पौराणिक दर्शनका अग्रणी व्यक्तित्व महर्षि शौनकको वैदिक ग्रन्थहरूमा पनि उत्तिकै विशिष्ट स्थान छ । उनलाई पौराणिक ग्रन्थहरूले ८८ हजार ऋषिमण्डलीको नेतृत्वकर्ता मानेका छन् भने महाभारत तथा भागवतादि ग्रन्थहरूले बह्वृच अर्थात् ऋग्वेदाचार्यको पदवीले विभूषित समेत गरेका छन् ।
यिनको आश्रममा एकताका लाखौं ऋषिकुमारले एकैसाथ बस्ने, खाने र पढ्ने सुविधा प्राप्त गर्ने गरेका थिए । त्यसैले हुनुपर्छ त्यतिबेला कतै कतै यिनको आश्रमलार्ई विश्वविद्यालयकै संज्ञा दिँदै उनलाई कुलपति भन्ने गरिएको समेत देखिन्छ । मुण्डकोपनिषद् तथा परब्रह्मोपनिषदमा यसको विशद चर्चा भेटिन्छ ।
सद्ज्ञान र सच्चरित्रका धनी यी महिर्षीको नाम भागवतमा व्यासजीले चारपटक लिएका छन् । यसबाहेक अन्य पुराणहरूमा पनि उनको उपस्थिति उत्तिकै मजबूत देखिएको छ । हिमवत्खण्डको नैमिषारण्यमा पौरस्त्य दर्शनको पाठशाला सञ्चालन गरी दुनियाँलाई वैदिक सभ्यता, संस्कार र संस्कृतिले सुसंस्कृत गर्ने प्रयास गरेका यी महर्षिका ज्ञान, गुण तथा विवेक र पुरुषार्थ साँच्चै वर्णनातीत छ । उनले त्यतिबेला हिमालयको फेदीबाट जुन ज्ञान र विचार प्रवाह गरेका थिए, आज दुनियाँ त्यसैको व्याजसम्म पनि तिर्न सकिरहेको छैन ।
उनीसँग धन नभए पनि मन थियो । उनी आफैंसँग केही चाहँदैनथिए तर अरूका लागि भने हजारौं वर्षसम्म यज्ञ–अनुष्ठान मात्र गर्दैनथिए, कसरी आफ्नो जीवनलार्ई उनीहरूको हितमा परिचालित गर्न सकिन्छ भन्ने कुराकै चिन्तन गरिरहेका हुन्थे । कौपीनधरी यी महर्षिले आश्रमधर्ममा रहेर जे जति दिए, भन्न पनि लाज लाग्छ आजको दुनियाँले त्यसको सहस्रांशको एक पनि प्रयोगमा ल्याउन सकिरहेको छैन ।
ब्रह्म, विष्णु, वायु पुराण र हरिवंशादि ग्रन्थहरूमा उल्लेख भएअनुसार महर्षि शौनक वेदविज्ञानका विशिष्ट ज्ञाता गृत्समदका छोरा मानिएका छन् । यी गृत्समद तिनै महर्षि हुन्, जसलाई ऋग्वेद दोस्रो मण्डलको द्रष्टा ऋषि भनिन्छ । यसबाट पनि उनको वैदिक ज्ञान र तिनको विरासतबारे धेरथोर अनुमान लगाउन सकिन्छ । उनलाई वैदिक ग्रन्थहरूले ऋग्वेदका व्याख्याता मात्र मानेका छैनन्, ऋग्वेदको शाकल शाखा र वाष्कल शाखाका परिस्कारकर्ता समेत मानेर सम्मान गर्दै आएका छन् । यसबाहेक उनी चातुर्वर्ण्य अर्थात् ब्राह्मण, क्षत्री, वैश्य, शूद्र आदि वैदिक वर्ण विभाजनको विशेष प्रवर्तक समेत मानिएका छन् ।
