सदाबहार शर्मिला

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

काठमाडौं– केही समयअघिसम्म पनि लोकगीत भनेपछि शहरियाहरूले नाक खुम्च्याउँथे । आधुनिक संगीत र पश्चिमा संगीतमा मस्त हुन्थे तिनीहरू । 

तर अहिले समय फेरिएको छ । लोकगीतमा नयाँ–नयाँ प्रयोगहरू हुन थालेका छन् र त ती जनजिब्रोमा झुण्डिएका छन् । बच्चादेखि वृद्धसम्म, हिमालदेखि पहाडसम्मका मानिसले लोकगीत सुन्छन् । 


Advertisement

यसै मेसोमा भेटिइन् सदाबहार लोकगायिका शर्मिला गुरुङ । पुतलीसडकमा लोकान्तरसँग गफिँदा लोकगायिका शर्मिला मौलिक पहिरनमा थिइन् । 

उनको पहिरन मात्रै मौलिक नभई गीत पनि मौलिक छन् । साधारण छन्, सबैले बुझ्ने खालका छन् । उनको गीतमा कुनै पनि अश्लीलता भेटिँदैन । 


Advertisement

उनलाई भेटेपछि सबैलाई लाग्छ– चर्चित भएर पनि उनमा अलिकति पनि घमण्ड छैन । तडकभडक छैन ।

सांगीतिक यात्रा 

उनी स्याङ्जाको गाउँमा जन्मिइन् । त्यतै हुर्किइन् । उतै डाँडापाखा डुलिन्, सुसेलिन् । 

त्यसबेला छ्यासछ्यास्ती एफएम रेडियो थिएनन् । रेडियो नेपालमा बजेका गीतहरू सुन्थिन् र गुनगुनाउँथिन् शर्मिला । 

सांगीतिक यात्राको आरम्भका बारेमा शर्मिला भन्छिन्, ‘१६–१७ वर्षको उमेरमा बिमाकुमारी दुरा, नारायण रायमाझीहरूको गीत सुन्थें । मलाई उहाँहरूको गीतले छुन्थ्यो ।’ 
रेडियो नेपाल र क्यासेटबाहेक अन्त गीत बज्दैनथ्यो । म्युजिक भिडियो र यूट्युबको त जमाना नै थिएन । 

उनको पालामा अडियोको चलन थियो । अडियोको जमानाबारे उनी सुनाउँछिन्, ‘कुन गीत बजारमा आयो, कुनले चर्चा पायो भन्ने कुरा अडियोबाटै थाहा हुन्थ्यो ।’ 
उनलाई रेडियोमा नारायण रायमाझीहरूको गीत बज्दाताका नै लाग्थ्यो– मैले पनि यसरी गीत गाउन पाए हुन्थ्यो । 

उनमा लोकसंगीतमा केही गर्ने हुटहुटी थियो । त्यसपछि उनले रेडियो नेपालको क्षेत्रीय प्रसारणमा अलिअलि गीत गाइन् ।  ‘लोकगीतमै केही गर्ने उद्देश्यसहित मैले रेडियो नेपालमा २०५६ सालमा स्वर परीक्षण गराएँ । पास पनि भएँ,’ उनले  सुनाइन् । 

गीतकै लागि स्याङ्जाबाट राजधानी 

उनी गीत गाउनकै लागि स्याङ्जाबाट राजधानी हानिएकी थिइन् । भन्छिन्, ‘म काठमाडौं आउनुको उद्देश्य गीत गाउनुबाहेक अरू केही थिएन ।’ उनलाई गाउँ हुँदा नै लागेको थियो– कलाकार बन्ने भए केन्द्रमै बस्नुपर्छ । 

संघर्ष गर्न नै उनी काठमाडौं आएकी थिइन् । अझ उनी ज–जसको गीत सुनेर हुर्किइन् अनि प्रेरणा लिइन् तिनैको सहयोग पाइन् । उनलाई काठमाडौं बिरानो लागेन । 

काठमाडौं बसाइका शुरूआती दिनबारे उनी सुनाउँछिन्,  ‘शुरूमा गीतसंगीतको क्षेत्रमा लाग्दा पुरुषोत्तम न्यौपाने, सुबिन गुरुङ, नारायण रायमाझी, राजन लम्साल, कृष्ण गुरुङ दाइहरूले धेरै नै सहयोग गर्नुभयो ।’ 

पहिलो गीत नै हिट

पोखरा रहँदा नै लोकगीतका हस्ती पुरुषोत्तम न्यौपानेसँग उनको राम्रो चिनजान थियो ।  ‘पुरुषोत्तम दाइले पोखरामै हुँदा तिमीलाई गीत रेकर्ड गराउन काठमाडौं लैजान्छु भन्नुभएको थियो । त्यसपछि उहाँसँगै गीत गाएँ ।’

