
काठमाडौं – विभिन्न माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि पशुपति आर्यघाटमा दाहसंस्कारको काम प्रभावित भएको छ ।
कामदारको माग पुरा नगरेको भन्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले कालो ब्यानर टाँसेर बुधवार बिहानदेखि आन्दोलन गरेका हुन् ।
‘कामदारको माग पुरा नभएको हुँदा २०७६/०७/०६ गते बिहान ६ बजेदेखि माग पुरा नभएसम्म अनिश्चित कालसम्म शब दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने कामहरू सबै बन्द रहनेछ,’ ब्यानरमा लेखिएको छ ।
उनीहरूले पारिश्रमिक वृद्धि गरिनुपर्ने, यसअघिका विभिन्न मागहरू पुरा गर्नुपर्ने लगायतका मागहरू राखेका छन् । यस्तै कामदारहरूको पारिश्रमिकबाट कट्टा गरिएको १० प्रतिशत रकम प्रोत्साहनस्वरुप थप गरिनुपर्ने, बीमाको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।
६० वर्ष पुगेका कर्मचारीलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएको केन्द्रका एक सदस्यले जानकारी दिए ।
कर्मचारीहरूको आन्दोलनका कारण बिहान पशुपति आर्यघाटमा शबदाह प्रभावित भएको थियो । मध्यान्हपछि भने केही कर्मचारीहरू काममा फर्किएका छन् ।