राजनीतिक नेतृत्व, सामाजिक प्रवृत्ति र समाजवाद बीचको दूरी

पुष्प न्यौपाने
पुष्प न्यौपाने

वामपन्थी राजनीतिमा कलम चलाउने न्यौपाने प्रेस संगठन निकट पत्रकार हुन् ।

नेपाली समाज सम्भावित दुर्घटनाको खतरनाक घुम्तीनेर छ । किनकि यतिबेला नेपालीको सर्वाधिक प्रिय वस्तु निन्दा र घृणा हो ।

निन्दा र घृणाको मूल स्रोत राजनीतिक पार्टी, तिनका भातृ संगठन र राजनीतिक प्रणाली बन्नु आफैंमा डरलाग्दो पक्ष हो । 


Advertisement

सबैभन्दा बिडम्बना के छ भने निकै ठूलो त्याग, तपस्या, बलिदान, जेलनेल, यातना, प्रताडना र मृत्युको मुखबाट युद्धका विभिषिका र आन्दोलनका ज्वारभाँटाहरू छिचोलेर आएको परिपक्व नेतृत्वपंक्ति अन्तरपार्टी संगठनमा निष्पक्ष न्याय दिन सकिरहेको छैन । समाजलाई आधारभूत आवश्यक वस्तुको डेलिभर दिन सकिरहेको छैन ।

हरेक संगठनमा इमान्दार पाखा पर्नु र समाजमा सज्जनहरू अन्यायको जाँतोमुनि पिसिनुकै कारण यतिबेला राजनीतिक र सामाजिक स्थायित्वमाथि अनिश्चितताको बादल मडारिने खतरा अन्त्य हुन सकेन । यसले सामाजिक प्रवृत्ति र समाजवाद बीचको दूरी स्पष्ट गर्छ ।

पहिले सामाजिक प्रवृत्तिलाई दिशानिर्देश नगरिकन समाजवादको यात्रा मात्रै शुरू गर्दा सिंगो मुलुकलाई गन्तव्यमा पुर्‍याउनु चुनौतीपूर्ण हुन्छ । तथापि सामाजिक प्रवृत्तिलाई समाजवाद उन्मुख बाटोमा हिडाउँदै अघि बढ्नुको विकल्प छैन ।

नेपालको जनमतले वामपन्थीसँग निरन्तरताको शासनभन्दा केही भिन्नै अपेक्षा गरेको थियो । पारदर्शिता, सामूहिकता, सामाजिक हित र चासोका विषयमा वामपन्थी सरकार दृढतापूर्वक प्रस्तुत हुनेछ भन्ने आशा पूर्णरुपमा मरिसकेको त छैन तर आशाहरू बढ्दै जाने संकेत पनि देखिएका छैनन् । आजको द्रव्य हाबी समयमा हामीले मार्क्सझैं दार्शनिक भविष्य द्रष्टा, लेनिनझैं दर्शन, विचार–राजनीति र संगठनको कौशलता एउटै व्यक्तिबाट र त्यहीँ उचाइबाट होस भन्ने अपेक्षा गरेका छैनौं । माओझैं व्यवहारमा परिपक्वताको त्यो उचाइ पनि खोजेका छैनौं, होचिमिन्हको त्याग र चेग्वेभाराको दृढ संकल्प पनि खोजेका छैनौं ।

मार्क्सले समाजको चिन्तन गर्ने क्रममा निजी सम्पत्तिको जोहो गर्न नसकेर आफ्नै एउटा छोरीलाई कात्रो किन्ने पैसा नहुँदा आफैंले लगाएको कोट फुकालेर छोरीलाई चिहानमा गाढे । जारको सत्ता कब्जा गरेका लेनिन ले चाहेको भए ऐशआरामका लागि खासै समस्या हुने थिएन । स्टालिनले जर्मनहरूसँग सम्झौता गरेर छोरा नबचाउने प्रण गरे र युद्धभूमिमा जर्मनहरूले बन्दी बनाएको छोरा मारिएको खबरलाई स्वाभाविक रुपमा लिए । 

