काठमाडौं २० चैत्र । केही बर्ष अघि सम्म सरकारी कार्यालय र निकायको बार्षिकोत्सव कार्यक्रम पानसमा बत्ति वाल्ने प्रचलन थियो । पानसमा बत्ति बाल्ने देखि गमलामा रोपिएको बिरुवामा पानी हाल्ने देखि मैनवत्ति बाल्ने पुरानो प्रचलन हो । कार्यक्रम उद्घाटन गर्ने शिलशिलामा गएको असार १५ मा तत्कालिक कृषि मन्त्रीले गमलामा धान रोप्ने सम्मको काम गरे ।
जनतालाई सेवा सुविधा दिने मामिलामा पञ्चायकतालीन कार्यशैली कायमै रहेपनि सरकारी कार्यालयले पनि बार्षिकोत्सव कार्यक्रममा केक काटने पश्चिमा शैली भित्राएका छन् । आइतवार सिंहदरवारमा दुइवटा ठूला केक काटिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषदको १६ औ बार्षिकोत्सव समारोहको केक काटे भने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले रेडियो नेपालको ६७ औ बार्षिकोत्सव समारोहमा भव्य केक काटे ।
बार्षिकोत्सवमा केक काटने प्रचलन पाचिन ग्रीसबाट शुरु भएको मानिन्छ । नेपालमा पनि जन्मोत्सव, बैवाहिक बर्षगाठ र उत्सवहरुमा केक काटने प्रचलन बढ्दै गएको छ ।
पूर्वउपप्रधानमन्त्री चिबहादुर केसी सरकारी कार्यालयमा केक काटने प्रचलन नेपाली मौलिकता नभइ पश्चिमा संस्कृतिको प्रभाव भएको ठान्छन । ‘म सात महिना उपप्रधानमन्त्री हुँदा कयौ कार्यक्रम उद्घाटनमा गए, कतै केक काटेको जानिन’ केसीले भने, ‘माओवादीले कहाँबाट उपद्रो सिके, सरकारी कार्यालयमा केक काटेको कुरा त पहिलो पटक सुनें ।’
केसीले माओवादीले पश्चिमा संस्कृति फिजाउने काम गरिरहेको आरोप लगाए । ‘जातीय राज्यको कुरापनि उनीहरुले पश्चिमा डिजाइनमा ल्याएका हुन’ उनले भने ।