माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
काठमाडौं- जापानी भाषामा 'मुरा' भनेको गाउँ हो । भलै जापानको मुरा र नेपाली गाउँबीच आकाश र जमिनको फरक होला । तर ऋण काढेर, परिवार र देशको माटोलाई चटक्कै छोडेर विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरूले कर्मथलोमै आफ्नो गाउँ देखे भने कस्तो महसूस गर्लान् ? विदेशमै नेपाली माटोको गन्ध पाउँदा के सोच्लान् ? जापानमै 'नेपाली गाउँ' भेट्दा कुन चाहिँ नेपाली खुशी नहोला र ?
जापानको टोकियो नजिकै सिञ्जुकोमा एक नेपाली युवाले नेपाली गाउँ बनाउने अभ्यास गरेका छन् । ती आँटिला युवा हुन् ३७ वर्षीय पुष्कर जंग थापा ।
जापानको राजधानी शहर टोकियोको छेउमा २ रोपनी क्षेत्रफलमा व्यवसाय गर्ने आँट जो कोहीले लिन सक्दैनन् । त्यसैले त उनलाई माथि 'आँटिला' शब्दावलि प्रयोग गरिएको छ । जापान अत्यन्तै महंगो शहर हो नेपालको तुलनामा । सरसर्ती हेर्दा र बुझ्दा महंगो शहरमा त्यति ठूलो क्षेत्रफलमा व्यवसाय गर्नु चानचुने कुरा होइन एउटा नेपालीको हकमा ।
जापानमा 'नेपाली गाउँ' बनाउन थालेका पुष्करले विदेशी भूमिमा रहेर नेपाल चिनाउन सक्दो गरेका रहेछन् ।
'देश छोडेर गएपछि देशभक्ति बढ्दो रहेछ । नेपालको माया अझै बढ्ने रहेछ,' ललितपुरको क्विन्स रेष्टुरेन्टमा गफिएका पुष्करले हाँस्दै भने, 'नेपालमा हुँदा देशको माया नलाग्ने भन्ने होइन । तर परदेशमा अत्ति लाग्दो रहेछ । त्यसैले म देश चिनाउन लाग्दैछु ।'
झट्ट हेर्दा उनले व्यवसाय गरेका हुन् । तर गम्भीर रूपले त्यसलाई बुझ्नुभयो भने उनले जापानमा नेपाली माटोको सुगन्ध फैलाइरहेका छन् । नेपाली माटो चिनाइरहेका छन् ।
जापानमा रेष्टुरेन्ट खोल्नु ठूलो काम होइन, धेरैले गरेका छन् तर त्यहाँबाटै नेपाल चिनाउनु सानो हो र ?
'सोलमारी रेष्टुरेन्ट' पुष्करको मुख्य देखिने व्यवसाय हो । रेष्टुरेन्टभित्र एउटा हल छ- नेपाली मुरा । यसको अर्थ 'नेपाली गाउँ' भन्ने हुन्छ ।
'नेपाली गाउँ' ले हलको मात्रै प्रतिनिधित्व गर्दैन । यसले पुष्करको सिंगो व्यवसाय, सपना र संस्कृतिको झल्को दिलाउँछ । गाउँमा पाइने प्राय: वस्तु सोलमारीमा पाइन्छ । तपाईंले नेपालमा पनि जनै, सुपारी खोज्न धेरै ठाउँ चहार्नुपर्छ । अझ राजधानीमा हुनुहुन्छ भने असन, इन्द्रचोक कुद्नपर्ने बाध्यता हुन सक्छ । तर पुष्करले जापानी भूमिमै नेपाली शुभकार्यमा प्रयोग हुने जनै सुपारीदेखि अन्तिम संस्कारका लागि चाहिने सामग्रीसमेत बेच्छन् ।
कसरी भयो शुरूआत?
पढ्नका लागि पुष्कर जापान जाँदा त्यहाँ नेपाली रेष्टुरेन्टहरू निकै कम थिए । प्राय: इन्डियन मात्रै थिए । कलेजका शिक्षकहरूलाई फकाउन त्यहाँ रहेका विद्यार्थीहरूले आफ्नै देशको परिकारहरू खुवाउँथे । पुष्कर र उनका साथीहरूले पनि त्यस्तै गर्ने भए । उनीहरूले आफ्ना 'सेन्सेइ' अर्थात् शिक्षकलाई नेपाली खाना खुवाउन रेष्टुरेन्ट लगे । तर नेपाली रेष्टुरेन्टको अभावमा उनीहरू इन्डियन रेष्टुरेन्टमा पुग्थे ।
अतीत सुनाउँदै उनी भन्छन्- बल्लबल्ल नेपाली खाना खान लग्यो, त्यहाँ इन्डियन झण्डा हुन्थ्यो ।
रेष्टुरेन्टको भित्तादेखि मेनुको अघिपछि इन्डियाको झण्डा देख्दा उनको मन कटक्क खान्थ्यो । बहुत खिन्नता महसूस हुन्थ्यो । अनि सरले पनि सोध्थे रे- नेपाली खाना खुवाउन ल्याएको भन्या होइन, खै त नेपाली झण्डा ?