माओले कोरियाली युद्धमा मारिएको छोराको लाश फिर्ता ल्याउने बुहारीको आग्रहलाई अस्वीकार गर्दै हजारौं चिनियाँका लाशहरू जहाँ छन्, उसको लाश पनि त्यहीँ हुन्छ भन्ने प्रतिक्रिया दिए र बुहारीलाई उसको लाश मात्रै विशिष्ठ हुन नसक्ने कुरा सम्झाए । (हो काका) होचिमिन्हको त्याग र सादगी जीवनसँग भियतनाममाथि बमबाड गर्ने अमेरिकीहरू समेत प्रभावित भए । चेग्वेभाराले जन्मभूमि छोडे, मेडिकल डाक्टरको सुविधा छोडे, युक्रेनकी प्रेमिका छोडे, म्यान हट्टनको सुविधायुक्त जीवनशैली छोडे, क्युवाको मन्त्री पद छोडे र बोलिभियालिका लागि युद्ध मैदानमै जीवन बलिदान दिए ।

पूँजीवादी शिविरका नेल्सन मण्डेला र महात्मा गान्धीको त्यागबाट निर्मित उचाइ आज पनि चर्चित छ । नेपाली जनताले त्यस स्तरको त्याग, तपस्या र सादगी पनि खोजेका छैनन् । मात्रै कुरा के हो भने जुनसुकै संस्थाको शीर्ष आसनमा भएपनि आफूलाई सुमेरु पर्वत ठान्ने र भेटी चढाँउदै वरिपरि प्रदक्षिणा गर्ने गणेशहरू खोज्ने काम कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले नगरिदिए पुग्छ भन्ने चाहना हो ।

हामी बाटो खन्दैछैनौं

हाम्रो आगामी यात्रा कहाँ हो हामी आफैंलाई थाह छैन तर हामीले आगामी यात्रा समाजवाद हो भनेर दस्तावेजमा भने किटान गरिसकेका छौं । यदि हाम्रो यात्रा समाजवाद हो भने किन नेपाली समाज हामीसँग असन्तुष्ट बन्ने क्रम बढ्दो छ ? के हामी यसको खोजी गर्न तयार छौं ? छैनौं । दुर्भाग्यवश वामपन्थी सत्ता ढलेपछि नेपाली समाजले कुन दिशा पकड्ला ? जनता, पार्टी, संगठन र नेतृत्वको विशाल पंक्ति के गर्ला ? यसप्रति सदैव चनाखो भएर आफ्ना काम कारवाही अघि बढाउँदै वामपन्थी सत्ताको दीर्घायूका लागि आ–आफ्ना क्षेत्रबाट योगदान गर्ने वातावरण तयार गरिनुपर्ने हो तर हामीलाई यतिबेला एकातिर कम्युनिस्ट पार्टीको अमरत्वका भजनहरू गाउने मान्छे चाहिएको छ ।

अर्कोतिर गैरकम्युनिस्ट चरित्रका आत्मकेन्द्रित व्यक्तिवादीलाई संगठन सुम्पिनपरेको छ । कार्यकर्ताको इतिहास, त्याग, बलिदान, जनता र पार्टीप्रतिको समर्पण, सक्रियता तथा सामाजिक स्वीकारोक्तिका मानकलाई बाइपास गरी खल्तीका मान्छेलाई संगठन दिने होड चलेको छ ।

गैरकम्युनिस्ट व्यवहारमा हामी जान–अन्जान अघि बढ्ने तथा कम्युनिस्ट पार्टीको भजन पनि गाउनैपर्ने कथनी र करणीको अन्तरले हामीलाई अपेक्षा पूरा गर्ने ठाउँमा लैजाँदैन । अमरत्वको कामनाका भजनले संसारमा कुनै वस्तुको आयु बढेको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हकमा मात्रै त्यो कसरी लागू हुनसक्ला र ? शोभियत संघ ढल्दा होस् वा भियतनाम लगायत मुलुकमा व्यवस्था बदलिँदा हामीले पूँजीवाद, प्रतिक्रियावाद, सामन्तवाद र साम्राज्यवाद मूल दोषी देख्यौं । हामी द्वन्द्ववादी हुँदाहुँदै पनि के कुरा बिर्संदै आयौं भने वस्तुको विकास वा विनाशमा बाहिरी कारण हजार भएपनि आन्तरिक कारण प्रधान हुन्छ । बाह्य शक्तिलाई दोष थोपरेपछि हामीले आत्मालोचना गर्न परेन ।

