नेविसंघ नेता महरको आरोप- चार भाषामा मोदीलाई शुभकामना दिन सक्ने, सीमा विवादमा चुप लाग्ने

काठमाडौँ - नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले सीमाका विषयमा भारतसँग ओली नेतृत्वको वर्तमान सरकारको मिलेमतो भएको गम्भीर आरोप लगाएका छन् ।

नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि रोष प्रकट गर्दै भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले सीमाको विषयमा कुनै अभिव्यक्ति नदिनुले यसमा सरकारकै मिलेमतो रहेको र सरकार राष्ट्रियताको विषयमा कमजोर सावित भएको प्रष्ट हुन्छ ।’


Advertisement

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले बिहीवार आयोजना गरेको दाङ क्षेत्र नम्बर ३ प्रदेश 'ख' को चुनावी सभालाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताको वितृष्णा पैदा भएको जिकिर गरे ।

उनले नेकपा सरकारले २२ महिनाअगाडि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेकाले जनताले कांग्रेस खोजिरहेको बताएका छन् ।


Advertisement

‘सरकारसँग कुनै ठोस कार्ययोजना नभएर हौवा फैलाउने कार्य गरेको छ र यसबाट मजदूरदेखि मालिकसम्म र विद्यार्थीदेखि शिक्षकसम्म कहींकतैबाट पनि सरकारको कामप्रति असन्तुष्ट देखिएका छन्’ नेता महरले भने ।

कार्यक्रममा पार्टी सभापति कृतबहादुर खड्का, प्रदेशसभा उम्मेदवार केशव आचार्य पूर्वसांसद बुद्धिराम भण्डारी लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ३ सय जना भन्दा बढी नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्