औद्योगिक क्रान्तिको तेस्रो लहरपछिको मजदूर वर्गमाथि संकट

लोकनारायण सुवेदी
लोकनारायण सुवेदी

सुवेदी ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

विश्वमा १८ शताब्दीको उत्तराद्र्धमा ब्रिटेनमा अनेक अभूतपूर्व परिवर्तनहरू भए, जसबाट आधुनिक आर्थिक समृद्धिको आरम्भ भयो ।

वर्षौंपछि त्यसलाई ‘औद्योगिक क्रान्ति’कोे संंंज्ञा दिइएको थियो । त्यो नाम दिने काम अर्नाल्ड टायन्बी (१८५२–८३०) ले गरेका थिए । 


Advertisement

यी व्यक्तित्व यसै नामबाट चर्चित १ जना इतिहासकारका काका थिए । तिनको देहावसानपछि १८८४ मा ‘लेक्चर्स अन दी इन्डस्ट्रीयल रिभोल्यूसन अफ दी एट्टिन्थ सेन्चुरी’ भन्ने किताब बेलायतमा छापियो । जसले ‘औद्योगिक क्रान्ति’ शब्दलाई लोकप्रिय तुल्यायो ।

वास्तवमा औद्योगिक क्रान्ति कतिपय परस्पर सम्वद्ध प्रविधिको परिवर्तनको परिणाम थियो । ती परिवर्तन मूलतः ३ क्षेत्रमा देखिएका थिए । सर्वप्रथम मानवीय कौशलको स्थानमा यान्त्रिक उपायहरू प्रयोगमा ल्याइयो । दोस्रो, मानिस र जनावरको शक्तिको स्थानमा बाफ, कोइला आदिको उपयोग बढीभन्दा बढी हुन थाल्यो । अन्त्यमा तेस्रो ती दुवैको परिणामस्वरुप धातु तथा रसायनसँग जोडिएका उद्योगमा कच्चा पदार्थ प्राप्त गर्ने  र तिनबाट हुने उत्पादनमा अभूतपूर्व परिवर्तन देखापर्न थाल्यो । डीएस ल्याण्ड्स्ले सन् १९६९ मा प्रकाशित पुस्तक ‘दी अण्डबाउण्ड प्रोमिथियस’मा माथि उल्लिखित परिघटनाहरूको विस्तारपूर्वक उल्लेख गरेका छन् ।


Advertisement

पहिलो औद्योगिक क्रान्तिले युगौंदेखि चल्दै आइरहेको उत्पादन व्यवस्थामा आमूल परिवर्तन गरिदियो । पहिलो पटक कारखानाको व्यवस्था अस्तित्वमा आयो । त्यसले गर्दा शहरको चरित्र बदलियो । गाउँहरूबाट सामन्ती व्यवस्थाको अवसानका कारण ठूलो संख्यामा मजदूर शहरतर्पm धकेलिए । भनिरहनु नपर्ला कि जहाँ केही मानिसहरू (मजदूर) त तत्कालै लाभान्वित पनि भए तर धेरै मानिस शहरमा भौंतारिएर रहनुपर्ने स्थिति कायम रह्यो । गाउँघरका हातले चलाउने चर्खालाई कारखानाका कार्टराइट पावर लुमहरूले विस्थापित गरिदिए ।

पहिलो औद्योगिक क्रान्ति भएको झण्डै १ सय वर्षपछि बल्ल विश्वमा विद्युतको प्रचलन आयो । त्यसले प्रकाश मात्र दिएन, अझ बढी कारखानाको सञ्चालनका लागि नयाँ ऊर्जा प्रदान गर्‍यो र उत्पादनमा ठूलो वृद्धि भयो । अनि मोटर गाडीहरू अस्तित्वमा आए, जसले बग्गीहरूलाई प्रायः पूरै मात्रमा विस्थापित गरिदिए । इस्पातको उत्पादन ठूलो स्तर र स्केलमा हुन थाल्यो ।

हवाई जहाज पनि अस्तित्वमा आयो भने टेलिफोनले सञ्चार क्षेत्रमा ठूलो क्रान्ति ल्यायो । त्यसभन्दा पहिला टेलिग्राफले विश्वका विभिन्न भागलाई एकअर्कासँग जोडिदिएको थियो ।

