पहिरोबाट धादिङको विकट गाउँसंगको सम्पर्क विच्छेद

धादिङ – विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ । 

केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिनेगरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका– ५ का वडाध्यक्ष धीरज तामाङले बताए ।  


Advertisement

पैँसट्ठी घरधुरी रहेको नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र तातोपानी हुँदै जाने बाटोमा आएको पहिरोले बाटो र खोलासमेत थुनिएकाले सँगै अन्य गाउँको सम्पर्क टुटेको स्थानीयवासी टिसमान तामाङले जानकारी दिए । 
जिल्ला सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ समुदायको बस्ती हो । 

आवतजावत नै बन्द भएकोले गाउँमा कुनै समस्या तथा विपद् पर्दा सहयोगसमेत  उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको छ । 
 

कमेन्ट गर्नुहोस्