पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
काठमाडौं– इन्द्रमान तुलाधर (५०) अहिले एन्फाका महासचिव हुन् ।
'ए' डिभिजन क्लब संकटाका अध्यक्ष पनि हुन् । उनको परिचय यतिमै सीमित छैन । उनीसँग वकालत, अध्यापन र तेक्वान्दो खेलको पनि अनुभव छ ।
इन्द्रमानको टोल संकटा । संकटामा फूटबलको माहोल हुने नै भयो । अझ भनौं उनका पाँचै जना दाजुभाइको साइनो फूटबलसँग जोडिएको छ । त्यही माहोलले उनलाई पनि फूटबलप्रति आकर्षित गराएछ । भन्छन्, ' ठूलो दाइले बी डिभिजनसम्म खेलेको हो । साइलो दाइले चाहिँ ए डिभिजन पनि खेल्यो । पाँच जना दाजुभाइ पाँचै जनाले फूटबल खेल्यौं ।'
उनको साइलो दाइले उमेर समूहबाट राष्ट्रिय टीमको प्रतिनिधित्व गरे भने अरूले ए डिभिजनसम्म मात्रै खेले ।
संकटा क्लबको आसपासमा भएकाले उनलाई बलको खासै खाँचो थिएन । तर जुत्ता भने लगाएर खेल्न पाएनन् । खाली खुट्टै बल हान्थे उनी । उनको फूटबलप्रतिको मोह त टुँडिखेलमा बत्ती रहुञ्जेलसम्म खेल्नुले पनि झल्काउँछ । उनी बाल्यकाल सुनाउँछन्, 'स्कूल सकिएपछि जबसम्म बल देखिन्छ तबसम्म हामी खेलेको खेल्यै गर्थ्यौं ।'
उमेर समूहको खेल भने उनले १२ वर्ष मुनिबाट शुरू गरे । संकटाबाट उनले खेलेका थिए । तर आफूले खेल्दा उपाधि बाहिर लान दिएनन् ।
उनले स्कूलका प्रतियोगिताहरू धेरै खेले । नेपाल आदर्श पढ्दा भानुभक्त र बुढानिलकण्ठका टीमहरू उनीहरूका प्रतिस्पर्धी हुन्थे । तर हत्तपत्त उनको टीमले हार खाँदैन्थ्यो रे !
*****
इन्द्रमानले पहिलोपटक खेल्दा मणिविक्रम शाह एकदमै राम्रो छ भन्ने सुनेका थिए । उनी डिफेन्स खेल्थे भने मणि शाह स्ट्राइकर थिए ।
मणि शाहसँगको रमाइलो किस्सा सुनाउँदै उनी भन्छन्, 'एउटा खेलमा मलाई मणिविक्रमलाई कभर गर्नु भनिएको थियो तर मैले नचिन्ने । अनि दुई गोल हानेपछि तँलाई मैले मणि शाहलाई कभर गर भनेको होइन भन्थे । तर मैले कभर गरेको छु भन्दा अर्कै पो परेछ ।'
पहिलो पटक हारेपनि दोस्रो पटक भने नेपाल आदर्शले उपाधि उचाल्यो ।
डिफेन्सको काम भनेको विपक्षी टीमलाई गोल गर्न नदिनु हो । अझ भनौं विपक्षी टीमलाई आफ्नो एरियामा खेल्न नदिनु हो । उनको भूमिका त्यस्तो भएकाले गोल गर्ने खेलाडीको सूचीमा उनको नाम भने अटाउँदैनथ्यो ।
तर इन्द्रमानले असाध्यै राम्रो थ्रो गर्थे रे । भन्छन्, ' अविस्मरणीय गोल भनेको मैले थ्रो बाट नै गोल गरेको छु । म थ्रो चाहिँ असाध्यै राम्रो गर्थेँ ।'
*****
फूटबल खेल्दा खेल्दै उनले एसएलसीको परीक्षा दिए । त्यसपछि बी डिभिजनको म्याच चलिरहेको थियो ।
