नेकपाका अरिंगाल कसरी खनिन्छन् भन्ने कुरा बाँकेमा देखियो – कांग्रेस

फाइल तश्वीर

काठमाडौं– आफ्नो पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालामाथि बाँकेमा नेकपा कार्यकर्ताबाट भएको आक्रमणको घटनामा सरकारको जवाफ माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‍मा अवरोध गरेको छ ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले गृहमन्त्री रामबहादुर थापाको जवाफ नआएसम्म् सदनको कारवाही नचल्ने बताए ।


Advertisement

उनले भदौ २४ गते बीपी कोइरालाको जन्मजयन्ति मनाउने क्रममा सत्तापक्षीय पार्टीका नेता/कार्यकर्ताले अरिंगाल जसरी आएर आक्रमण गरेको बताए ।

‘अरिंगाल प्रयोगका लागि सत्ता पक्षका नेताले आह्वान गर्नुभएको थियो, सत्तापक्षीय कार्यकर्ता कसरी अरिंगाल बन्छन् भन्ने बाँकेको खजुरामा देखियो,’ खाणले भने, ‘विपक्षी दलले आयोजना गरेको कार्यक्रममा आक्रमण र सभा बिथोल्नु आपत्तिजनक छ, अत्यन्त निन्दनीय घटना घटेको छ, यसको घोर निन्दा गर्दछु ।’


Advertisement

खाणले घटना योजनाबद्ध ढंगले भएको दाबी गर्दै राष्ट्रिय जागरण अभियान चल्ने बताए ।

‘राजनीतिक पार्टीसँग असहिष्णु, राजनीतिक पार्टीको भेलामा सत्तापक्षका कार्यकर्ताले आक्रमण गर्छन् ? सनदमा गृहमन्त्रीको चित्तबुझ्दो जवाफ नआए सदन चल्न दिँदैनौं,' उनले भने ।

बिहीवार बाँकेमा बीपी कोइरालाको जन्मजयन्तिको सन्दर्भमा आयोजित कार्यक्रममा कांग्रेसकी जिल्ला सभापति किरण कोइरालामाथि नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । 

कमेन्ट गर्नुहोस्