
दमौली – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।
नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिए ।
'कांग्रेसलाई नयाँ दिशा दिनसक्ने सभापति अबको महाधिवेशनबाट निर्वाचित हुनुपर्छ', महामन्त्री कोइरालाले भने, 'त्यसका लागि कार्यकर्ताले आजैदेखि मानसिकता बनाउनुपर्छ ।' '
पार्टीभित्र रहेको गुट/उपगुट अन्त्य गर्दै कांग्रेसलाई एक ढिक्का बनाउने नेतृत्व कार्यकर्ताले रोज्नुपर्ने उनले बताए ।
'मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुको विरोध गरेको होइन,' उनले भने, 'तर पार्टीभित्र नेतृत्व परिवर्तनको खाँचो छ, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।'
कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गर्दै महामन्त्री कोइरालाले हारे आफ्नै कारणले मात्र हार्ने ठोकुवा गरे ।
उनले पार्टीको प्रदेश संरचना गठन हुन बाँकी रहेकाले प्रदेशको संरचना टुङ्गो लगाएपछि पार्टीको महाधिवेशन हुने जानकारी गराए ।
'अहिले प्रदेशमा चुनाव गराएर भन्दा पनि सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्नेतर्फ पार्टीमा छलफल भइरहेको छ,' उनले भने ।
कोइरालाले मातृशोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई आज नै भेटी समवेदना प्रकट गरेका छन् ।
कोइरालाले दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना व्यक्त गरे ।