
काठमाडौं – रुसको साइबेरियामा रहेको निझ्नेभार्तोव्स्कस्थित एक घरमा आगो लागेपछि एक व्यक्तिले बालिकालाई झ्यालबाट निकालेर बचाएका छन् ।
ती बालिका भवनको पाँचौं तल्लामा सुतिरहेकी बेलामा बिरालोले उनलाई उठाएर आगोका बारेमा सचेत गरायो । घटना आइतवार भएको हो र यसको भिडियो समेत सार्वजनिक भएको छ ।
बालिका गुहार माग्दै झ्यालमा पुगिन् । उनी चिच्याएको सुनेपछि २९ वर्षीय एक व्यक्ति उनी बसेको भन्दा माथिल्लो तल्लाबाट बाहिर निस्के अनि उनलाई मास्तिर ताने । अग्निनियन्त्रकहरूले तलपट्टि भर्याङ तयार पारेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, ती उद्धारकर्ता उक्त भवनमा बस्दैनन् तर घटना हुँदा उनी त्यहाँ पुगेका थिए । बालिकालाई सहायता गर्न उनी दौडेर भवनभित्र पसी माथिल्लो तल्लामा पुगेका थिए ।
माथिल्लो तल्लामा बस्ने व्यक्तिले बताएअनुसार, ती उद्धारकर्ता पछि फर्केर आए अनि झ्यालतिर दौडिने हुँदा भान्सा अस्तव्यस्त बनाएकोमा माफी मागे ।
बालिकाले धूवाँ निलेपछि अस्पतालमा राखिएको थियो तर उनको अवस्था गम्भीर नभएको बताइन्छ । शर्ट सर्किट भएका कारण आगो लागेको प्रहरीले आशंका गरेको छ ।
एजेन्सी