भतिजाको हत्या आरोपीलाई जन्मकैद

प्रतिकात्मक तस्वीर

सप्तरी – जिल्लाको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिए ।


Advertisement

जिल्ला अदालतको आदेशमा आरोपित मण्डल २०७३ फागुन १२ गतेदेखि राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा छिन् । ३ वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको अभियोगमा उनकै काकीलाई जन्मकैद सजायको फैसला भएको हो ।

घरमा खेलिरहेका बालकलाई २०७३ माघ २३ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले घटनाकै दिन उनलाई पक्राउ गरेको थियो ।


Advertisement

घटनाका बेला दाजुभाइ रहेका मृतकका बुबा धर्मदेव खङ्ग मण्डल र आरोपितका पति अशोक खङ्ग मण्डल सिलाइकटाइको कामका लागि भारतको मुम्बईमा बसिरहेका थिए । 

मृतकका हजुरबुवा रामदेव खेतमा तथा मृतकका आमा चन्द्रिका र हजुरआमा विणादेवी घाँस दाउरा गर्न जंगल गएकी थिइन् । त्यसैबेला जेठानी चन्द्रिकासँगको रिसइबीमा उनले भतिजाको हत्या गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्