वास्तुशास्त्र प्रवीण, सांख्ययोग कुशल, धर्मशास्त्र मर्मज्ञ अस्त्र–शस्त्र वैज्ञानिक अर्थात् धनुर्वेद शास्त्र निपुण आदि अनेक विशेषणले परिचित यी महर्षि अथर्ववेदको त द्रष्टा ऋषिमै पर्दछन् । वैदिक विद्वानहरूका अनुसार अथर्ववेदका पैप्पलाद, तौद, मौद, शौनक, जाजल, जलद, ब्रह्मवद, देवदर्श र चारणवैद्य गरी नौवटा शाखा छन् । तिनमा हाल प्रचलनमा रहेको शाखालाई शौनकी शाखा भनिन्छ । महर्षि शौनकद्वारा दृष्ट मन्त्रको सँगालो भएकाले यसलाई शौनकी शाखा भनिएको हो । यस शाखामा २० वटा काण्ड, ७३० सूक्त, ३६ प्रपाठक र पाँच हजार ९८७ वटा मन्त्र छन्, जसले जीव र जगत् तथा तिनका सञ्चालक तत्त्वका शक्ति, सामर्थ्य र विशेषताबारे सम्यक् प्रकाश पार्ने प्रयास गरेका छन् ।
आध्यात्मिक ज्ञान र अभिचारकर्म दुई विपरीतधर्मी क्षेत्र हुन् । अध्यात्मले वसुधैव कुटुम्बकमको भावना जागृत गराउने प्रयास गर्छ भने अभिचारले मारण, मोहन, उच्चाटन, विद्रावण आदि विनाश र विकारसम्बन्धी क्षेत्रको प्रतिनिधित्व गर्छ । तर महर्षि शौनक भने यी परस्पर विपरीतधर्मी क्षेत्र र विचारलाई समेत एकैसाथ वहन गर्न सफल देखिएका छन् । उनको अथर्ववेद शौनकी शाखा यस्तै यस्तै विचारले ओतप्रोत छ । अथर्ववेदका भैषज्यकर्म, शान्ति तथा पौष्टिक कर्म, राजनीति, शान्ति, सद्भाव, सामञ्जस्य, आयु, आरोग्य, सौभाग्य वृद्धि, प्रायश्चित्त आदि पनि विशेष प्रतिपाद्य विषय हुन् । यसबाहेक पृथ्वीसूक्त, गोसूक्त, गोष्ठसूक्त, संज्ञानसूक्त, रोग निवारणसूक्त दीर्घायुष्यसूक्त, कृषिसूक्त, गृहसूक्त, वर्षासूक्त, वृषभसूक्त जस्ता व्यवहारोपयोगी सूक्तहरू पनि उत्तिकै प्रतिपाद्य विषयमा पर्छन् । महर्षि शौनक तमाम विषयमा जसरी प्रस्तुत भएका छन्, निस्सन्देह त्यो स्तुत्य छ ।
ज्ञान र विज्ञानको बेजोड सङ्गम मानिने यी महर्षिका अन्य रचनमा ऋक्प्रतिशाख्य, चरणव्यूह, बृहद्देवता, अथर्ववेदका ७२ परिशिष्ट, छन्दोऽनुक्रमणी, ऋष्यनुक्रमणी, अनुवाकानुक्रमणी बृहत्सर्वानुक्रमणी, ऋग्विधान, यजुर्विधान, सामविधान, शौनकस्मृति, आयुष्यहोम, उदकशान्ति, शौनक गृह्यसूत्र एवं परिशिष्टसूत्र, शौनकीय कल्प, शौनकीय शिक्षा आदि रहेका छन् । उनलार्ई शुक्लयजुर्वेदीय शतपथ ब्राह्मण, बृहदारण्यक तथा अथर्ववेदीय गोपथ ब्राह्मण आदिले सर्वत्र शास्त्रार्थजयीको संज्ञा दिएको छ भने ‘सङ्ग्रह’ नामक शतश्लोकीय व्याकरणसम्बन्धी विशाल