
बाँके – गाई काटेको अभियोगमा बाँके प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका ३ जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने १ जना फरार रहेका छन् ।
राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । ‘प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो,’ इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भने । ३ जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए ।
३ जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उनले जानकारी दिए । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताए । उनले फौजदारी संहिता २०७४ को परिच्छेद २७ अनुसार कारवाही हुने बताए ।
सो परिच्छेदमा गाई/गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरिएको छ । यदि कसैले गाई/गोरु मारेमा वा कुनै नियतले चोट पुर्याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा छ महिनासम्म कैदको व्यवस्था छ । गाई/गोरुलाई चोट पुर्याएमा रु ५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
यसैबीच, ग्यारेजमा राखिएको गाडी मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपालगञ्जमा १ जनाको मृत्यु भएको छ । करेन्ट लागेर कोहलपुर–१२ का अन्दाजी २८ वर्षीय ललित श्रेष्ठको मृत्यु भएको हो । ना६ख ५३६४ नम्बरको गाडीको चक्का निकालेर मर्मत गर्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइँदा श्रेष्ठलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।