पछिल्लो समयमा औद्योगिक क्रान्तिले तेस्रो लहरमा प्रवेश गरेको मानिएको छ । बीसौं शताब्दीको आखिरी दशकको कालखण्डमा कम्प्यूटर तथा सूचना र सञ्चार क्रान्तिसँग सम्बन्धित प्रविधिमा तीब्ररुपले भइरहेका परिवर्तनले धेरै कुरामा अभूतपूर्व फेरबदल ल्याइदिएको छ । टेलिग्राफको साथै पुराना टाइपराईटर तथा छापाखाना अब अतीतको गर्भमा समाहित भइसके वा हुँदै गएका छन् । ल्याण्डलाईन फोनको ठाउँमा मोबाइल फोन आइसकेको छ । अहिले त ‘चालक विनाका गाडी गुड्ने’, ‘मानवरहित ड्रोन विमान उड्ने’ जस्ता प्रविधिका साथै यस्ता यन्त्रहरू विकास भएका छन्, जसले सयौं भाषालाई एकैछिनमा अन्य भाषामा अनुवाद गर्न सक्ने प्रविधि–क्षमता पनि आइसकेको छ ।

हुँदाहुँदा नयाँ मोबाइलको पछिल्लो प्रविधिले बिरामी र डाक्टर तथा विद्यार्थी र शिक्षक बीचको दूरी समाप्त पारिदिन थालेको छ । आउँदा वर्षमा रोजगारका अवसर र आम जनसाधारणमाथि यसको के असर पर्ने हो तत्काल केही भन्न सकिने स्थिति छैन । आज पोस्ट अफिस वा हुलाकको अवस्थालाई मात्र हेर्ने हो भने पनि त्यहाँ २ दशकयता यसको अवसान कति तीब्र गतिमा हुँदै आएको छ प्रष्ट देख्न सकिन्छ ।

निश्चय नै पहिलो र दोस्रो औद्योगिक क्रान्तिकालमा जस्तै तेस्रो औद्योगिक लहरको बेलामा पनि मानिसको जीवनस्तर माथि उठ्ने छ र मानव कल्याणमा वृद्धि हुनेछ तर यस अन्तरिम कालमा पनि समाजका धेरै–धेरै मानिसले बदलिएको परिस्थिति अनुरुप आफूलाई ढाल्ने क्रममा धेरै कठिनाइको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । अक्सफोर्ड विश्वविद्यालयका २ प्रमुख हस्ती अर्थशास्त्री कार्ल बेनेडिक्ट र माईकल आसबार्नले ७०० भन्दा बढी पेशा र व्यवसायको विश्लेषण गरेर के नतिजामा पुगेका छन् भने अमेरिकामा ४७ प्रतिशत पेशा व्यवसाय आउँदो समयमा खतरामा पर्न सक्छन् । किनभने त्यहाँ यन्त्रको बढी मात्रामा उपयोग बढ्नाले मजदूरको माग तीब्ररुपमा घट्न सक्छ ।

समाजमा दक्ष र सम्पन्न मजदूर र समाजका अन्य मजदूरबीच ठूलो अलगावको स्थिति उत्पन्न हुन सक्छ । पूँजीपति र श्रमजीवीबीच अझ ठूलो विषमताको खाडल पर्न सक्छ । साथै क्षमताभन्दा कम रोजगारको संख्या बढ्न सक्छ । जसबाट लगानीमाथि खराब असर पर्न सक्छ । यो विकसित प्रविधिको असर व्यापारिक क्षेत्रमा पनि परेको देखिँदैछ । हालसम्म के मानिँदै आएको थियो भने विदेश व्यापारको माध्यमबाट गरीब देश आफ्नो निर्यात बढाएर विकासको दिशामा अघि बढ्न सक्छन् तर विकसित प्रविधिले ल्याएको परिवर्तनका कारण विनिर्माण कार्य स्वचालित हुँदै गइरहेका छन् र श्रमको माग घट्दै गइरहेको छ ।

कतिपय अर्थशास्त्रीले यसलाई समय पूर्वको ‘अऔद्योगिकरण’ अर्थात् ‘डि–इन्डस्ट्रियलाइजेसन’ भन्ने संज्ञा पनि दिएका छन् । यसरी विकासशील देशका सरकार गाउँबाट शहरतर्पm पलायन भइरहेका मजदूरलाई विनिर्माणको क्षेत्रमा लगाउन नसक्ने स्थिति बन्दै गएको प्रष्ट छ ।

दोस्रो विश्व युद्धपछि युरोप र अमेरिकामा तीब्र समृद्धिको जुन कालखण्ड आरम्भ भएको थियो त्यो १९७० दशक आउँदा आउँदै रोकियो । १९९० को दशकयता त जापानमा पनि आर्थिक जडताको आरम्भ हुन पुग्यो । अन्य यूरोपेली देशहरू तथा अमेरिकामा पनि उतारचढाव देखियो ।

