उम्मेदवार छान्न बसेको कांग्रेस पदाधिकारी बैठकमा सरकारको आलोचना

फाइल फोटो

काठमाडौँ –उम्मेदवार छान्न बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रदेशप्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयलाई ‘अशोभनीय’ रहेको टिप्पणी गरेको छ ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक २१ गते मनोनयन तोकेको छ ।


Advertisement

विवादका कारण अहिलेसम्म कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

मंगलवार बसेको पदाधिकारी बैठकले उम्मेदवारी टुंग्याउने अपेक्षा गरिएको थियो ।  

तर बैठकमा सरकारको निर्णयलाई अतार्किक एवं कम्युनिस्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रूपमा टिप्पणी गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको टिप्पणी गरेका हुन् ।

‘सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छदाछदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ ।’

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा कांग्रेसले लिएको र यो नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको ठहर आजको बैठकले गरेको पौडेलले बताए ।  

कमेन्ट गर्नुहोस्