ग्रन्थका रचनाकार महान् वैयाकरणी व्याडी समेत उनकै शिष्य मानिएका छन् । व्याकरण महाभाष्य १ । २ । ६४ र ६ । २ । २९ मा यसको विशेष विवेचन भएको छ । यसबाहेक उपनिषद् दर्शनमा शौनक अङ्गिरा संवादको नामबाट परब्र्रह्म विषयक जुन जिज्ञासा र समाधानको विवरण भेटिएको छ, त्यो त यसैपनि आध्यात्मिक क्षेत्रको विशेष सम्पत्ति मानिँदै आइएको छ ।
महर्षि शौनक पारमार्थिक ज्ञानले जति सम्पन्न देखिएका छन् प्राशासनिक ज्ञानले समेत उत्तिकै ओतप्रोत पाइएका छन् । उनले जति मजबूत सङ्गठनको निर्माण अहिलेसम्म दुनियाँका कुनै पनि प्रशासकहरूले गर्न सकेका छैनन् । अहिले पनि उनको नाम लिनेबित्तिकै ८८ हजार ऋषिहरूको संयुक्त प्रतिबिम्ब खडा हुनु नै यसको ज्वलन्त प्रमाण हो । पौराणिक ग्रन्थहरूमा जहाँ जहाँ उनी प्रश्नकर्ता भएर उभिएका छन् त्यहाँ त्यहाँ स्वतः ८८ हजार ऋषिमण्डली खडा हुन पुगिरहेका देखिन्छन् । व्याख्या तथा भाष्यकर्ताहरूले पनि शौनक मात्र नभनी शौनकादि ८८ हजार ऋषिहरू नै भन्ने गरेको पाइन्छ । यसले पनि उनी र ८८ हजार ऋषिहरूबीच अभिन्नताकै बोध गराउँछ ।
फेरि यी ऋषिहरू भनेका न केवल सही थाप्ने मात्र हुन् । न हो र होइन भन्ने खालका मात्र हुन् । यिनीहरू भनेका यस्ता ऋषि हुन्, जो एउटैले ठूला ठूला राजा महाराजाहरूलार्ई सत्तारोहण गराउनेदेखि सत्ताच्युत गराउनेसम्मको हैसियत राख्छन् । उनीहरूको नाम सुन्नेबित्तिकै तत्कालीन भूगोलका प्रायः सबै राजा महाराजा डरले थर्कमान मात्र हुँदैनथिए, सानै निर्णय पनि उनीहरूको सहमति नलिई गर्ने आँट गर्दैनथिए ।
अझ कति त आफूले भनेबमोजिम नहुनेबित्तिकै मन्त्रशक्ति र तपोबलले प्राकृतिक नियमलाई नै उथलपुथल गर्न सक्ने खालका ऋषिहरू समेत भेटिएका छन् । महर्षि अगस्तिले विन्ध्याचल पर्वतलार्ई नै सुताइदिएका थिए भने महर्षि दुर्वासाले त्यसभन्दा पनि अघि बढेर त्रेतायुग र द्वापर युगकै अन्त्य गरादिएका थिए । महर्षि शौनक यस्तै यस्तै ८८ हजार ऋषिहरूको नेता वा कुलपति थिए भने यसैबाट अनुमान लगाउन सकिक्छ कि उनको क्षमता कति होला ? तथापि आश्चर्य त के भने उनमा घमण्ड र अहङ्कार भने अणुबराबर पनि थिएन ।
निस्सन्देह हाल महर्षि शौनकको भौतिक शरीर हामीमाझ छैन तर उनले लोकहितका लागि आफू र आफ्ना सङ्गठनमार्फत जुन सन्देश दिएर गएका थिए, त्यो भने अहिले उत्तिकै अनुकरणीय देखिएको छ ।
Advertisment
Advertisment