
काठमाडौं– कृष्णबहादुर महराले प्रतिनिधि सभाको सभामुख पदबाट दिएको राजीनामाको सूचना संसद सचिवालयले बुधवार सूचना पत्रमा प्रकाशित गरेको छ ।
संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि छानबिनमा सघाउन भन्दै महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी मंगलवार पदबाट राजीनामा दिएका थिए ।
संसद् सचिवालयका सचिव डा. भरतराज गौतमको हस्ताक्षरसहित प्रकाशित महराको राजीनामासम्बन्धी सूचनामा भनिएको छ– 'सम्माननीय सभामुख श्री कृष्णबहादुर महराले मिति २०७६ साल असोज १४ गते "हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु" भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकाले माननीय उपसभामुखज्यूको आदेशानुसार प्रतिनिधि सभा नियमावली २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।'
नियमावलीअनुसार संसद् चालू नरहेको अवस्थामा यसैगरी सभामुख वा उपसभामुखको राजीनामाको सूचना सूचना पत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ । यसरी सूचना प्रकाशित हुनु कानूनत: राजीनामा स्वीकृत भएसरह हो ।
हेर्नुहोस्, सूचना :
