ग्रामीण भेगमा झारफुकको दबदबा, सर्पले टोक्दा जाँदैनन् अस्पताल

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

धनगढी – कैलालीको ग्रामीण भेगमा अझै पनि नगहर गुरुवा समूह (विष चुस्ने तान्त्रिक) मार्फत झारफुक विधिमार्फत सर्प दंशको उपचार गर्ने/गराउनेको दबदबा रहेको छ ।

जिल्लाको विभिन्न ठाउँमा सर्पदंश उपचार केन्द्रको व्यवस्था भएपनि ग्रामीण भेगमा भने विष चुसेर उपचार गर्ने परम्परागत विधि कायमै रहेको छ ।


Advertisement

कैलारी गाउँपालिका–२ लकडका गुरुवा रामप्रसाद पछलडंग्याले लकड, बसौटी, बेनौली, बनकट्टा, गोबरैया, भुइयाँफाँटा, दुधिया, पृथ्वीपुर, टप्पा, जोशीपुरलगायत ठाउँमा संगठित रुपमा नगहर गुरुवाहरू सक्रिय रहेको बताए ।


Advertisement

उनले दाबी गर्दै भने, ‘हामी ४७ वर्ष पहिलैदेखि विष चुसेर बिरामीलाई निको पार्दै आएका छौं, जति विषालु सर्पले डसेपनि समयमा आएका बिरामीको उपचारको ग्यारेन्टी हामी गर्छौं ।’

यसै वर्षात्मा मात्रै ४ जनाको उपचार गरेको बताउँदै उनले गाउँघरमा डोम (गोमन), गरैचा (करेत), माहेर, वन सर्प लगायतले डसेका बिरामी आउने गरेको बताए । सर्पदंशका बिरामी जति बढी हिडडुल गरे, त्यति नै चाँडै विष फैलने भएको हुँदा आफूहरूको टोली बिरामी कहाँ गएर नै विष चुसेर निको पार्दै आएको उनको भनाई छ । 

कैलारी गाउँपालिका–६ बेनौलीस्थित नगहर गुरुवाका अगुवा तेजराम चौधरीले आफूहरू २०४२ सालदेखि विष चुस्ने काम गर्दै आएको दाबी गरे । गाउँघरमा सर्पदंशका बिरामी अस्पताल नगई आफूहरू कहाँ आउने गरेको उनले बताए ।

गुरुवा पछलडंग्याका अनुसार कैलाली जिल्लामा २ सय बढी विष चुस्ने नगहर गुरुवाहरू सक्रिय छन् । जिल्लामा सर्पदंशका बिरामीको उपचार हुने अस्पताल नभएको होइन तर ती अस्पताल तथा उपचार केन्द्र शहरी तथा सुगम क्षेत्रमा मात्रै केन्द्रीत हुनु, अस्पतालमै उपचार गराउनुपर्छ भन्ने जनचेतनाको कमीले गर्दा पनि ग्रामीण भेगमा गुरुवाबाट चुस्ने काम भइरहेको पाइन्छ । जसले गर्दा धेरैले ज्यान गुमाएको पाइन्छ ।

हाल कैलालीको सेती अञ्चल अस्पताल, टीकापुर अस्पताल, बडैपुरस्थित सेनाको राष्ट्रिय विकास गण दल व्यारेकसहित ८ स्थानमा उपचारको व्यवस्था रहेको जनाइएको छ तर ग्रामीण भेग तथा थारु बाहुल्य क्षेत्रका स्थानीय अस्पतालभन्दा बढी नगहर गुरुवाबाट उपचार गराउँदै आएको चिकित्सक स्वयं बताउँछन् ।

सेती अञ्चल अस्पताल धनगढीका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा. गणेशबहादुर सिंहले नगहर समूह तथा तान्त्रिकबाट हुने उपचारलाई अन्धविश्वास र रुढीवादीको स्वरुप रहेकाले हटाउनुपर्ने बताए । सर्पदंशका बिरामीलाई जतिसक्दो चाँडो केही प्राथमिक उपचार घरमै गरी पायक पर्ने अस्पतालमा लैजानुपर्ने उनको सल्लाह छ ।

उनका अनुसार सर्पले डसेको व्यक्ति प्रायः अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ । टोकेको भागलाई धेरै चलाउनाले विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकाले डसेको भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ । हातखुट्टामा टोकेको छ भने काम्रो लगाएर नचलाइकन राख्नुपर्छ । गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट माथि हल्का दबाब पर्ने गरी पट्टी बाँध्नुपर्छ तर एकै ठाँउमा एकदमै कसेर बाँध्न नहुने उनी बताउँछन् । कस्सेर बाँध्नाले त्यसभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द भई उक्त भागमा पछि असर गर्ने हुँदा विचार पुर्‍याउनुपर्ने पनि उनको भनाई छ ।

आधुनिक प्रविधि तथा चिकित्सा विज्ञानलाई अपनाउन जरुरी रहेको बताउँदै पूर्व सुपरिन्टेन्डेन्ट सिंहले भने, ‘सर्पदंशका बिरामीको अवस्था हेरेर आईसीयूमा राखेर पनि उपचार गर्नुपर्ने हुँदा समयमै बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ ।’

कमेन्ट गर्नुहोस्