वीरगन्ज, १४ चैत– अबको केही वर्षपछि नेपालमा पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत हुने भएको छ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक काम सुरु भएसँगै उक्त संभावना बढेको हो ।
पाइपलाइन निर्माणका लागि प्रारम्भिक चरणमा गरिने माटो परीक्षणको काम सुरु भएको हो । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले दुई साताअघिदेखि पाइपलाइन निर्माण हुने स्थानमा माटो परीक्षणको काम थालेको हो ।
हाल पाइपलाइन विछ्याइने स्थानमा डिप बोरिङ गरेर माटो परीक्षण भइरहेको छ । रक्सौलदेखि अमलेखगन्जसम्मको ३६ स्थानमा डिप बोरिङ गरेर माटो परीक्षण गरिने आइओसीले जनाएको छ । रक्सौल–अमलेखगन्ज पाइपलाइनको दुरी ४१ किलोमिटर हुनेछ ।
पाइपलाइनको रुट रक्सौलबाट वीरगन्ज भन्सार क्षेत्र, बसपार्क, गण्डक र परवानीपुर हुँदै अमलेखगञ्जसम्म तोकिएको छ । अहिले माटो परीक्षण गर्ने प्राविधिक टोली परवानीपुर पुगेको छ ।
करिब २० मिटर गहिराइसम्मको माटो, बालुवा, ढुंगा लगायत सामग्री संकलन गरी आइओसीको प्रयोगशालामा पठाइनेछ । प्रयोगशालाबाट आएको प्रतिवेदनपछि पाइपलाइन निर्माणको काम अघि बढ्नेछ ।
पाइपलाइन विस्तारपछि ट्यांकरबाट हुने चुहावट र मिसावट रोकिने नेपाल आयल निगमको विश्वास छ । साथै ट्यांकरमा लाग्ने ढुवानी खर्च समेत जोगिने छ । पाइपलाइन विछ्याउन करिव पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त रकमले अमलेखगन्जमा तेल भण्डारण क्षमता समेत बढाइने छ ।