विकसित देशहरू २००८ मा आरम्भ भएको वित्तीय अतिमन्दीको कालखण्डबाट १ दशक बित्न लाग्दा पनि राम्रोसँग अझै उत्रिन सकेका छैनन् । ब्रिटेन र अमेरिकामा मजदूर वर्गमाथि ठूलो बोझ बढिरहेको छ । १९९१ र २०१२ का बीच ब्रिटेनमा १.५ प्रतिशत तथा अमेरिकामा मात्र १ प्रतिशत प्रतिवर्षका दरले वास्तविक मजदूरी बढेको छ । आर्थिक समृद्धि दरको तुलनामा मजदूरीको यो वृद्धि धेरै नै कम रहेको छ ।

जर्मनीको हालत पनि निकै नै खराब छ । वर्ष १९९२ र २०१२ का बीच वास्तविक मजदूरीमा मात्र ०.६ प्रतिशत वार्षिक वृद्धि भइरहेको छ । इटली र जापानमा त यस कालखण्डमा खास कुनै वृद्धि नै भएको देखिएको छैन । आर्थिक इतिहासकार के बताउँछन् भने पहिलो र दोस्रो औद्योगिक क्रान्ति पछाडि पनि मजदूर वर्गमाथि सबैभन्दा बढी बोझ पर्‍यो । मजदूर वर्गको जीवन स्तरमा कुनै सुधार पनि आएन । यही अवस्था अहिलेको तेस्रो औद्योगिकरणको कालखण्डमा पनि देखिँदैछ ।

अमेरिकामा विनिर्माण उद्योग अन्यत्र जाने तथा सेवा क्षेत्रको प्रमुखता बढ्नाले पनि अमेरिकी मजदूर वर्गको स्थितिमा कुनै सुधार देखिएको छैन । अर्थशास्त्री रबर्ट सोलोको के मान्यता छ भने सूचना र सञ्चारको क्षेत्रमा आएका परिवर्तनले दोस्रो औद्योगिक क्रान्तिपछि विद्युतीकरण, मोटर गाडीको आगमन तथा बेतारको सञ्चारले जत्तिको परिवर्तन गर्‍यो, त्यत्तिको परिवर्तन अहिलेको तेस्रो औद्योगिकीकरणको तेस्रो चरणमा आइरहेको छैन । कतिपय विज्ञको भनाइ अनुसार नयाँ प्रविधिले ल्याउने परिवर्तनको असर उत्पादकता र मजदूरी दरमा देखिनका लागि धेरै लामो समय लाग्न सक्ने छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा परिवर्तन देखिन थालेको छ ।

अनलाइन पाठ्यक्रम क्षेत्रमा ठूलो परिवर्तन देखिन थालेको छ । १ जना प्रोफेसरले धरै व्यक्तिको काम गर्न सक्ने स्थिति विकसित भएको छ । उसले अनलाइन कोर्स विकसित गरेर अमेरिकामा बसेर देश–विदेशका विद्यार्थीलाई शिक्षा दिन सक्छन् । यसरी नै चिकित्सा क्षेत्रमा डाक्टरले एकै ठाउँमा बसेर बिरामीसँग कुराकानी गरेर उचित उपचारको विधि र उपाय बताउन र उपचार गर्न सक्छन् । यस पूरा प्रक्रियामा पहिलाको अपेक्षा धेरै कम खर्च हुने पनि देखिएको छ । टाढा बसेका डाक्टरले गम्भीर प्रकृतिका बिमारीलाई पनि सरसल्लाह र उपचारका उपाय बताएर उपचार गरिरहेका छन् ।

विकसित देशमा विकसित प्रविधिको क्षेत्रमा भइरहेका परिवर्तनले सबैभन्दा बढी मजदूरहरू प्रभावित भएका छन् । उनीहरूको पुरानो पेशा समाप्त हुँदै गइरहेका छन् । त्यसले गर्दा त्यहाँका सरकारले त्यस्ता मजदूरलाई उपयुक्त प्रशिक्षण दिएर अन्य उपयुक्त काममा लगाउनुपर्ने दायित्व छ तर सरकारले यो उत्तरदायित्वको निर्वाह सायदै गर्ने गर्छन् । जसले गर्दा मजदूरका अगाडि निरन्तर बेरोजगारीको वृद्धि भइरहन्छ । जस्तो कि चालकविहीन रुपमा चल्ने गाडीको निर्माणले लाखौंलाख चालक बेरोजगार हुने र त्यसरी विस्थापित भएका चालकलाई अन्यत्र लगाउन त्यति उच्च शिक्षा र लामो प्रशिक्षणको आवश्यकता नपर्ने भएकाले पनि उनीहरू विस्थापित भएर सडकमा आउँदा अन्यत्र सहजै लाग्न सक्ने स्थिति पनि रहेको हुँदैन ।

