विद्यालयमा १ शिक्षक, ६ विद्यार्थी !

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । 

विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ ।


Advertisement

चालू शैक्षिक सत्रमा ६ विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । उनीहरूमध्ये ४ विद्यार्थी एकै परिवारका तथा बाँकी २ छुट्टाछुट्टै परिवारका हुन् ।

विद्यार्थी नियमित नआउँदा १० दिनभन्दा बढी पढाइ नहुने सो विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढकाल बताउँछन् । ‘बस्ती पातलिँदै गएको छ, गरीब तथा विपन्न परिवारको मात्र बसोबास छ, विद्यालय जानुपर्छ भन्ने मानसिकता अभिभावक र विद्यार्थीमा छैन,’ उनले भने ।


Advertisement

विद्यालय जानेभन्दा उनीहरू दाउरा खोजेर सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा आसपासका होटलमा बिक्री गर्न जाने गरेका छन् ।

विद्यार्थी संख्या घटदै गएपछि तथा विद्यार्थी नियमित विद्यालय आउन छाडेपछि सहायक प्रधानाध्यापकका रुपमा कार्यरत दामोदर घिमिरेले वैशाख २१ गते राजीनामा दिए । अहिले प्रधानाध्यापक ढकाल एक्लैले विद्यालय चलाएका छन् । उनी पनि विद्यार्थी राजीनामा दिने तयारीमा छन् ।

ढकालले २०६१ जेठ १ देखि विद्यालयमा पढाउँदै आएका हुन् । ‘भदौ १ गतेदेखि स्थानान्तरणको प्रक्रिया अगाडि नबढे राजीनामा दिने सोच बनाएको छु,’ उनले भने । विद्यालयमा १ जना कार्यालय सहयोगी पनि छन् ।

हाल कक्षा १ मा १, कक्षा २ मा २ र कक्षा ३ मा ३ विद्यार्थी अध्ययनरत छन् । उनीहरू सबैलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा कार्यालयसहित ४ कोठा छन् । भौतिक पूर्वाधारको समस्या छैन । विद्यालय बेंशीमा सञ्चालन गर्न सके विद्यार्थी संख्या बढ्ने अनुमान गरिन्छ ।

विद्यालय स्थानान्तरणका लागि सरोकारवाला निकायले चासो दिएको पाइँदैन । गत वर्षसम्म विद्यालयमा ३ शिक्षक कार्यरत थिए । 

विद्यार्थी न्यून भएपछि सहायक प्रअ र निजी स्रोतका शिक्षकले राजीनामा दिएका हुन् । गत शैक्षिक सत्रमा १० विद्यार्थी भर्ना भएका थिए । गाउँबाट बसाइँसराइ गरेर अन्यत्र जाने क्रम बढेकाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए ।

‘न्यून विद्यार्थी भएका विद्यालयलाई नजिक पायक पर्ने विद्यालयमा समायोजना गरेर वा स्थानान्तरण गरेर सञ्चालन गर्न सकिन्छ,’ उनले भने । अभिभावकको जोड सकेसम्म आफ्ना नानीहरूलाई घाँसपात, मेलापात र घरधन्दामै लगाउन पाए हुन्थ्यो भन्नेमा छ । अभिभावकसँगै जंगलमा दाउरा खोज्ने र राजमार्गका छेउछाउका होटलमा बिक्री गर्नमै उनीहरू व्यस्त रहेको पाइन्छ । – सुशीला रेग्मी/रासस

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्