अनि उनले नेपाल र भारतबीच कल्चर मिल्छ, यो नेपाली रेष्टुरेन्ट नै हो भनेर टार्थे ।
त्यो बेलादेखि नै उनलाई नेपाली रेष्टुरेन्ट खोल्नुपर्छ र निकट भविष्यमै खोल्छु भन्ने आँट पलायो ।
उनीसँग रेष्टुरेन्टमा काम गरेको अनुभव पनि थियो । अलिअलि पैसा पनि जम्मा गरेका थिए ।
शुरूआती दिनबारे उनी खुल्छन्, 'शुरूमा हाम्रो उद्देश्य नेपाली रेष्टुरेन्टमात्रै थियो । तर हामीले ठूलो ठाउँ पायौं । त्यसपछि रिस्क लिनैपर्यो ।'
उनले ठूलो रिस्क लिनुमा उतै रहेका भिनाजुले सहयोग गरेका थिए ।
*****
'सुपा' अर्थात् सुपरमार्केट । पुष्करको व्यवसायलाई 'सुपा'को रूपमा पनि लिन सकिन्छ । उनले सोलमारीमा नेपाली गुन्द्रुक, पीठो, जनैसुपारी, दशैंतिहारका सामग्री, अचारसमेत बिक्रीका लागि राखेका छन् ।
उनले त्यहाँ नेपाली किताबहरू पनि सजाएर राखेका छन् । पुष्कर साहित्यमा विशेष रुचि राख्ने भएकाले नेपाली साहित्यलाई जापानसम्म पुर्याएका छन् । भन्छन्- यहाँ बस्ने नेपालीहरूमा पुस्तक पढ्ने बानीको विकासका लागि आकर्षक स्किम पनि दिएको छु ।
स्किम कस्तो रहेछ भने तपाईंले त्यहाँ शुरूमा एउटा पुस्तक किन्नुभयो । त्यो पढिसकेर फिर्ता गर्नुभयो भने ५० प्रतिशत रिटर्न पाउनुहुन्छ र अर्को पचास प्रतिशत थपेर नयाँ किताब पाउन सक्नुहुन्छ । तर त्यसका पनि केही शर्त रहेछन् ।
पुष्कर शर्त भन्छन्, 'किताब च्यातिएको हुनुभएन र केरकार गर्नु भएन ।'
अहिलेसम्म पढ्ने बानी नलागेकाहरूले पनि रेष्टुरेन्टमा पुस्तक सजाएको देखेर किनेर लाने गरेको उनले सुनाए ।
जापानका अनुभव र संघर्ष सुनाउने क्रममा उनले आफूले गरेका नयाँ प्रयोगहरू खुलस्त पारे ।
उनी नेपाल रहँदा लोकगीत सुन्दैनथे रे । तर अहिले उनी लोकपारखी भएका छन् । त्यसैले त उनको रेष्टुरेन्टका भित्तामा झुण्ड्याइएका टीभीहरूमा नेपाली लोकगीत घन्किन्छन्, जसले त्यहाँ आउने ग्राहकहरूलाई नेपालप्रतिको माया अझ बढाउँछ । अनि उनीहरूले नेपाली संस्कृतिलाई मनमा राखिरहनेछन् ।
कहिल्यै लोकगीत नसुन्ने पुष्करले जापान रहँदा नेपालबाट लोकगीतका सीडी मगाएर हेरेको समेत सुनाए । भन्छन्, 'जापान गएपछि मैले लोकगीतका सीडीहरू मगाएर सुन्न थालेँ । अनि भाइहरूले अचम्म मान्न थाले- तपाईं पनि लोकगीत सुन्न थाल्नुभयो ?'
