
काठमाडौं – भारतले चीनका परराष्ट्रमन्त्री वाङ यीलाई आफ्नो यात्रा स्थगित गर्न आग्रह गरेको छ । यी भदौ २३ गते भारत आउन लागेका थिए ।
यात्राका क्रममा उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सीमा विवाद मुद्दामा चर्चाको कार्यक्रम थियो । यीको भ्रमण टार्नका लागि कुनै आधिकारिक जानकारी छैन । तर सूत्रहरूका अनुसार, कश्मीर मामिलामा चीनको धारणाका कारण भारतले यो निर्णय लिएको हो ।
आधिकारिक रूपमा चाहिँ चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमण स्थगनका विषयमा केही बोलिएको छैन । भारतसँग सीमा विवादको कुरा गर्न चीनले यीलाई विशेष प्रतिनिधि नियुक्त गरेको छ ।
अगस्ट महिनामा जम्मु–कश्मीरको धारा ३७० हटाइएपछि भारतका विदेशमन्त्री एस जयशंकरले चीन भ्रमण गरेका थिए । त्यतिखेर चिनियाँ परराष्ट्रमन्त्रीको भारत भ्रमणको कार्यक्रम तय गरिएको थियो ।
यी उत्तर कोरियाको भ्रमणमा जान लाग्दैछन् र त्यहीँबाट उनी शनिवार इस्लामाबाद जानेछन् । चीन, पाकिस्तान र अफगानिस्तानबीच त्रिपक्षीय शान्ति वार्ताका विषयमा चर्चा गर्दा सोमवार भारत आउने कार्यक्रम थियो ।
एजेन्सी