दमक– यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको छ ।
आज बिहान मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए ।
अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ विजयी बने। उनले एक हजार ४११ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी खतिवडाले ९१६ मत प्राप्त गर्नुभयो । अध्यक्षमा ४९५ मतान्तर रह्यो ।
पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहेक सबै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा एक हजार २७६ मत ल्याएर प्रगतिशीलका गोपाल गुरागाईं विजयी बने। उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका सुरज आचार्यले एक हजार २१ मत प्राप्त गरे। त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिककै राजु खड्काले एक हजार २०९ मत प्राप्त गरी विजयी बने। उनका प्रतिद्वन्द्वी प्रगतिशीलका युवराज घिमिरेले एक हजार ७३ मत प्राप्त गरेका थिए । यस्तै द्वितीय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले एक हजार १२ मत ल्याई विजयी बने भने उनका प्रतिद्वन्द्वी प्रगतिशीलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टीकाराम प्रसाईंले ३५५ मत प्राप्त गरेका थिए ।
यस्तै, तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२) विजयी बने। उनले प्रगतिशीलका ज्ञाननाथ पौडेललाई पराजित गरेका हुन् । पौडेलले एक हजार ६१ मत प्राप्त गरेका थिए । खुला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुष्मा निरौला र प्रगतिशीलकी लक्की सिटौला विजयी बनेका छन् ।
वस्तुगततर्फ लोकतान्त्रिक समूहबाट दुई र प्रगतिशीलबाट तीन विजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकाल र रुबल अधिकारी विजयी बनेका हुन् भने प्रगतिशीलका गायत्री पौडेल, राजेश अधिकारी र दिनेश सुवेदी विजयी बने।
यसैगरी ६ खुला सदस्यतर्फ चन्द्र खत्री, तुलसीराम तिम्सिना, नवीन अग्रवाल, असिम राई, भरतकुमार चम्लागाईं, राजकुमार थापा विजयी बनेका छन् ।
यसैगरी, पाँच सदस्यीय वस्तुगतमा मोहन ढकाल, रुबल अधिकारी, गायत्री पौडेल (सन्तोष), दिनेश सुवेदी, राजेश अधिकारी तोया निर्वाचित भएका छन् । तीन सदस्यीय लेखातर्फ संयोजकमा खोमप्रसाद बगाले, सदस्यमा कृष्णराज दाहाल र मोहन मागर मिन विजयी बन्नुभएको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिए ।
सङ्घको तीन वर्षे कार्यकालको गत शुक्रबार भएको निर्वाचनमा दुई हजार ६८० मध्ये दुई हजार ३३० मत खसेको थियो ।
लोकान्तर संवाददाता