
काठमाडौं – रुसको पश्चिम भागमा झुक्किएर अलकत्राको ठूलो खाल्डोमा खसेका व्यक्तिलाई बटुवाहरूले उद्धार गरेका छन् ।
ती ३३ वर्षीय व्यक्तिको नाम खुलाइएको छैन । उनी अलकत्रा बनाउने कारखानामा हिँड्दै गर्दा चिप्लिएर खाल्डोमा खस्न पुगेका थिए ।
च्यापच्याप परेको अलकत्राबाट निस्कन नसकेपछि उनले गुहार लगाए ।
धन्य उनको आवाज बटुवाहरूले सुने । उनीहरू दौडिँदै खाल्डोमा पुगे अनि उनलाई निकाल्न सके ।
त्यसपछि उनीहरूले एम्बुलेन्स बोलाए र पीडितलाई अस्पताल कुदाइयो ।
ती व्यक्ति शिरदेखि पाउसम्म अलकत्राले छोपिएका थिए ।
चिकित्सकहरूले ती व्यक्तिको छालाबाट अलकत्रा निकाल्न रेजर प्रयोग गर्नुपरेको थियो र अलकत्रा कोट्ट्याएर सफा गर्न उनीहरूलाई घन्टौं लाग्यो ।
उनी खतरामुक्त रहेको र अब हिँड्न सक्ने चिकित्सकहरूले बताएका छन् ।
अलकत्रा बनाउने कारखाना एक वर्षअघि बन्द भए पनि खाल्डामा अलकत्रा बाँकी नै रहेका थिए । स्थानीय अधिकारीहरूले उक्त घटनापछि सरसफाइ गरेर अलकत्रा हटाउने प्रतिज्ञा गरेका छन् ।
एजेन्सी