देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

काठमाडौं – कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन शुक्रवार बिहानैदेखि उपत्यकाका ४ नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु शुक्रवार जागा हुने धार्मिक विश्वासका साथ पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो । 


Advertisement

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचंखुनारायण र विशंखुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ४ नारायण भनिन्छ । ४ नारायणको शुक्रवार एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ टाढाटाढाका भक्तजन पनि सवारीसाधन रिजर्भ गरेर ४ नारायणको पूजाआजा एवं दर्शन गर्न आउँछन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुंगामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले बताए ।

मन्दिरमा शुक्रवार ५ लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ७ः३० बजेसम्म २ लाखभन्दा बढी भक्तजनले दर्शन गरेको उनले बताए । बिहान ७ः३० बजेदेखि ८ः१५ सम्म बूढानीलकण्ठको विशेष पूजाका लागि दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ ।

बूढानीलकण्ठमा शुक्रवारदेखि कात्तिक शुक्ल पूर्णिमा (कात्तिक २६ गते) सम्म विशेष मेला लागेको छ  । यहाँ जलकुण्डमाथि भगवान् नारायण बिराजमान भएको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिक तथा बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ । आषाढ शुक्ल एकादशीका दिन घरको माठमा रोपी पूजा शुरू गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ ।

शुक्रवार बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । शुक्रवार चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरू गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेर चतुर्मास व्रत समाप्त गरिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

यसैगरी नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको पुजारी शिवप्रसाद पौडेलले बताए । यसैगरी शुक्रवारै घरघरमा तुलसीको विशेष पूजा गरिन्छ । यस अवसरमा काठमाडौंको नागार्जुन नगरपालिकाले इचंगुनारायण मन्दिरमा विशेष मेला लाग्ने भन्दै नगरभर सार्वजनिक बिदा दिएको छ ।

कमेन्ट गर्नुहोस्