
काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी जाँच सम्बन्धमा सचिवहरूले गुमराहमा राखेको आरोप लगाएका छन् ।
तयारी छैन भनेर सचिवहरूले नभनिदिँदा विषादी जाँच गर्ने निर्णय गरेर फिर्ता गर्नुपरेको उनको दाबी थियो ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री यादवले सचिवहरूले सही जानकारी नदिँदा विषादी जाँच प्रक्रिया बीचमै रोकिनुपरेको बताएका हुन् ।
‘हामीलाई तयारी छैन भनेर पनि सचिवहरूले भन्दिएनन् । प्रधानमन्त्री कार्यालय, कृषि मन्त्रालय र हाम्रै सचिवले कुरा लुकाए, सचिवहरू पनि ठाउँमा बस्नु पर्यो नि,’ मन्त्री यादवले भने ।
सोमवार नै राष्ट्रियसभाको बैठकमा मन्त्री यादवले आफैं नाकाबन्दी गर्न खोजेजस्तो भएकोले विषादी जाँच प्रक्रिया बीचमै रोकिएको बताएका थिए ।
विषादी जाँच प्रक्रिया रोकिएको भन्दै सरकारको आलोचना भएपछि मन्त्री यादवले पत्रकार सम्मेलन मार्फत सचिवहरूलाई दोष लगाएका हुन् ।