सामाजिक सुरक्षामा सहभागी हुन परिसंघले आह्वान गर्ने

काठमाडौं – नेपाल उद्योग परिसंघले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि आह्वान गर्ने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार भएको छलफलमा परिसंघका अध्यक्ष शतिषकुमार मोरले सामाजिक सुरक्षा योजनाप्रति उद्योगी निकै सकारात्मक भएका उल्लेख गर्दै सबै उद्योगीलाई कोषमा आवद्ध हुन विशेष आह्वान गर्ने बताए ।


Advertisement

परिसंघले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध रुपमा सहयोग गर्दै आएको छ । परिसंघकै सहयोगमा पोखरा, विराटनगरलगायत मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा योजना कार्यान्वयनका बारेमा बृहत् छलफल भएको थियो । 


Advertisement

छलफलमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा परिसंघले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

सामाजिक सुरक्षा योजनाले श्रमिकको उत्पादकत्व वृद्धि हुनेमा ढुक्क हुन विश्वास दिलाउँदै उनले सूचीकरणमा ढिलाइ नगर्न आग्रह गरे । सामाजिक सुरक्षा योजना नौलो भएपनि कार्यक्रम आरम्भकै चरणमा भएकाले केही अलमल देखिनु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री विष्टले संवाद र छलफलका माध्यमबाट योजनालाई थप परिस्कृत गर्दै लैजाने बताए ।

परिसंघको टोलीले योजनाका व्यावहारिक कार्यान्वयनमा केही कठिनाइ देखिएको भन्दै सहजीकरणका लागि आग्रह गरेको थियोे । 

योगदानकर्ताले बढीभन्दा बढी लाभ प्राप्त गर्ने गरी योजनालाई परिमार्जन गर्न सुझाव दिइएको थियो । सो क्रममा मन्त्रालयका सचिव विनोद केसी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले उद्योगीले राखेका जिज्ञासाको समाधान गरेका थिए । सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकको सूचीकरणका लागि आगामी मंसिर १४ गतेसम्मको समयसीमा तोकेको छ ।

कोषमा हालसम्म १० हजारभन्दा बढी प्रतिष्ठान र १ लाखभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्