मधेशमा देखेको त्यो दीपावली

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

जनकपुरधाम – मिथिलामा आइतवार शुभ दीपावलीको पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

नेपालमा तिहार भनिएपनि मिथिलामा भने सुखराति, सुकराति, दीपावली, दीयाबाती, लक्ष्मीपूजा आदि नामले आदिकालदेखि मनाउँदै आएको एक महत्त्वपूर्ण पर्व हो । 


Advertisement

दीपावली पर्व मनाउनका लागि गाउँ घरदेखि शहरसम्म १ साता अघिदेखि नै तयारी गरिन्छ । खासमा सरसफाइ र स्वच्छताको समेत पर्व भएकाले घरका सम्पूर्ण सामग्रीलाई सफा गर्ने गरिन्छ ।

दीपावलीको तयारीकै क्रममा गाउँमा त भाडावर्तनदेखि चौकी, खाट, पलङ, केबाडी (ढोका) समेत पोखरीमा लगेर सफा गर्ने चलन रहँदै आएको थियो । पहिले–पहिले प्रायःजसो गाउँ घरमा फुस (पराल) कै घर हुन्थ्यो । त्यसैले कच्ची घरको रंगरोगनका लागि उत्कृष्ट माटो (चिक्नी माटो) खनेर ल्याउने काम गरिन्थ्यो ।


Advertisement

त्यसपछि पोखरीबाट समेत माटो खनेर ल्याउने काम गरिन्थ्यो । माटो ल्याउने काम घरका छोराछोरीको जिम्मेवारी हुन्थ्यो । कहाँबाट माटो ल्याउने भनेर पहिले नै खेत किटान गरिन्थ्यो अनि गाउँका सबै मानिस माटो काट्न जाने गर्थे । त्यही माटो काट्ने क्रममा जिभिन्न स्थानमा ढिस्कोमै पुरिएर कतिपय बालबालिकाको ज्यान समेत जाने गर्थ्यो । यस्तो दुःखद दुर्घटना समेत बेलाबेला हुने गर्थे ।

त्यसरी माटो खनेर ल्याइसकेपछि माटोले घरको पर्खाललाई छछार्ने (पोत्ने) काम गरिन्थ्यो । छछार्ने काम भने घरका आइमाईले गर्थे । त्यसपछि पर्खाल र भित्तामा शुभ दीपावली लेख्ने, शुभ लाभ लेख्ने, मिथिला चित्रकलाका विभिन्न चित्र बनाउने काम घरका आइमाईले गर्ने गर्थे । घर मात्र होइन, घर बाहिरको दलानदेखि सार्वजनिक स्थल, सडक आदिको समेत सरसफाइ गर्न गाउँका युवा एकसाथ लाग्ने गर्थे । विद्यालय, मन्दिर लगायत सार्वजनिक सरसफाइ गरेर चुनाले रंग्याउने काम समेत गरिन्थ्यो । 

गाउँमा अहिले जस्तो ग्यास सिलिन्डरमा खाना पकाउने चलन थिएन । गोबरको गुइठा, चिप्री, गोरहन्नी, पराल लगायत खाना पकाउनका लागि इन्धनको रुपमा प्रयोग हुन्थ्यो । ती इन्धनबाट उत्पन्न हुने खरानी जम्मा गरेर राखिन्थ्यो । दीपावली आउनुभन्दा १ हप्ता अघिदेखि नै ती खरानीको थुप्रोलाई बोकेर खेतमा लगेर पटाउने काम गरिन्थ्यो । 

प्रायःजसो सबै घरका मानिसले गाईगोरु, भैंसीमध्ये कुनै न कुनै पशुपालन गर्ने गर्थे । ती पशुको गोबर समेत थुपारिने गरिन्थ्यो । गोबरको थुप्रो समेत छिट्टीमा बोकेर मानिसले आ–आफ्ना खेतमा पटाउने गर्थे । खरानी र गोबर खेतमा मलको रुपमा काम आउँथ्यो ।

दीपावलीकै लागि खनेर ल्याएको चिक्नी माटोबाट आफैंले दियौरी (दियालो) बनाउने कम गर्थे । दियौरीमा बाल्ने सुती कपडाको बत्ती समेत आफैंले घरका आइमाईले बनाउने काम गर्थे । स–साना केटाकेटीका लागि तारमा कपडा बेरेर हुक्कालोली बनाउने काम गरिन्थ्यो । कतिपयले आफैं हुक्कालोली बनाउने काम गर्थे भने कतिपयले बजारबाट किनेर समेत ल्याउने गर्थे । हुक्कलोलीलाई मट्टीतेलमा दिनभरि डुबाएर राख्ने गरिन्थ्यो । साँझ हुनुभन्दा पहिले नै घरमा मिठो खानेकुरा बनाउने गरिन्थ्यो ।

