उपनिर्वाचनका लागि दलहरूभित्र उम्मेदवारको खोजी

काठमाडौं – १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन गर्न तीन साता पनि बाँकी छैन ।

निर्वाचन आयोगले २१ कात्तिकमा मनोनयन दर्ता गर्ने तालिका निकालेपछि विभिन्न दलहरूभित्र उम्मेदवारका दाबेदारको चर्चा शुरू भएको छ । 


Advertisement

निर्वाचनमा उठाउने उम्मेदवारहरूको आधिकारिक घोषणा अहिलेसम्म कुनै पार्टीले पनि गरेका छैनन् । तर, पार्टीका आन्तरिक बैठक र निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारले आ–आफ्नो दाबी गर्न थालेका छन् ।

प्रतिनिधिसभामा एक पद र प्रदेश सभामा तीन पद खाली छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त भएको थियो । अधिकारी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । 

प्रदेश सभा बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’, दाङ क्षेत्र नम्बर ३ ‘ख’ र भक्तपुर क्षेत्र नम्बर १ ‘ख’ पनि रिक्त छ । प्रदेश सभा बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’बाट विजयी टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगबाट मृत्यु भएपछि उक्त क्षेत्र रिक्त भएको थियो ।

त्यस्तै, दाङ क्षेत्र नम्बर ३ ‘ख’ निर्वाचित उत्तरकुमार ओलीको दाङमै सडक दुर्घटनामा मृत्यु भएको थियो । भक्तपुर क्षेत्र नम्बर एक ‘ख’बाट निर्वाचित हरिशरण लामिछानेको मष्तिकघातबाट मृत्यु भएको थियो । घर्ती राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए भने ओली र लामिछाने तत्कालीन एमालेबाट चुनिएका थिए । नयाँ पत्रिकामा खबर छ । 

कमेन्ट गर्नुहोस्