खेलकै समयमा अप्सनल म्याथको परीक्षा पनि पर्यो । तर उनी परीक्षा नसकी रंगशाला हुत्तरिए । भन्छन्, 'फूटबलको त्यत्रो मोह हुन्थ्यो कि ८० नम्बर गरेपछि पास भइहालियो भन्ने सोचेर कपी बुझाएर फूटबल खेल्न हिँडे । समयमै गए पहिलो सेटमा पर्ने भएकाले म दौडिएर रंगशाला गएँ ।'
परीक्षा बीचमै छोडेर गएको म्याच जिते पनि उनको रिजल्ट भने सोचेजस्तो आएन । उनी जम्मा चार नम्बरका कारण सेकेन्ड डिभिजनमा चित्त बुझाउन बाध्य भए ।
एसएलसीपछिको खाली समयमा उनले तेक्वान्दो सिकेका थिए । इन्डिभिजुअल गेम भएकाले उनलाई तेक्वान्दोले तानेको रहेछ । उनले तेक्वान्दोमा यति मेहनत गरे कि ८-९ महिनामै नेशनल गेम खेले ।
'धनगढीमा चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भयो । म बागमतीबाट सेलेक्ट भएको थिएँ । त्यो खेलेपछि ममा आत्मबल बढ्यो । मेडल भने जित्न सकिनँ,' भन्छन्, 'त्यो खेलको आधारमा तेक्वान्दो संघले स्पेनमा हुने विश्व च्याम्पियनसिपका लागि मलाई बी टीमबाट क्लोज क्याम्पमा राख्यो ।'
उनको सपना थियो, पाइलट बन्ने । तर राम्रो अंक नआएका कारण राम्रो कलेज पनि पढ्न पाएनन् । अस्कल र त्रिचन्द्र दुवैमा नाम निस्किएन । पाटन क्याम्पसमा व्यवस्थापनतर्फ भर्ना भए । तर तेक्वान्दोको क्लोज क्याम्पका कारण पढाइमा डिस्टर्ब भयो । संघर्षका दिनबारे खुल्छन् उनी, 'भर्ना भएको एक महिनामै क्लोज क्याम्पका क्लोज क्याम्पमै बसेँ । पढाइ बिग्रिहाल्यो ।'
त्यसपछि उनले सन् १९८७ मा आमन्त्रित सगरमाथा तेक्वान्दो च्याम्पिनसिपमा कास्यपदक जिते । पदक जित्दाको अनुभव साट्दै भन्छन्, 'मैले भुटानको खेलाडीलाई हराएर सेमिफाइनलमा पुगेको थिएँ । त्यो नै हो मेरो अन्तर्राष्ट्रिय पदक ।'
त्यतिबेला पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ पाएको उनी बताउँछन् ।
उनी तेक्वान्दोको क्लोज क्याम्पमा बसिरहेका थिए । सोही क्रममा उनको भेट विधान लामासँग भयो । उनले इन्द्रमानलाई तेक्वान्दोभन्दा पनि पढाइमा केन्द्रित हुन सुझाएछन् ।
उनलाई विधान लामाको कुरा 'हो' झैं लाग्यो । र छाडिदिए- तेक्वान्दो क्याम्प ।
पब्लिक युथ क्याम्पसमा उनी म्यानेजमेन्ट संकायमा भर्ना भए ।
भन्छन्- त्यसपछि मैले तेक्वान्दोको कम्पिटिसन छोडेँ । म पुन: फूटबलतिर लागेँ । तेक्वान्दोमा खेल्यो भने क्लोज क्याम्प राखेको राख्यै गर्ने गाह्रो हुने भयो । फूटबलमा त म नेशनल टीममा थिइनँ नि ।
