
काठमाडौं – जापानको एक जेन मन्दिरमा रोबोट पुजारीले बौद्धधर्मको शिक्षा दिने गरेको छ । बौद्धशिक्षामा मानिसको चासो बढाउनका लागि यो कदम चालिएको हो ।
रोबोटले बौद्धधर्मको मुहार परिवर्तन गर्ने आशा मन्दिरले लिएको छ । तर आलोचकहरूले यो रोबोट फ्रांकेस्टाइनको राक्षस जस्तो भएको बताएका छन् ।
एन्ड्रोइड रोबोटले क्योटोमा रहेको ४०० वर्ष पुरानो कोदाइ–जी जेन मन्दिरमा उपदेश दिन थालेको हो ।
पवित्र रोबोटले हार्ट सूत्रका पाठहरू जापानी भाषामा वाचन गर्ने गरेको छ । विदेशी पर्यटकका लागि चिनियाँ र अंग्रेजी अनुवाद पनि उपलब्ध गराइएका छन् ।
रोबोटको नाम मिन्दार राखिएको छ र यसलाई जेन मन्दिर र ओसाका विश्वविद्यालयका रोबोटविज्ञ हिरोशी इशिगुरोले बनाएका हुन् । यसलाई बनाउन लगभग १० लाख डलर खर्च गरिएको हो ।
मिन्दारका हात, अनुहार र काँधहरू सिलिकोन सिन्थेटिक छालाले ढाकिएका छन् भने उसको यान्त्रिक भित्री अंगहरू बाहिरैबाट प्रस्ट देखिन्छन् ।
रोबोटको खप्पर आंशिक रूपमा खुला छ र त्यहाँ तारबार तथा झिलिकझिलिक गर्ने बत्तीहरू देखिन्छन् । त्यसको देब्रे आँखामा सानो भिडियो क्यामरा जडान गरिएको छ । अनि तारहरू उसको आल्युमिनियम शरीरभरि छन् ।
रोबोटले हातहरू, टाउको र कम्मर हल्लाउन सक्छ । उसले प्रार्थनका लागि हात जोड्ने गरेको छ । यो शान्त र आनन्ददायक बोलीमा प्रवचन दिन्छ । उसले करुणाका बारेमा सिकाउँछ र क्रोध, काम र अहंकारका खतराका बारेमा सचेत गराउँछ ।
‘तपाईं स्वार्थी अहंकारमा टाँसिएर बस्नुभएको छ,’ रोबोटले भक्तहरूलाई सचेत बनाउँछ । ‘भौतिक इच्छाहरू केही पनि हैनन्, दिमाग समुद्रमा हराएको जस्तो हो ।’
एजेन्सी