२६ जेठ २०८३, मंगलबार

संघीय संसद सचिवालयको गाडी खरीदमा हेलचेक्र्याइँ भएको ठहर

संघीय संसद सचिवालयको गाडी खरीदमा हेलचेक्र्याइँ भएको ठहर

काठमाडौँ - सङ्घीय संसद् सचिवालयको ११ वटा स्कारपियो जीप खरीदका सम्बन्धमा उठेको प्रश्नबारे सांसद रामनारायण विडारी संयोजक रहेको छानबिन समितिले प्राविधिक त्रुटि र हेलचेक्र्याइँ गरिएको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ ।

सभामुख कृष्णबहादुर महरासमक्ष मंगलवार बुझाएको प्रतिवेदनमा समितिले सवारी साधन खरीदमा प्रक्रियागत ठूलो कमजोरी र आर्थिक चलखेल भएको नदेखिए पनि प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको ठहर गरेको छ ।

प्रतिवेदन बुझाएपछि संयोजक विडारीले प्रश्न उठेका गाडी सात दिनभित्र चुस्त दुरुस्त बनाइदिन, नबनाएमा फिर्ता पठाउन, फिर्ता नगरेमा आपूर्तिकर्तालाई सार्वजनिक खरीद ऐनअनुसार कारवाही गर्न सिफारिस गरेको जानकारी दिए ।

संसद् सचिवालय, सार्वजनिक खरीद अनुगमन कार्यालय, आपूर्तिकर्ता र केही प्राविधिकसँगपछि छलफल गरी छानबिनका क्रममा रायसुझाव लिएको जानकारी दिँदै संयोजक विडारीले भने, 'खासगरी केही गाडीको ‘बडी फिटिङ’मा लापरवाही देखिएको, ‘स्पिकर’ अर्कै गुणस्तरहीन कम्पनीको हालेको, ‘ब्रेकर’मा समस्या देखिएको, झ्यालका सिसा ‘फिटिङ’ दुरुस्त नभएको तथा पुरानो गाडी गुडाउँदाको जस्तो ठूलो आवाज आएको देखियो ।'

भएको सम्झौता, गरिएको बोलपत्र, कम्पनी छनोट, बजारभाउ अनुसारको मूल्यलाई हेर्दा प्रक्रियागत कमजोरी र आर्थिक चलखेल भएको अनुमान पनि गर्न नसकेपछि समितिले खरीद गरिएको कम्पनीका सामान राखेर मर्मत गर्न र खरीद प्रक्रियामा प्रत्यक्ष संलग्न कर्मचारीलाई सचेत गराउन सुझाव दिएको हो ।

सचिवालयले खरीद गरेको ११ मध्ये तीन वटा स्कारपियोमा केही मूलभूत समस्या देखिए पनि अन्यमा भने गम्भीर नभई सामान्य मात्र रहेको समितिले जनाएको छ ।

सचिवालयले अग्नि इन कर्पोरेटेड प्रालिसँग गत असारमा एउटा स्कारपियोलाई ५६ लाख ८० हजारका दरले खरीद गरेको थियो ।

प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले प्रक्रियागत त्रुटि नभए पनि प्राविधिक कमजोरी देखिएकाले प्रतिवेदन अध्ययन गरेर कारवाहीको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

पन्ध्र दिनको कार्यदेश रहेको उक्त छानबिन समितिमा संसदीय समितिका सभापति विडारी, तारादेवी भट्ट, कृष्णप्रसाद दाहाल, भरतकुमार शाह र कृष्णभक्त पोखरेल रहेका थिए ।

गत भदौ १६ गते लोकान्तरले संसद्‍मा गाडी किन्दा अनियमितता : नक्कली स्पीकरले यसरी खोल्यो पोल ! शीर्षकमा खोज सामग्री प्रकाशित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्