उनले जति ए डिभिजन खेले, अन्तिम म्याचबाहेक सबैमा ९० मिनेटनै खेले । उनी क्लबका शारीरिक रूपमा फिट भएका खेलाडीमा दरिन्थे । थप्छन्, 'म मैदानमा छिरेपछि सकेर मात्र बाहिर निस्कन्थेँ ।'
उनले संकटाका लागि ए डिभिजन लीग विसं २०४४ सालदेखि २०५७ सम्म खेले ।
स्कूलदेखि कलेजसम्मका प्रतियोगितामा प्रथम हुन भूमिका निभाउने गरेका इन्द्रमानलाई संकटालाई लीग विजेता बनाउन नसकेकोमा चिन्ता रहेछ । 'संकटाका लागि एकपटक पनि उपाधि दिलाउन सकिनँ । खेलाडीको रूपमा पनि सकिनँ र पदाधिकारीको रूपमा पनि सकिनँ । खेल्दाखेरि नेशनल लीगमा दोस्रो मात्र भयौं । पदाधिकारीको हिसाबमा पनि दोस्रो मात्रै बनाउन सकेँ, ' यति भन्दा उनको अनुहार मलिन थियो । तर अब संकटा र समग्र फूटबल विकास लागि दीर्घकालीन र इफेक्टिभ योजना बनाइरहेको उनले सुनाए ।
*****
उनी खाली समयको सदुपयोग गर्न माहिर रहेछन् । एसएलसीपछिको खाली समयमा समेत उनले नेशनल क्याडेट कोर्ष 'एनसीसी'को तालिम लिएका रहेछन् । र त सेकेन्ड लेफ्टिनेन्टतर्फ पनि आकर्षित भए । आर्मी बन्नपर्छ सोचेर त्रिभुवन आर्मी क्लबबाट फूटबल पनि खेले । झापामा भएको त्रिभुवन गोल्डकपमा उपाधि पनि दिलाए । तर झापा बसाइ उनलाई सिकाइ बन्यो । झापाको ब्यारेकमा रहेका आर्मीको जीवन देखेर उनलाई दिक्दार लागेछ । अनि आर्मीको सपना पनि त्यागे उनले ।
कालिङपुङ,नरेन्द्रमान सिंह र भाइचन भुटिया
उनले शाही नेपाल वायुसेवा निगमको फूटबल क्लबबाट पनि डेढ वर्ष खेले । त्यसपछि दार्जिलिङको कालिङपुङबाट पनि फूटबल खेले । नरेन्द्रमान सिंहको दार्जिलिङतिरका क्लबसँग राम्रो सम्बन्ध रहेछ । त्यसैले उनले नेपाली खेलाडीहरूलाई पनि कालिङपुङबाट खेल्ने मौका जुराइदिए ।
कालिङपुङको एउटा अनुभव उनले सुनाए-
मैदानमा नरेन्द्रमान उहाँसँग त्यहाँ खेल्न जाँदा मैले भाइचन भुटियासँग पनि खेलेँ । भाइचन भुटिया मैदानमा आए । नरेन्द्रले सोधे तैंले त्यो केटालाई चिन्छस् ?
मैले चिन्दिनँ दाइ भनेँ ।
दाइले भन्नुभयो कि त्यो अहिले सबैभन्दा राइजिङमा आएको इन्डियाको प्लेयर हो भाइचन भुटिया ।
हेर म त्यसको टाङमुनिबाट दुई पटक बल छिराएर देखाइदिन्छु । नभन्दै उहाँले कर्नरतिर लगेर भाइचन भुटियाको दुईपटक टाङमुनिबाट बल छिराइदिनुभयो । उहाँ नेपालका एकदमै राम्रो खेलाडी हुनुहुन्थ्यो ।
*****
पाइलट र आर्मी नबनेपछि उनको मन वकालततर्फ मोडियो । उनी बीएल भर्ना भए । अन्तत: पास पनि भए ।
एक-दुई मुद्दा हेरे । तर उनलाई त्यो पेशाले सन्तुष्टि दिएन । पेशा ठीक लागेन उनलाई ।
कस्ता मुद्दाको वकालत गर्नुभयो ?
