
काठमाडौं–माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत्गृहभित्रका टर्वाइनसहित उपकरण जडान भएको झण्डै एक वर्ष पूरा हुन लागेको छ ।
विद्युत्गृहभित्रका विद्युत् उत्पादनका लागि आवश्यक टर्वाइन, जेनेरेटर, एमएसओभी लगायतका सबै सामान कम्प्युटर प्रणाली समेत जडान गरी सुक्खा परीक्षण भएको पनि १० महिना पूरा भएको छ ।
हेडवक्र्सबाट पानी आएको भए यी जडान भएका उपकरणबाट अहिलेसम्म ८ अर्ब बढीको विद्युत् उत्पादन भइसक्थ्यो । यी सबै उपकरण पानीकै प्रतीक्षामा छन् । जडान भएका उपकरणमा खिया नलागोस् भनेर दैनिक एक पटक तेल हालेर तताउने गरिएको छ ।
जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि बाँधबाट नदी फर्काएर पोखरीमा हालेर बालुवा थिग्र्याएपछि सुरुङको माध्यमबाट विद्युत् गृहसम्म पठाइन्छ । यो आयोजनाको बाँधस्थल लामाबगरदेखि विद्युत् गृह गोगरसम्म ८ किलोमिटर मुख्य सुरुङ बनेको छ । विद्युत् गृहसम्म पुग्न ३७३ मिटरको तल्लो र ३१० मिटरको माथिल्लो २ वटा ठाडो सुरुङ समेत छन् ।
विद्युत् गृहका ६ वटा युनिटसम्म पानी पुर्याउँन ठाडो सुरुङसहित ठाडो सुरुङ छेऊमा कमजोर ठाउँ समेत गरी ९ सय मिटर पेनस्टक पाइप जडान गर्नु पर्छ । यही मार्गबाट आएको पानीबाट घुमेका उपकरणबाट विद्युत् निस्केपछि ३ किलोमिटर टेलरेस सुरुङमार्फत पानी पुनः नदीमै मिसिन्छ ।
उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभीको प्रसारणलाइनमार्फत खिम्तीमा जोडिन्छ । नदी फर्काउनेदेखि विद्युत् गृहसम्मका सबैकाम पूरा भएका छन् । तर त्यही ठाडो सुरुङको पाइपमै ४५६ मेगावाट विद्युत् अड्किएको छ । पाइप जडानकै ढिलाइकै कारण विद्युत् गृहसम्म पानी ल्याउन नसकेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । कारोबार दैनिकमा खबर छ ।