श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

कोलम्बो - श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ । देशभरको सुरक्षा सतर्कताका बारेमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

श्रीलङ्कामा आउँदो नोभेम्बर १६ तारिखका दिन राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । राष्ट्रपति सिरिसेनाले अघिल्लो हप्ता पनि उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गरी राष्ट्रपतिका उम्मेदवारहरुको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।


Advertisement

निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रपतिका लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचनमा झण्डै एक करोड साठी लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ ।

उम्मेदवारहरुमध्ये सत्तारुढ दल युनाइटेड नेसनल फ्रन्टका सजिथ प्रेमदासा र प्रमुख प्रतिपक्षी दलका गोताबाया राजापाक्षेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

राजापाक्षे पूर्व रक्षा सचिव तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेका भाइ हुनुहुन्छ । निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले नोभेम्बर १६ मा मतदान भई नोभेम्बर १८ मा मतपरिणाम घोषणा हुने जानकारी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्