अन्य दिनभन्दा पृथक दाल, भात, थुप्रै किसिमका तरकारी, तरुवा बनाइन्थे । साँझसम्म घरका महिला सदस्यले खानेकुरा पकाउनेदेखि विभिन्न किसिमको आकर्षक रंगोली समेत आ–आफ्नो घरभित्र, घरबाहिर बनाउने गर्थे ।

साँझ हुने बित्तिकै दिबारीमा तेल हालेर दीप जलाउने काम गरिन्थ्यो । दीप बाल्ने काममा परिवारका सबै सदस्य एकसाथ लाग्ने गर्थे । केटाकेटी त्यहीँ हुक्कालोलीमा आगो लगाएर हातले नचाउने गर्थे । ‘हुक्कालोली, हुक्कालोली चैल जो ओई टोली’ भन्दै केटाकेटी हुक्कालोली जलाएर नचाउने गर्थे । एक किसिमले सबै टोलटोलमा सामाजिक सद्भाव बनिरहोस् भन्ने उद्देश्यले हुक्का नचाउने काम गरिन्थ्यो । त्यसपछि किनेर ल्याइएको पटाका पड्काएर आतिशबाजी समेत हुन्थ्यो । नागिन पटाका त्यतिबेला धेरै चर्चित पटका हुन्थ्यो । प्रायःजसो सबैले पटाका पड्काउने गर्थे । फुल्झरी, चक्र, बम, रकेट लगायतले समेत आतिशबाजी हुने गर्थ्यो । 

त्यसपछि घरका वरिष्ठ सदस्य दीपावलीका लागि उक बनाउने काममा लाग्थे । पुरानो खरको उक बनाउने गरिन्थ्यो । खरौरीमा उत्पादन हुने एक विशेष किसिमको खर (पराल) खेतबाट काटेर ल्याउने गरिन्थ्यो । त्यसपछि सेतो रंगको सन्ठी (काठको डण्डी) लाई बीचमा राखेर जौर (परालकै डोरी) ले ५, ७ वा ९ वटा बन्धन (गाँठो) बनाएर उक बनाउने काम गर्थे । 

दीपावलीको राति पुरुष सदस्य उकमा आगो लगाएर घरदेखि बारी हुँदै गाउँसम्म उक घुमाउने काम गर्थे । दरिद्रता बाहिर जाओस्, अन्न, धन, लक्ष्मीभित्र आओस् भनेर भन्दै जाने र उक भाज्ने काम गर्ने गर्थे ।

ती सबै काम हुँदै गर्दा घरमा लक्ष्मीको पूजा समेत गर्ने गरिन्थ्यो । पूजा गरेर खानपिन हुन्थ्यो । मानिस रातभर जाग्राम गरेर बस्ने गर्थे । पहिले–पहिले खरकै घर धेरै जनाको हुँदा दीपावलीकै दिन घरमा आगलागीको घटना समेत हुने गर्थ्यो ।

दीपावलीको त्यो पुरानो मौलिकता अहिले भने कम हुँदै गएको छ । माटोको दीयोको साटो बिजुलीबाट बल्ने झिलिमिली बत्ती किनेर घरमा सजाउँछन् । उक र हुक्कालोली घुमाउने कार्यमा कमी आएको छ । घरघर गएर एकआपसमा शुभ दीपावली भनेर शुभकामना आदानप्रदान गर्ने काममा कमी आएको छ । शहरमा भने केराको बोट गाडेर पूजा गर्ने क्रम बढेको छ ।

गाउँमा पनि प्रायःजसोका पक्की घर बनेका छन् । त्यसैले अब पक्की घरकै रंगरोगन गरिन्छ । आतिशबाजी भने पहिलेभन्दा बढेको छ । जाग्राम बस्ने नाममा जुवातास खेल्ने र मदिरा सेवन गर्ने क्रम पनि बढेको छ । 
जे होस्, अँध्यारोविरुद्ध उज्यालोको अद्वितीय पर्व दीपावली नयाँ–नयाँ रुपमा निरन्तरता पाउँदै आएको छ । सबैको शुभ होस्, दीपावलीको शुभकामना !

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्