
काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले सुदूरपश्चिममा रहेको आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत् आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी सोमवारदेखि सफल परीक्षण कार्य भइसकेको छ ।
परीक्षण प्रसारण पूरा गरी आयोजनाले शुक्रवारदेखि राष्ट्रिय ग्रीडमा विद्युत् प्रवाह गर्ने जनाएको छ । २०७३ असोज १२ गते विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको आयोजनाको कुल लागत १६० करोड रहेको छ भने आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत् उत्पादन गर्ने अनुमान छ ।
यसमध्ये सुख्खा महिनामा १.१४ करोड र वर्षातका ४ महिनामा ३.७५ करोड घण्टा किलोवाट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने अत्तरिया–वलाँच सवस्टेसनमार्फत राष्ट्रिय ग्रीडमा प्रवाह हुने जनाइएको छ ।
आयोजनाबाट सुदूरपश्चिम प्रदेशमा भरपर्दो विद्युत् आपूर्ति हुने विश्वास कम्पनीले लिएको जनाएको छ ।
