एडवर्ड स्नोडेनको ‘पर्मानेन्ट रेकर्ड’ : अमेरिकी साम्राज्यलाई चुनौती

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

अमेरिकाको जासूसी समुदाय विशेषगरी नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) ले कसरी आम मानिसको निजी जीवनको निगरानी गर्छ भन्ने कुरा सन् २०१३ मा उजागर गरेर अमेरिकी साम्राज्यको तारो बनेका पात्र हुन् एडवर्ड स्नोडेन ।

हाल रुसमा निर्वासित जीवन बिताइरहेका तिनै स्नोडेनको संस्मरणात्मक कृति पर्मानेन्ट रेकर्ड दुई महिनाअघि सार्वजनिक भएको छ । यस कृतिमा उनले आफ्नो बाल्यकाल, किशोरकाल र एनएसएको कर्तूत पर्दाफास गरेको समयदेखि रुसमा बिताएको निर्वासित जीवनसम्मको बेलिविस्तार लगाएका छन् । अमेरिकी साम्राज्यको कुकृत्यलाई संसारसमक्ष ल्याउने सूचनादाता (ह्विसलब्लोअर) स्नोडेनको साहस अतुल्य छ र यस पुस्तकले त्यसलाई निकै अब्बल तरिकाले प्रस्तुत गरेको छ । 


Advertisement

अमेरिकी सरकारले स्नोडेनबाट जासूसी ऐन (एस्पियोनाज याक्ट) को उल्लंघन भएको आरोप लगाएको छ । उनले एनएसएको अतिगोप्य निगरानी कार्यक्रमका विस्तृत विवरण पत्रकारहरूलाई उपलब्ध गराएकाले उनलाई अभियुक्त बनाइएको अमेरिकी सरकारको कथन छ । जासूसी समुदायका मानिसहरू उनलाई देशद्रोही भन्छन् । अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले पनि स्नोडेनलाई जासूस र देशलाई धोका दिने व्यक्तिका रूपमा चित्रण गर्दै उनलाई मृत्युदण्ड दिइने भन्दै सन् २०१४ मा ट्वीट गरेका थिए । 

अमेरिकी सरकारले देशद्रोही भने पनि स्नोडेनका समर्थकहरूले एनएसएबाट संसारभरि डेटा संकलन गरेर निजताको हनन भएको कुरा खुलासा गरेर स्नोडेनले पारदर्शितामा अतुल्य योगदान गरेको बताएका छन् । उनीहरूको यो दाबीमा दम छ । 

‘अमेरिकाले गर्ने जासूसीको इतिहासमा भएको सबभन्दा उल्लेखनीय परिवर्तनमा म पनि सहभागी थिएँ । व्यक्तिहरूलाई तारो बनाएर गरिने निगरानी परिवर्तित भएर पूरै जनसंख्याको आम निगरानी गर्न थालिएको छ । एउटा सरकारले संसारभरिको विद्युतीय सञ्चार संकलन गरेर त्यसलाई वर्षौंसम्म भण्डारण गर्ने अनि इच्छा लागेको बेलामा त्यसलाई खोज्ने प्रविधि बनाउन मैले पनि सहयोग गरेको थिएँ,’ स्नोडेन लेख्छन् । त्यसरी डेटा भण्डारण गर्दा कुनै पनि व्यक्तिको रेकर्ड स्थायी रहिरहन्छ र सधैं टाउकोमाथिको तरबार झुण्डिए जसरी झुण्डिरहन्छ । 

एनएसएले मानिसहरूमाथि निगरानी किन गर्न थाल्यो भन्ने विषयको इतिहास स्नोडेनले खोतलेका छन् । सन् २००१ को सेप्टेम्बरमा अल–कायदा नामक आतंकवादी संगठनले अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा आक्रमण गरेपछि अमेरिकाको जासूसी समुदाय निकै लज्जान्वित भयो । यस्तो आक्रमण हुने सम्भावना रहेको आफूले थाहा नपाएकोले लज्जामा डुबेको जासूसी समुदायले भविष्यमा यस्तो आक्रमण नहोस् भन्नका खातिर जतिसक्दो बढी डेटा संकलन गर्न थाल्यो । 

