एजेन्सी- अंडमान-निकोबारका एक व्यक्तिले समुद्रमा दुई खतरनाक तूफानको सामना गरे र करीब २८ दिनसम्म केही पनि नखाइ जीवित घर फर्केका छन् । तर उनका एक साथी भने बच्न सकेनन् । दुवै समुद्रमा नाउ र जहाजमा किरानाका सामान र खानेपानीको आपूर्ति गर्थे ।
४९ वर्षीय अमृत कुजूर बेहोशी र निकै कमजोर हालतमा आइतवार ओडिशाको चिल्का इलाकेस्थित खिरीसाही गाउँको तटमा टुटेफुटेको नाउका साथ भेटिए । उनलाई त्यस्तो अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उपचारपछि अहिले उनको अवस्था ठीक छ । उनलाई स्थानीय प्रशासनको सहयोगमा अंडमान-निकोबार पठाइएको छ ।
साथीको मृत्यु सामुन्ने देखेँ
४९ वर्षीय कुजूरले भने, 'म साथी दिव्यरंजनसँगै २८ सेप्टेम्बरमा शहीद द्वीपबाट हिन्द महासागरमा सामान बेच्न नाउमार्फत निस्किएको थिएँ । नाउमा करीब ५ लाखको सामान थियो । जसमा एक नयाँ स्कूटर पनि थियो । केही पर पुगेपछि हाम्रो नाउ तूफानमा फस्यो । तूफानको समयमा नाउभरि पानी भरियो । हामीले नाउको वजन कम गर्नका लागि केही सामन समुद्रमा पनि फाल्यौं । यसबीचमा हामीले बाटोमा देखिएका जहाजहरूसँग मदत पनि माग्यौं । तर काम लागेन ।'
कुजूरले थपे, 'तूफानका बीच पनि हामी म्यानमार पुगेका थियौं । त्यहाँ हामीले एक कम्पास, सानो नाउ र २६० लिटर तेल दिए ताकि हामी सुरक्षित अंडमान निकोबार पुग्न सकौं । तर फेरि हामीले दोस्रो तूफान सामना गर्नुपर्यो । यसबीच हामीले बाटो पनि बिरायौं । त्यसबेलासम्म नाउमा केही पनि सामान थिएन । पानी पनि बचेको थिएन । दिनदिनै कमजोर बनिरहेका थियौं । दिव्यरंजनले यस परिस्थितिलाई सहन सकेन । भोक र शरीरमा पानीको मात्रा कम भएकाले उसको मृत्यु भयो । मैले उसको शव दुई दिनसम्म नाउमै राखेँ । शव सड्न थालेपछि मैले पानीमा फालिदिएँ ।
आकाशको पानी पिएर जिउँदो रहेँ
कुजूरका अनुसार उनीहरूले बाँच्ने आश गुमाइसकेका थिए । उनले भने, 'आकाशको पानी तौलिया भिजाएर एकत्रित गर्यौं र पियौं । त्यसबेला हामीसँग खानेकुरा केही पनि थिएन ।'