
सुर्खेत- मन्त्री गोकर्ण विष्टले गत माघ ६ गते सुर्खेतमा उद्घाटन गरिएको श्रम रोजगार कार्यालयमा अहिलेसम्म ४ वटा श्रमिकले मात्रै उजुरी दिएका छन् ।
कार्यालय प्रमुख श्याम कृष्ण आचार्यका अनुसार सडक निर्माणमा कार्यरत चार जना मजदुरले मात्रै कार्यालयमा उजुरी दिएको बताए । ‘अहिले हाम्रो कार्यालय स्थापना भएको ६ महिना मात्रै भएको छ,’ उनले भने, ‘जम्मा चार जना मजदुरले ज्याला नपाएको बताउँदै उजुरी दिनुभएको छ ।’
श्रम कार्यालयमा उजुरी दिन पाइन्छ भन्ने कुराको जानकारी नभएका कारण श्रमिक नआएको हुन सक्ने आचार्यको भनाइ थियो ।
कार्यालयको अर्को काम श्रम स्वीकृृति दिने पनि हो । कार्यालयले हालसम्म ९१० जनालाई पुनः श्रम स्वीकृति दिइसकेको पाइएको छ । माघ महिनामा ९८ पुरुष र २ जना महिलाले श्रम स्वीकृती पाए । फागुन महिनामा १३६ पुरुष तथा १ महिलाले पुन: स्वीकृति प्राप्त गरेको कार्यालयले जनाएको छ । चैत्र महिनामा १५७ जना पुरुष तथा २ जना महिलाले श्रम स्वीकृति प्रदान गरेको कार्यालयले वैशाखमा १८८ जनालाई श्रम स्वीकृति दिएको निमित्त प्रमुख आचार्यको भनाइ छ ।
जेठमा २१३ जनाले श्रम स्वीकृति लिए भने असार महिनाको २५ गतेसम्म १११ जनाले पूर्व श्रम स्वीकृति लिएको आचार्यको भनाइ छ ।
उनका अनुसार सामाजिक सुरक्षा कोषका सबै कार्यक्रम अनलाइन नै हुने भएका कारण कर्णाली प्रदेश शाखालाई जानकारी नहुने बताए ।