
काठमाडौँ – भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मीरलाई प्रदान गरिएको विशेष अधिकार फिर्ता लिएपछि भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ । यससँगै कश्मीरमा भारतले गरेको हस्तक्षेपका विरुद्धमा प्रदर्शन भइरहेको समाचार यदाकदा आउने गरेको छ ।
पाकिस्तानले भारतसँग व्यापारिक र कुटनीतिक सम्बन्ध तोडेको छ भने भारत-पाकिस्तान चल्ने रेलसेवा पनि बन्द गरिएको छ ।
भारत-पाकिस्तान चल्ने रेल सम्झौता एक्सप्रेस अहिले पूर्ण रूपमा बन्द भएको छ । आइतवार भारतले सम्झौता एक्सप्रेसलाई एकतर्फी बन्द गरेको थियो भने पाकिस्तानले पहिल्यै उक्त रेललाई आफ्नो भूमिमा आउनबाट रोकेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार उत्तर रेलवेका मुख्य जनसम्पर्क अधिकारीले सम्झौता एक्सप्रेस बन्द भएको जानकारी दिएका हुन् ।
उनले भने, ‘पाकिस्तानको लाहोर र भारतको अटारीबीच चल्ने सम्झौता एक्सप्रेसलाई रद्द गर्ने निर्णय भारतले लिएको छ । यही कारण कुनै पनि रेल भारतबाट पाकिस्तान र पाकिस्तानबाट भारत आउन सकेका छैनन् ।’
कश्मीरमा भारतले हस्तक्षेप गरेको भन्दै पाकिस्तानले अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोशिस गरिरहेको छ । केही दिन अघि मात्र पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेशीले चीन भ्रमण गरेका थिए । उनले चीनले आफूलाई माया गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताएका छन् ।
भारतले संविधानको धारा नै खारेज गरेर कश्मीरको विशेष अधिकार खारेज गरेको प्रति कश्मीरी जनता कर्फ्यूका बीचमा पनि प्रदर्शनमा उत्रिएका थिए । शुक्रवारदेखि शुरू भएको उक्त प्रदर्शनमा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरिएको थियो ।
यद्यपि जम्मु कश्मीर अहिले भारतीय सुरक्षाफौजको पूर्ण नियन्त्रणमा छ । कर्फ्यू हटाइएको छैन । शुक्रवार र शनिवार भएको प्रदर्शनलाई सुरक्षाफौजले दमन गरेको आशंका गरिएको छ । क्षतिको विवरण आएको छैन भने प्रदर्शनका क्रममा भएको दमनका बारेमा कोही औपचारिक रूपमा बोलेको छैन ।