२६ जेठ २०८३, मंगलबार

स्थगित भएको विषादी परीक्षणलाई छिट्टै निरन्तरता दिइन्छ : मन्त्री ज्ञवाली

स्थगित भएको विषादी परीक्षणलाई छिट्टै निरन्तरता दिइन्छ : मन्त्री ज्ञवाली

बुटवल – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् ।

सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगित गर्नुपरेको जानकारी दिँदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न विपक्षीलाई आग्रह समेत गरे ।

नेकपा बुटवल उपमहानगर कमिटीले शनिवार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले तयारी विना विषादी परीक्षण गरिँदा यो अवस्था आएको भन्दै ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिइने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको पनि दाबी गरे । उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताए ।

मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै हालसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गरे ।

उनले जनताका अपेक्षा अपार रहेको बताउँदै वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्ध व्यक्त गरे । वर्तमान सरकारले देशको विकास र समृद्धिको बहसलाई अघि बढाएको बताउँदै उनले सरकारमा रहेका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने बताए ।

मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफ्तारमा कर्मचारी संयन्त्रको ढिलासुस्ती समस्याको रुपमा रहेको बताउँदै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको बताए । उनले सरकार सही बाटोबाट अघि बढिरहेको बताउँदै वर्तमान सरकार र नेकपाको नेतृत्वले ऐतिहासिक अभिभारा पूरा गरेरै छाड्नेसमेत प्रतिवद्धता व्यक्त गरे । उनले पार्टी एकीकरण टुंगिन लागेको र नेताहरूको कार्यविभाजन बाँकी रहेको भन्दै यसलाई पनि छिट्टै टुंगोमा पुर्‍याइने बताए ।

पार्टीभित्र चलेको वैचारिक विषयमा उनले विचारका विषयमा अहिले बहस जति नै भएपनि बहुदलीय प्रतिस्पर्धाभित्र जनताको जनवादको बाटोबाट अघि बढ्ने विषयमा कुनै द्विविधा नरहेको र यसको नामाकरण भने महाधिवेशनले मात्रै टुंगो लगाउने बताए । कार्यक्रम पार्टी नगर कमिटी अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्