काठमाडौं-सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।
उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिट खारेज भएको हो ।
मंगलवार न्यायाधीश मनोजकुमार शर्मा र ईश्वर खतिवडाको इजलासले उक्त रिट खारेज गरेको हो ।
फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पारिवारिक झगडाका बीच ओझाकी जेठी पत्नी हेमा कुमारी ओझाले प्रहरीमा बहुविवाहको उजुरी दिएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि शिल्पाले सर्वोच्च अदालतमा गत साउन २९ गते रिट दायर गरेकी थिइन् । भदौ १ गते रिटको सुनुवाइ गर्दै अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
रिट खारेज भएसँगै उनीहरूलाई पक्राउ गर्ने बाटो अब खुलेको छ ।
लोकान्तर संवाददाता