आतंकवादीहरूमाथि गरिने निगरानीलाई विस्तार गरेर सबै आम मानिसमाथि निगरानी गर्न थालिएकोमा स्नोडेनको आपत्ति हो । इन्टरनेट डेटालाई बजारमा बेचिने वस्तु बनाइएपछि त्यसले डिजिटल असमानता ल्याउने स्नोडेनको तर्क छ । शक्तिमा रहेकाहरूले आम मानिसलाई निगरानी गरेर शिकार बनाइरहेकाले स्नोडेनको विवेक जागेको हो । त्यसमाथि अमेरिकी संविधानको चौथो संशोधनमा व्यक्तिको निजताको अधिकारलाई प्रत्याभूति गरिएकाले एक सच्चा देशभक्त अमेरिकी हुनुको नाताले सरकारको गलत कदमको विरोध गर्ने कर्तव्यबोध स्नोडेनले गरेका हुन् । 

त्यसैले उनले निगरानी कार्यक्रमका सबै प्रमाणहरू गोप्य रूपमा कपी गरे अनि सन् २०१३ मा हङकङ पुगेर द गार्डियनका पत्रकार ग्लेन ग्रीनवाल्ड र वृत्तचित्र निर्माता लाउरा पोइत्रासलाई दिए । मेमोरी कार्डमा डेटा कपी गरेर उनले एनएसएबाट कसरी रुबिक्स क्युबमा लुकाएर त्यसलाई बाहिर ल्याए भन्ने वर्णन कुनै जासूसी उपन्यासमा झैं लाग्छ ।

पर्मानेन्ट रेकर्डमा स्नोडेनले अखबारमा आइसकेका कुराहरूलाई नै प्रस्तुत गरेका छन् । अनि ओलिभर स्टोनले स्नोडेन नामक हलिउड फिल्म बनाएर पनि स्नोडेनको जीवनका प्रमुख घटनाहरू सार्वजनिक गरिसकेका छन् । यति हुँदाहुँदै पनि यो पुस्तक पठनीय बन्न पुगेको छ किनकि यसमा स्नोडेनले एनएसएका गतिविधिको विस्तृत विवरण उपलब्ध गराएका छन् । सामान्य प्रविधिकका रूपमा एनएसए प्रवेश गर्दा नै स्नोडेनले प्रत्येक व्यक्तिको सबै कुराको निगरानी गर्न पाउँथे । यसबाट के सिद्ध हुन्छ भने एनएसएसँग सबैका विषयमा मिहिन जानकारी हुन्छ र त्यस सूचनाको आधारमा कुनै पनि व्यक्तिलाई ध्वस्त पार्न एनएसए सक्षम छ । कुनै एक सरकारी निकायसँग यति धेरै शक्ति हुनु आफैंमा डरलाग्दो अवस्था हो । 

स्नोडेनले पुस्तकमा कम्प्युटर वा इन्टरनेट चलाउँदा प्रयोगकर्ताले निगरानी नहोइने गरी कसरी सचेत भएर चलाउनुपर्छ भनी उल्लेख गरेका छन् । उनले टोर ब्राउजर चलाएमा निगरानीमा नपरिने बताएका छन् । स्वतन्त्रतापूर्वक डरभरविना इन्टरनेट चलाउन पाउने एक व्यक्तिको हकलाई सरकारले यसरी खुम्च्याएकोमा जति निन्दा गरे पनि कमै हुन्छ । 