आफूलाई शुद्धीकरण गर्नुपर्ने एउटा मात्रै कारणसँग डराएर सामाजिक चरित्रका बदलावको अपब्याख्या गर्ने, संगठनको सिद्धान्तलाई आफ्नो अनुकूलतामा परिभाषित गर्ने अनि सबै परिस्थिति प्रतिकूल बनेपछि विषयान्तर गरेर आफ्नै कार्यकर्तालाई विरोधीसँग मिलेको आरोप लगाउने र प्रतिक्रियावादीको चलखेल भन्दै समाज विज्ञानको अनुसन्धान एवं संगठनका पद्धतिको नयाँ खोजलाई बन्ध्याकरण गर्ने । प्रतिक्रियावादी, साम्राज्यवादी वा अरु कुनै तत्वमाथि धारे हात लगायर आफू उम्किने बहाना खोज्नु कायरता हो । षड्यन्त्र गर्नु, विरोधी जनमत सिर्जना गर्नु, सत्ता ढाल्ने दाउपेचमा लाग्नु उनीहरूको धर्म हो । चलिरहेकोलाई विस्थापन गर्नकै लागि विरोधीको जन्म हुन्छ, यो त विज्ञानको सामान्य सिद्धान्त हो । अझ राजनीतिक विज्ञानमा यो चौबिसैं घण्टा जीवित रहन्छ । प्रतिक्रियावादीले प्रशंसा गरिदिने भए, साम्राज्यवादीले सहयोग गरिदिने भए र विपक्षी वा दक्षिणपन्थीले संगठन बनाइदिने भए कम्युनिस्ट शासन त कहिल्यै अन्त्य हुने थिएन ।

विरोधी कित्ताको षड्यन्त्र, दाउपेच, गुप्त तथा सिधा आक्रमणका खेललाई निस्तेज जसले गर्न सक्छ, त्यहीँ शासन सफल हुन्छ । त्यसका लागि पहिलो शर्त लोकप्रियता हासिल हो । जनताले रुचाइदिएपछि संसारबाट कटेर पनि उत्तरकोरिया टिकेकै छ । अमेरिकाको नाकैमुनि क्युवा शानदार रुपमा बाँचेकै छ ।

क्युवामा केही गर्न नसक्ने साम्राज्यवादले नेपालका कम्युनिस्टहरूलाई किन बदनाम गर्न सक्छ ? एउटै कारण हो आफूभित्रको कमजोरी, अलोकप्रियता, स्वेच्छाचारिता यस्तै–यस्तै गलत विधि र पद्धतिका अभ्यास पार्टी संगठन र समाजमा हुने भएकाले ।

त्यसकारण पहिले आफैं भित्रको संरचना जाँच गर्नुपर्छ । पार्टी संगठन र राजकीय संयन्त्रको निर्माणमा आम कार्यकर्ता कति खुशी छन् र ती संरचनाका जिम्मेवार व्यक्तिको विगत र वर्तमानसँग पार्टी र जनता सन्तुष्ट छन् कि छैनन् ? कतै हाम्रो अहंकार, दम्भ, त्रास वा शासनको तौरतरिकामा खराबी थियो कि ? कतै हाम्रो अधिनायकत्व बढी वा कम हुँदा समस्या आयो कि ? यी विषयमा हामी कहिल्यै घोत्लिएनौं । जब हामीले चाल पाउँछौं, तबसम्म समय घर्किसकेको हुन्छ ।

नेपालको हकमा त्यहि रोगको पुनरावृत्ति गरिनु हुँदैन । त्यसका लागि बाटो खन्नुपर्छ । बाटो खन्नुको मतलब सिद्धान्तमा केही नयाँ विकास, विचार–राजनीतिमा केही नयाँ विकास तथा परिस्थितिमा आएको फेरवदलसँगै व्यवहार र आचरण एवं जिज्ञासा र खोज अनुसन्धानमा नयाँ विकास गर्नु हो । यसो गर्न सकिएन भने हामीले आफू हिँड्ने बाटो खन्न सक्दैनौं । बाटो विना लक्ष्य किटान गर्न सकिन्न र लक्ष्य विना गन्तव्य पुग्न सकिँदैन । बाटो खन्न स्पष्ट योजना, सामूहिक कार्य प्रणाली र वैज्ञानिक विश्व दृष्टिकोण चाहिन्छ तर कुखुरे प्रवृत्तिलाई हामी आफ्नो वरिपरि केन्द्रित गर्दैछौं ।