भन्छन्, 'सामान्य देवानी मुद्दा थियो । त्यो मिलापत्रमा टुंगियो पछि । यो पेशा मेरो वशको कुरा होइन जस्तो लागेर एमबीए गरेँ ।'
वकालतबाट पनि हात झिकेपछि उनले कलेज पढाउन थाले । पब्लिक युथ नै पढेका इन्द्रमानले आठ वर्ष त्यहीँ पढाए । उनीसँग अध्यापनको पनि अनुभव जोडियो ।
*****
इन्द्रमानलाई खेल र पढाइ वा अध्यापन सँगसँगै लान सकिन्छ जस्तो लाग्छ । त्यसका लागि समय व्यवस्थापनमा भने ध्यान दिनुपर्ने उनको बुझाइ छ ।
खेलको खेलमै लागे मात्रै पढाइ बिग्रने हो नत्र त्यसो नहुने उनको तर्क छ । भन्छन्, 'खेल र पढाइसँगसँगै लैजाँदा मलाई पढाइ बिग्रिन्छ भन्ने लाग्दैन । तेक्वान्दो र फूटबलसँगै खेल्दै पढ्दै गरेको हो मैले ।'
उनीसँग तेक्वान्दोको सहायक प्रशिक्षक भएर १२ वर्ष काम गरेको अनुभव पनि छ । त्यसपछि उनले कोरियामा गएर प्रशिक्षकको इन्टरनेशनल सर्टिफिकेट नै लिए । खेल्न छोडे पनि तेक्वान्दोको हरेक एक्जामहरू दिए । उनी 'सिक्स डान' हुन् ।
*****
उनले लामो समय फूटबल खेले । र देखे- फूटबल खेल्दै गर्दा खेलाडीहरूले भोग्नुपर्ने समस्याका चाङ ।
उनकै पहलमा फूटबलमा धेरै प्रगतिहरू भएका छन् । धेरै सकारात्मक पहलहरू भएका छन् । त्यसबारे हामी अर्कै श्रृंखलामा चर्चा गर्नेछौं ।
तर एउटा घटना र पहल उनकै शब्दमा:
राष्ट्रिय लीगको क्रममा प्रहरीको तालिम केन्द्रमा गेम भइरहेको थियो । संकटा र थ्रीस्टार भिड्दै थिए । गेम निकै महत्त्वपूर्ण थियो । पानी सिमसिम परिरहेको थियो ।
ललित दाइ कोर्डिनेटर हुनुहुन्थ्यो । मैले पानी पर्दै छ । एम्बुलेन्स पनि छैन डाक्टर पनि छैन नखेलुम् भनेँ। मैले एम्बुलेन्स स्ट्यान्डबाइ राख्न अनुरोध गरेँ । यसैबीच गणेश थापा आउनुभयो । फूटबल पनि डरलाग्दो गेम हो । खेलाडीहरू घाइते हुन सक्छन् भनेर एम्बुलेन्स र डाक्टर माग गरेँ ।
तर गणेश थापाले गाडी मेरै छ नि भन्नुभयो । त्यही गाडीमा भएपनि लान्छु, भन्नुभयो । यहीँ त हो टिचिङ हस्पिटल कति टाढा छ र भन्नुभयो । डाक्टर त ल्याउनुस् भनेँ । एउटा मान्छे सेतो एप्रोन लगाएर आयो ।
हामीले हो कि भनेर फूटबल शुरू गर्यौं ।
खेल शुरू भएको १५-२० मिनेटमै संकटाको गोलकीपरको पोलमा ठोक्किएर कानबाट रगत आयो ।
मैले डाक्टरलाई कल गरेँ ।
उहाँ आउनुभयो ।
तर मेडिकल बक्स खोल्न जान्नुभएन ।
त्यसपछि मैले तँ डाक्टर नै होइनस् भनेर लखेट्न थालेँ । त्यसपछि एन्फाले हरेक प्रतियोगितामा एम्बुलेन्स र डाक्टर अनिवार्य राख्ने गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...