सम्झनामा बाल्यकालको त्यो दशैंतिहार

विकास बोहरा
विकास बोहरा

लेखक आर्थिक मामिला तथा योजना मन्त्रालय धनगढीमा शाखा अधिकृत पदमा कार्यरत छन् ।

व्यस्त जीवनमा मान्छेलाई पुराना दिनका सम्झनामा घोत्लिएर तिनको लेखाजोखा गर्दै विगतका रमाइला पल सम्झिदै फुर्सद खासै हुँदैन । म पनि खुशीका क्षणमा पुल्कित हुने र तीता क्षणलाई धिकार्दै बस्ने स्वभावको मान्छे होइन ।

तर कहिलेकाहीँ पुराना स्मरणको चित्र हाम्रो मानसपटलमा यति ताजा भएर आउँछन् कि लाग्छ – साँच्चै मानव मस्तिष्कको संग्रह पनि बडा व्यवस्थित तवरको नै हुन्छ कि ? 


Advertisement

दशैंतिहारको माहोल आउँदा हरेक वर्ष पुराना दिनको सम्झना झल्झली मनमा आउँछ । थोरै समय खर्चेर भएपनि विगतमा विचरण गर्न कर लाग्दछ । 

आजभोलि र विगतका दशैंतिहारलाई तुलना गर्ने हो भने विगतका दिनका दशैंतिहार नै धेरै हिसाबले उत्कृष्ट र रमाइला थिए । मेरो विश्लेषणमा पुराना दशैंतिहारका दिनलाई सम्झनुपर्ने प्रमुख १० कारण यी हुन् –


Advertisement

१. दशैंतिहार आइसकेको संकेत सयपत्री र सुपारी फूलहरूको मगमगी सुगन्धले दिन्थे । न कि म्यासेन्जरको इनबक्समा आउने ताइ न तुइका ‘ह्याप्पी दशैं’का फरवार्डेड म्यासेजले ।

२. दशैंतिहार भनेपछि सबै परिवारका सदस्यको रमाइलो जमघटमा घण्टौं गफिनुको छुट्टै मज्जा हुन्थ्यो । आजभोलिको जस्तो सबैजना एउटै कोठामा भएपनि सबैका आँखा मोबाइल स्क्रिनमा र औला टचप्याडमा कुदिरहनुपर्ने बाध्यात्मक अवस्था किमार्थ हुँदैनथ्यो ।

३. दशैंतिहारमा नयाँ एकजोर लुगा लगाउन पाइने आशामा महिनौं अघिदेखि मन बडा हर्षित भएर आउँथ्यो । बुवाको पछिपछि लागेर १५–२० मिनेटमा लुगाको किनमेल सकाइन्थ्यो, न कि घण्टौं खर्चेर ठूल्ठूला मल चहारिन्थ्यो ।

४. दशैंतिहारमा टीका थाप्दा मान्छेको ध्यान केवल टीका र जमरामा हुन्थ्यो, न कि सेल्फी र बेल्फीका लागि पोज दिनतर्फ । त्यतिबेला खुशी १००/२०० रुपैयाँ दक्षिणा पाउँदा हुन्थ्यो, न कि बढी लाइक र कमेन्ट बटुल्ने फोटो कैद गर्न सफल भएकोमा ।

५. सानो साथी सञ्जालमा भैलो देउसी खेलिन्थ्यो विशुद्ध मनोरञ्जनका लागि, न कि आजभोलिको जस्तो योजनावद्ध र स्वार्थप्रेरित रुपमा ठूलो कोष खडा गर्ने, दह्रो भोजभतेर र पिकनिक आयोजनको लागि ।

६. तिहारताका १/२ दिन घरमै बसेर दाजुभाइसँग रमाइलोका लागि जुटपत्ति खेलिन्थ्यो, न कि पूरै जुवाडेझै लाखौं रुपैयाँसहित जुवामा आफ्नो भाग्य र पुरुषार्थ प्रदर्शन गर्न उद्दत भइन्थ्यो ।

७. दशैंतिहारमा घरको सेलरोटी र मासुभातको स्वादमा परमानन्द महसूस गरिन्थ्यो, न कि २/४ जनालाई निम्तो गरी बर्गर पिज्जासहित ‘सोमरस पान’ गर्न आकर्षक क्याफे चहार्ने जाँगर चलाइन्थ्यो ।

८. लक्ष्मी पूजाको दिन साँझ २/४ मैनबत्ती घरको वरिपरि बालेर पूजा कोठामा स–परिवार लक्ष्मीअर्चना गरिन्थ्यो, न कि आजभोलि जस्तो छिमेकीभन्दा आफ्नो घरआँगन ज्यादा ज्वाजल्यमान बनाउने स्पर्धामा ‘ग्ल्यामरस दीपावली लाईटिङ’मा दिल खोलेर खर्च गरिन्थ्यो ।

९. भाइटीकाको दिन दिदीहरूबाट माला लगाइसकेपछि घण्टौं माला फुकालिन्नथ्यो, अर्काको घाँटीमा भन्दा आफ्नोमा बढी मालाको भारी भएकोमा दिनभरि बडा गर्वले छाति फुलाइन्थ्यो, न कि आजभोलि जस्तो माला लगाउना साथ फुकालेर जुवाँको कुनै खालमा आशन जमाउन कुदिन्थ्यो ।

१०. दशैंतिहारको दक्षिणाको पैसाले आफूलाई मनपर्ने स्कूल झोला वा नोट–डायरी किन्न स्टेसनरी चहारिन्थ्यो, न कि महंगो ब्राण्डको सेलफोनको नयाँ मोडेलको खोजीमा मोबाइल ग्यालरी ।

(लेखक अध्ययनका सिलसिलामा हाल जापानको हिरोसिमा विश्वविद्यालयमा छन् ।)

कमेन्ट गर्नुहोस्