२६ जेठ २०८३, मंगलबार

तान्जानियामा पाण्डुरोगीमाथि अमानवीय व्यवहार, अंग काटेर बेचिने गरेको खुलासा

कात्तिक २०, २०७४
तान्जानियामा पाण्डुरोगीमाथि अमानवीय व्यवहार, अंग काटेर बेचिने गरेको खुलासा
काठमाडौं, १३ चैत — तान्जानियामा पाण्डुरोग लागेकाहरूलाई पैसा र प्रभावका लागि उनीहरूका आफन्तले नै जनावरलाई जस्तो शिकार गर्ने गरेको तथ्य खुलासा भएको छ । देशका सबभन्दा शक्तिशाली व्यक्तिहरूले यो कामलाई प्रोत्साहन गरिरहेको पनि खुलेको छ ।


पाण्डुरोगीका अंगले व्यक्तिलाई सम्पत्ति वा भाग्य दिलाउने विश्वास गरिएकाले एउटा अंगका लागि तीनदेखि चार हजार डलर अनि पूरै शरीरका लागि ७५ हजार डलर खर्च गर्नसमेत मानिसहरू तयार छन् ।

पाण्डुरोग भएका मानिस नियमित रूपमा आक्रमणमा पर्ने गरेका छन् । मानिसहरूले पाण्डुरोगीको अंग काट्छन् जसका कारण उनीहरूको अंगभंग हुन्छ वा मर्छन् ।

पाण्डुरोग वंशानुगत रोग हो जसका कारण छाला, कपाल र आँखामा कुनै रंग हुँदैन । चौध सयमध्ये एक तान्जानियालीलाई यो रोग लाग्छ । दुर्गम र ग्रामीण समुदायमा यो बढी देखिने विज्ञहरू बताउँछन् ।
पश्चिममा भने २० हजार मानिसमध्ये एकजनालाई यो रोग लाग्छ ।

पाण्डुरोगीमाथिको आक्रमणको अभिलेख मानिसहरूले संकलन गर्न थालेयता ७४ जना मारिएका छन् भने ५९ जना बाँच्न सफल भएका छन् । मरिसकेका मानिस पनि सुरक्षित छैनन् : १६ वटा चिहान लुटिएका छन् ।
यी त अभिलेख राखिएका घटना मात्र हुन् ।


हालैको एक घटनामा चार वर्षीया पेन्दो इम्मानुएल नुन्दीलाई गत डिसेम्बर महिनामा घरबाट अपहरण गरिएको थियो ।

उनका पिता र काकालाई उनको बेपत्ताका सम्बन्धमा पक्राउ गरिएको थियो तर एक लाख रुपैयाँभन्दा बढी पुरस्कार दिने र प्रहरीले शीघ्र कारवाही गर्ने आश्वासन दिएपनि उनी फेला परेकी छैनन् ।

उनी बस्ने क्षेत्रका परोपकारी संस्थाहरू उनी सुरक्षित फर्किन्छिन् भन्नेमा विश्वस्त छैनन् । उनी क्रूर तरिकाले मारिइसकेकी हुनसक्ने आशंका गरिएको छ ।


पाण्डुरोगीहरूको अधिकारका लागि अभियान चलाउने जोसेफात टोर्नरले पाण्डुरोगीका अंगहरू महंगो मूल्यमा बिक्री हुनाले यसमा ठूलै र शक्तिशाली समूह लागेको अनुमान लगाएका छन् ।

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्