाट आर्थिक तथा आवश्यक कानूनी प्रक्रियामा समेत सहयोग गरिएको थियो । मोना जापानका अध्यक्ष दीपक केसीले अस्पतालको श्ययामै एक म्याग्देली चेलीलाई गुमाउनुको पीडालाई नजिकबाट हेरेको बताउँदै सहयोगलाई बालिकाको शिक्षादीक्षा र पालानपोषणमै खर्च गरिने बताए ।
‘जन्मदिने आमालाई गुमाएकी बालिकालाई आर्थिक अभाव हुन नदिने गरी सहयोग जुटाएका छौं,’ केसीले भने । केसीले संकलन गरिएको आर्थिक सहयोगलाई मोना जापानको प्रतिनिधिसहित आफन्तको नाममा बैंकमा राखिएको बताउँदै भविष्यमा थप कार्यविधि बनाएर बालिकाको हितमै खर्च गर्ने जानकारी दिए ।
बैंकमा मोना जापानको तर्फबाट चित्रबहादुर केसी, शिशुको तर्फबाट मामा र अर्का आफन्त गरी ३ जनाको नाममा खाता सञ्चालन गरिएको छ । यस अगाडि मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाले ८९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिसकेको छ ।