दलाल, तस्कर र माफियालाई वामपन्थी सरकारले कति निचोर्न सक्छ निचोरे हुन्छ तर उनीहरूसँग गर्धन जोडेर विशुद्ध व्यापारी, पेशा–व्यवसायी र समाजको निम्छरो वर्गलाई दुःख दिइयो भने शासनसत्ता कति टिक्नसक्छ कल्पना गर्नुस् । हामीले जुन राज्यलाई समाजवादी राज्य घोषणा गर्दैछौं, त्यसका प्रमुख ३ अंगहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैतिर अपारदर्शिता छ । चौथो अंग पत्रकारिता यसको विपरीत जस्तो देखिएपनि यहि समाज, संरचना र संगतको प्रभावबाट पत्रकारिता अछुतो छैन । सोझै बार्गेनिङ गर्ने वा कुनै भूमिका बाँध्ने राज्यका ४ वटै अंगहरू कहीँ न कहीँ अपारदर्शिताकै अभ्यासमा छन् । यस्तो अवस्थामा निम्छरो वर्गले हामीबाट के आशा गर्न सक्छ ? यो सबै तमासा त पञ्चायतदेखि बहुदलीय व्यवस्थामा छँदै थियो । हामी भन्न सक्छौं कि हिजो योभन्दा खराब हालत थियो । त्यो सही हो तर हामीले आफूलाई हिजोसँग तुलना गरेर उम्कने बहाना बनाउन खोज्यौं भने कुरा स्पष्ट छ, हाम्रो स्खलन तीब्र गतिमा छ । स्खलित व्यक्ति, संस्था वा संगठन लामो समय आफ्नो प्रतिरक्षा गरिरहन सक्ने सामथ्र्यमा हुँदैन ।

हामी खेदो खन्ने कोटीमा कसरी आइपुग्यौं ?

व्यक्तिवाद आजको सबैभन्दा ग्राह्य वस्तु हो । यसले संसारका बहुसंख्यक मानिसलाई चाँडो आकर्षित गर्छ । व्यक्तिवादले अरुलाई ‘डोमिनेट’ गर्छ । हामीभित्र व्यक्तिवादको वृद्धि रफ्तारमै छ । व्यक्तिवाद आफूलाई धुरीमा राखेर व्याख्या गर्छ । 

हामीलाई पनि त्यस्तै मज्जा आउँछ । आफू गुणले युक्त नहुँदा आफ्नो उचाइ हुँदैन र अर्कोलाई पनि आफू सरहको समान रेखामा ल्याउन अरुको निन्दा, भर्त्सना, घृणा गर्ने प्रथाको विकासले नै हामीलाई वास्तवमा खेदो खन्ने ठाउँमा पुर्‍याएको हो । तपाईं अरुको निन्दामा जति ऊर्जा खर्चनुस्, त्यति नै तपाईं सत्यनाशको दिशामा धकेलिनुहुन्छ । 

नेपाल अहिले ठीक त्यहीँ ठाउँमा छ । एकअर्काको निन्दामा हामीलाई त्यति आनन्द आउँछ, जति लगातार चिलाइरहेको शरीरमा कन्याउँदाको क्षणिक आनन्द हुन्छ । खेदो खन्दा हामी विनाश, अन्धकार र विवेकविहीन ठाउँबाट गुज्रिन्छौं । बाटो खन्दा हामी चम्किलो भविष्यका लागि तयार हुन्छौं । यदुवंशीझैं आफैंभित्र लडाइमा जाने, कौरवझैं निषेधको बाटोबाट अघि बढ्ने वा कृष्णको वुद्धि र अर्जुनको निशानाझैं आफ्नो लक्ष्य भेद गर्ने यो प्रश्नको जवाफ इतिहासले हामीमाथि सुम्पेको छ । त्यसको जवाफ हाम्रा अग्रज कसरी दिन्छन्, हामी त केवल दर्शक दिर्घामा छौं । भन्न त हामीलाई पनि अभिनय गर भनेर आदेश दिइएको छ तर मञ्चमा कलाविहीन मानिसलाई मुख्य भूमिकामा राख्नुभयो भने यो थियटरको नाटक दर्शकले रुचाउने छैनन् ।

अनुभवी र कलायुक्त मानिसलाई मञ्चको पहिलोपंक्तिमा राखेर मुख्य भूमिका दिनुस् अनि बाँकीलाई सहायक भूमिका दिए हुन्छ भन्ने निर्देशकलाई आग्रह गर्नुबाहेक हामीसँग कुनै सामथ्र्य छैन । त्यो भन्नुको उद्देश्य पनि समाजवादको थियटर लोकप्रिय बनोस् भन्नेबाहेक हाम्रो अरु कुनै चाहना छैन । त्यस्ता प्रतिक्रियाले कहिलेकाहीँ दर्शक दीर्घामै बस्नुपरेछ भने पनि केही छैन । सत्य कुरा चपाएर मञ्चमै पुग्नुपर्छ भन्ने पनि केही छैन ।

कमेन्ट गर्नुहोस्