
गलकोट – आन्द्राको अर्बुदबाट पीडित बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका गणेश खत्रीको उपचारका लागि ४ लाख रुपैयाँ सहयोग जुटेको छ ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेका खत्रीको उपचारका लागि देश तथा विदेशमा सञ्चालित सहयोग संकलन अभियानबाट सो रकम जुटेको हो ।
संकलित रकम हस्तान्तरण गरिएको खत्रीको उपचारमा संलग्न नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल श्रीषले जानकारी दिए । पत्रकार श्रीष, काठेखोला गाउँपालिका–३ का वडासदस्य खुम भण्डारी, युवा व्यवसायी ओम केसीलगायतले विदेशमा रहेका आफन्तमार्फत सहयोग संकलन अभियान चलाएका हुन् ।
खत्रीको उपचारार्थ जापानबाट कलाकार सूर्य खड्का लगायतको पहलमा २ लाख रुपैयाँ, कोरियाबाट मनोज थापाको पहलमा ९० हजार रुपैयाँ र साउदी अरबबाट चित्र भण्डारीको पहलमा ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको अभियन्ता श्रीषले बताए ।
भारतको सिलोङमा काम गर्दै आएका खत्रीको उपचारमा ४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनकी पत्नी सावित्राले बताइन् । उनले सहयोगका लागि सबैलाई आग्रह गरेका छन् ।