उनले पहिलो गीत नै पुरुषोत्तम न्यौपानेसँग गाइन् । नीलो पछ्यौरी नाम गरेको एल्बममा उनी र पुरुषोत्तम न्यौपानेका अलावा राजन लम्साल र लक्ष्मी न्यौपानेको स्वर थियो । उनको

शुरूकै गीतले अवार्डहरू पायो । श्रोताले मन पराए । त्यसपछि पुरुषोत्तम न्यौपानेकै मिर्मीमुनि काली थुनेको गीत गाइन् शर्मिलाले । त्यो पनि हिट भइदियो । त्यसपछि शर्मिलाले पछाडि फर्किएर हेर्नुपरेन । 

 क्यासेट युगकी साक्षी 

अहिले लोकगीतमा भिडियो नभई हुँदैन । अझ भिडियोमै नयाँ प्रयोग हुन थालिसकेको छ । तर शर्मिला गुरुङ क्यासेट युगदेखि भिडियोसम्मकी साक्षी हुन् । 

क्यासेट युगलाई यसरी स्मरण गर्छिन् शर्मिला,  ‘त्यसताका प्राइभेट स्टुडियोहरू धेरै थिएनन् । रेडियो नेपालबाहेक रिमा रेकर्डिङ स्टुडियो, म्युजिक नेपाल, झरना संगीत लगायत औंलामा गन्न मिल्ने स्टुडियो थिए ।’ 

उनले गाउन थाल्दाताका गीतको लागि अडियो नै प्रयोग हुन्थ्यो । ठूलाठूला डीलर हुन्थे । म्युजिक कम्पनीहरू हुन्थे । कम्पनीले डीलरसँग डील गर्ने गरेको शर्मिला सुनाउँछिन् ।  ‘हजारौं क्यासेट बिक्री हुन्थे । कुन गीत कति चल्यो भन्ने कुरा कसको कति क्यासेट बिकेको छ भन्नेबाट थाहा हुन्थ्यो,’ उनी भन्छिन्, ‘हामीलाई एउटा एल्बमको ८ देखि १० रुपैयाँसम्म रोयल्टी दिन्थे । दश हजार एल्बम बिकेमा एक लाख आउँथ्यो ।’

त्यसबेला गीत निकाल्नका लागि एक सुका पनि खर्च गर्न नपर्ने उनी सुनाउँछिन् । भन्छिन्, ‘भिडियोको त जमाना नै थिएन । त्यसमा खर्च हुने कुरै भएन । कम्पनीलाई स्वर र गीत मन परे उनीहरू आफैंले लगानी गर्थे । आफैंले लगानी गरेर गीत निकाल्नुपरेको त अहिले मात्रै हो ।'

पहिला सबै गीत किन हिट हुन्थे ? उनको जवाफ छ, ‘पहिलाका गीतहरूमा मौलिकता थियो । पहिलाको गीत त तपाईं अहिले पनि सुन्न पाउनुहुन्छ नि । हामी मरेर गए पनि ती गीतहरू त मर्दैनन् ।’

क्यासेटको जमानामा थोरै तथा क्वालिटीका गीतहरू भएका कारण प्रायः हिट हुने गरेको उनको तर्क छ । उनी थप्छिन्, ‘गीतहरूमा नेपाली माटोको सुगन्ध पाइन्थ्यो । गाउँघरका कथा हुन्थे । अनि त चल्थे नि ।’ 

अहिलेका गीत कस्ता छन् त ? उनले जवाफ दिइन्,  ‘अहिले बजारमा धेरै गीत आउँछन् । कसको सुन्ने, कसको नसुन्ने ? अझ दिमागमा बसिरहने गीतहरू आउनै छाडे । एकाधबाहेकले मनै छुँदैनन् ।’ 

विगत २० वर्षदेखि निरन्तर गीत गाइरहेकी शर्मिलाको स्वर आज पनि पहिले जत्तिकै बुलन्द छ । मौलिक तथा उत्कृष्ट गीत मात्र गाउने शर्मिला लोकगायन क्षेत्रकी सदाबहार प्रतिभा हुन् ।

३५ सयभन्दा बढी गीत गाइसकेकी शर्मिलाको रानीघाटैमा, बल्लै भो भेट, राम्दी पुल, मेरो माया छ भने राधा, होइन अरूको, फूलको थुंगा, फर्क मुगलानी लगायत गीत चर्चित छन् ।

कमेन्ट गर्नुहोस्