एक सयम थियो जहाँ बग्गीहरूको खुब प्रचलन थियो तर जीप र बसको चलन आएपछि बग्गी विस्थापित भए । बग्गी चलाउने र घोडाको हेरचाह गर्ने मानिस बेरोजगार बने भने गाडी चालकको माग बढ्यो । प्रस्ट छ कि प्रविधिको विकास र परिवर्तनबाट सबैभन्दा पहिला मजदूर नै प्रभावित हुने गर्छन् । उनीहरूले बेरोजगारी तथा आयमा कटौतीको सामना गर्नुपर्छ । बितेको ३० वर्षको कालखण्डलाई केलाउने हो भने तेस्रो औद्योगिक क्रान्तिको प्रविधिको विकासको क्रममा मजदूर वर्ग नै सबैभन्दा बढी प्रभावित भएको देखिन्छ ।

विकसित देशहरू हुन् वा विकासशील देश सर्वत्र नै मजदूरलाई प्राप्त हुने सकल घरेलु उत्पादनको हिस्सेदारी घटेको छ । एउटा आकलनका अनुसार १९८० को दशकको आरम्भिक वर्षहरूदेखि लिएर हालसम्म मजदूर वर्गको हिस्सेदारीमा झण्डै ५ प्रतिशत घटेको छ । २००० देखि २०११ को बीचमा अमेरिकी व्यूरो अफ लेबर स्ट्याटिस्टिकका अनुसार प्रतिमजदूर वास्तविक उत्पादन २.५  प्रतिशत प्रतिवर्षका दरले बढेको छ जब कि वास्तविक मजदूरीमा  प्रतिवर्ष वृद्धि भने १ प्रतिशतभन्दा पनि कम भएको छ । यसरी सकल घरेलु उत्पादनको वितरण स्पष्टरुपमा पूँजीको पक्षमा रहन्छ । थोमस पिकेट्टीका अनुसार बितेको १ सय वर्षको कालखण्डमा असमानताको चरित्रमा परिवर्तन आएको छ । आजका धनाढ्य मानिस पनि उत्पादनमा सक्रिय सहभागी हुने गर्छन् र मजदूर वर्गले पाउने एउटा ठूलो हिस्सा तिनकै झोलीमा पर्दछ ।

ध्यानपूर्वक हेर्ने हो भने असमानताको चरित्र आज बदलिँदै आएको छ । आज मजदूर वर्गलाई मिल्ने उत्पादनको हिस्सा एकदमै धेरै कम भएको या हुँदै गएको छ । १९९० को दशकयतादेखि दक्ष मजदूर वर्गको माग त बढेको छ तर कम प्रशिक्षित मजदूरको माग घट्दै गएको छ । यता केही वर्षदेखि शारीरिक काम गर्ने मजदूरको माग बढेको छ । कार्यालयमा सरसफाई, ट्रक सञ्चालन जस्ता आदि क्षेत्रमा यस्ता मजदूरको माग एक हदसम्म बढेको छ । निश्चय नै कम दक्षता, कम उत्पादकता र कम मजदूरी भएका मजदूरको माग बढेको छ तर साथै यस क्षेत्रमा मजदूरबीच प्रतिद्वन्दीता बढ्न गएकाले मजदूरीमा अत्यन्तै कम वृद्धि भएको देखिएको छ । नयाँ–नयाँ उन्नत प्रविधिको विकास र तिनको विस्तार तथा उपयोगका कारण प्रशिक्षित मजदूरको संख्यामा तीब्र गतिले बढ्दै गएको छ । तिनलाई विकसित स्वचालित प्रविधिका कारण आफ्नो कामबाट बाहिर धकेलिँदै लगेको छ ।

यसरी एकातिर मजदूरबीचमा नै प्रतिद्वन्दिता भइरहेको छ भने उनीहरूले नयाँ विकसित स्वचालित यन्त्रहरूसँग (प्रविधिसँग) पनि प्रतिस्पर्धा गर्नुपरिरहेको छ । यसरी विकसित होस् वा विकासशील देश हरेक देशका मजदूरहरूको उत्पादनमा हिस्सेदारी आज घट्दै गएको छ । यसले गर्दा प्रविधि र मानव जनशक्तिबीच बेमल एकातिर छ भने उत्पादनको सामाजिकता र पूँजीको केन्द्रीकरणबाट हुने तीब्र शोषण अर्कोतिर छ । यसको उचित व्यवस्थापन विना समस्याको हल हुने देखिँदैन । यसको हल कसरी गर्ने आजको विश्वको ठूलो चुनौती बनेको छ ।

कमेन्ट गर्नुहोस्