स्नोडेनलाई एनएसएमा जे भइरहेको छ त्यसले निकै चिमोट्यो । निकै आकर्षक तलब सुविधासहितको जागिरलाई पनि उनले धरापमा पारेर अमेरिकी संविधानको रक्षाको शपथलाई सम्झँदै पत्रकारहरूलाई सूचना चुहाए । यसक्रममा उनको मनमा चलेको संघर्षलाई उनले कुशलतापूर्वक वर्णन गरेका छन् । अनि आफू बस्दै आएको हवाईबाट भाग्नुपर्दा र मातापिता तथा प्रेमिकालाई छोडेर हिँड्नुपर्दा उनलाई परेको पीडाको पनि निकै राम्रो वर्णन गरिएको छ ।

प्रेमिका (अहिले पत्नी) लिन्डसे मिल्ससँगको सुमधुर सम्बन्ध तथा सूचना चुहाउनका लागि गोप्यता अपनाउने क्रममा उनलाई ढाँटेकाले भएको पीडालाई सुन्दर रूपमा वर्णन गरिएको छ । पुस्तकमा लिन्डसेको डायरी पनि राखिएको छ र त्यसले स्नोडेनको खुलासापछि लिन्डसेले बेहोर्नुपरेको हैरानीको वर्णन छ ।

उनले एउटा शपिङ मलमा देखेको स्मार्ट रेफ्रिजरेटरको जसरी वर्णन गरेका छन् त्यो पनि प्रशंसायोग्य छ । उक्त रेफ्रिजरेटरमा वाईफाई र फोनको सुविधा छ । त्यसबाट फ्रिज कम्पनीले प्रयोगकर्तालाई सहजैसँग जासूसी गर्न सक्छ ।

स्नोडेनले यस्तो किसिमको डिभाइसबाट व्यक्तिको निजी सूचना चोरिने सम्भावना भएकाले यसप्रति घृणाभाव देखाएका छन् । यसरी हेर्दा स्नोडेन गूगल, अमेजन र फेसबूक जस्ता कम्पनीहरूमा त कुनै हालतमा पनि काम गर्न जाँदैनथिए होलान् किनकि ती कम्पनीहरूले प्रयोगकर्ताको डेटा बजारलाई बेचेर विज्ञापनको तारो बनाइरहेका छन् । प्रयोगकर्ताको निजी जीवन तथा गोप्यताको अतिक्रमण गर्दै उनीहरूका डेटालाई त्यस्ता कम्पनीहरूले बजारमा बेच्ने गरेका छन् (एप्पलको सिरी र अमेजनको एलेक्साले मानिसको बेडरुमको अन्तरंग क्षणको सूचना कम्पीहरुलाई दिने गरेको भनी केही समयअघि विवाद पनि उठेको हो) । त्यसलाई निगरानी पूँजीवाद (सर्भेलान्स क्यापिटलिजम) नाम दिइएको छ । स्नोडेनले गरेको खुलासापछि नै निगरानी पूँजीवादविरुद्धको अभियान चल्न थालेको छ । 

स्नोडेनको भाषा पंक्तिकारलाई ओजिलो लाग्यो । सिद्धहस्त साहित्यकारकै स्तरको उनको भाषाशैलीले पुस्तकलाई गहनका साथै सरस बनाएको छ । 

एडवर्ड स्नोडेन सुशासन र पारदर्शितामा काम गर्ने पत्रकारहरूका लागि प्रेरणाका स्रोत हुन् । उनले संकलन गरेको सूचना शत्रुराष्ट्रलाई दिएको भए पो उनी देशद्रोही ठहर्थे तर उनले गम्भीर पत्रकारिता गर्ने पत्रकारहरूसँग सूचना शेयर गरेकाले उनी पारदर्शिता अभियानका अभियन्ता हुन् भन्नुपर्छ । संसारभरि सरकारले गर्ने बदमासीको भण्डाफोर गर्ने सूचनादाता र पत्रकारहरूका लागि स्नोडेन आदर्श हुन् । उनको यो संस्मरणात्मक पुस्तक जतिसक्दो धेरै मानिसले पढ्नु जरूरी छ ।
 

कमेन्ट गर्नुहोस्