नेपालमा आन्दोलन हुँदा मन दुख्छ
ललितपुर लुभुका पुष्कर प्लस टू सकेपछि १७ वर्षअघि पढ्नकै लागि जापान हानिए । २ वर्षमात्र बस्छु भनेर गएका उनी समयअवधिमा फर्केनन् । बरू उतै जमे । उतै रमाए ।
उनी जापानका नेपाली व्यवसायी हुन् । तर नेपाली नागरिकता र राहदानी त्यागेका छैनन् । उनलाई पछिसम्म नेपाली भएर नै बाँच्नु छ । एक हिसाबले भन्ने हो भने उनी जापानका रैथाने जस्तै भइसके । त्यहाँका भाषा, नियम-कानून, अनुशासनदेखि संस्कारसम्मलाई उनले छामेका छन्, नजिकबाट नियालेका छन् । तर पनि नेपाललाई दुख्दा उनलाई पनि दुख्छ । नेपाल रुँदा सँगै आँसु बगाउँछन् ।
नेपालमा आन्दोलन हुन्छ, उनी दु:खी हुन्छन् । नेपालमा भूकम्प जाँदा उनको मनमा पहिरो जान्छ । नेपाल सम्झन्छन् र घोत्लिन्छन् । नेपाल बन्द हुन्छ, उनको 'मूड' पनि बन्द हुन्छ । जापान रहँदा नेपालप्रतिको माया जागृत गराउँछन् उनी, 'नेपाल बन्द हुँदा जापानमा हामीलाई त्यस्तो असर केही गर्दैन । व्यवसायलाई ह्याम्पर गर्दैन । तर पनि कस्तो-कस्तो हुन्छ । छाती पोल्छ ।'
जापानमा नेपाली विद्यालय
नेपाली विद्यार्थीहरूका लागि लक्षित गरेर पुष्करको टीमले जापानमा नेपाली विद्यालय पनि सञ्चालन गरेका छन् ।
नेपाली भाषा संस्कृतिको जगेर्ना गर्नका लागि 'एभरेस्ट इन्टरनेसनल स्कूल' नाममा सञ्चालित नेपाली विद्यालयमा अहिले २५० जनाको हाराहारीमा विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । विद्यालयमा नेपाली मात्रै नभई विदेशी विद्यार्थीहरू पनि अध्ययन गरिरहेका उनले बताए ।
विद्यालयमा नेपाली तथा विदेशी बच्चाहरूले पनि नेपाली गीतमै डान्स गर्ने, गाउने गरेका उनले सुनाए ।
३२ जना शिक्षक रहेको स्कूलले खेलकुददेखि भाषामा समेत जापानी विद्यालयहरूसँग प्रतिस्पर्धा गरिरहेको समेत उनले बताए ।
एकै ठाउँमा ट्राभल एजेन्सीदेखि सैलुनसम्म
उनको रेष्टुरेन्ट हातालाई कतिपयले 'जापानभित्रको नेपाल' पनि भन्ने गर्छन् ।
त्यहाँ एकपटक पुग्नेहरूले भन्छन् रे- नेपालको झल्को दियो, नेपालजस्तै लाग्यो । रेष्टुरेन्टका भित्ताहरूमा नेपाली झण्डा टाँगिएका छन् । भित्तामा रहेको टीभीले नेपाली गीत घन्काउँछ । ३५-४० जना नेपाली आफ्नै काममा व्यस्त देखिन्छन् । नेपाली खाना विथ गुन्द्रुक अनि प्राय: अत्यावश्यक सामग्री सबै नेपाली पाइने भएपछि त्यसलाई 'जापानभित्रको नेपाल' नभनिरहन सकिँदैन ।
नाम सोलमारी रेष्टुरेन्ट भएपनि त्यहाँभित्र सैलुन पनि छ । सैलुनमा नेपाली नै छन् । 'नेपालबाट सैलुनमा काम गर्न सक्ने दाजुभाइ भित्र्याएर आफ्नोपन दिलाउन कोशिश गरेका छौं,' उनले भने ।
यसो हुँदा नेपालीहरूले ढुक्कसँग आफूले भनेअनुसार केही सस्तो मूल्यमा कपाल काट्न सक्ने उनको भनाइ छ ।
सैलुनमात्रै होइन, त्यसभित्र ट्राभल एजेन्सी पनि छ, जहाँ नेपालीहरूले घर आउनजानका लागि टिकट काट्न सक्नेछन् ।
जापान बसेर नेपाल चिनाइरहेका पुष्करले अन्तिममा भने- आफू सफल हुनुमा सबैभन्दा ठूलो हात आफ्नी श्रीमती कामना भण्डारी थापा र त्यहीँ रहेका नेपाली दाजुभाइको छ ।
फोटो : सुरत श्रेष्ठ
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...