
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ग्राण्डी अस्पताल पुगेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति सामान्य रहेको र केही समयपछि डिस्चार्ज हुने बताएका छन् ।
अध्यक्ष प्रचण्ड बिहीवार अपराह्न प्रधानमन्त्री ओलीलाई भेट्न ग्राण्डी अस्पताल पुगेका थिए ।
‘अहिले उहाँको स्वास्थ्यस्थिति सामान्य छ,’ अध्यक्ष प्रचण्डले भने, ‘भर्खरै डायलासिस भएको छ । उहाँ एकछिन रेस्टमा हुनुहुन्छ । केही समयपछि डिस्चार्ज गर्ने तयारी छ ।’
डायलासिस कहिलेसम्म गर्नुपर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘अहिले नै केही भन्न सकिन्न । भोलिसम्मको स्थिति हेरेर पुनः डायलासिस पनि गर्नुपर्ने हुनसक्छ । नियमित भन्ने अहिलेसम्म फिक्स छैन ।’
प्रचण्डले छिटो–छिटो समस्या देखा परेका कारण डायलासिस गर्ने निष्कर्षमा डाक्टर पुगेको बताए ।
‘समस्या छिटो–छिटो देखापर्यो, अहिले चाहिँ सामान्य छ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै प्रचण्डले भने, ‘केही समयको रेस्टपछि डिस्चार्ज हुने भन्ने छ । अरु त ठीकै छ ।’