गुल्मी हत्याकाण्ड : दुई जना आरोपित प्रहरी नियन्त्रणमा

गुल्मीमा दुई बालिका र एक महिलासहित तीन जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरमा १६ कात्तिकमा दुई बालिका र एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 


Advertisement

घटनामा संलग्न भएको आशंका गरिएका व्यक्तिहरूलाई १३ दिनपछि नियन्त्रणमा लिइएको हो ।


Advertisement

हत्यामा संलग्न भएको आरोप लागेका बाग्लुङको गल्कोट नगरपालिका– ८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही स्थानका १९ वर्षीय माधव सुनारलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

हत्या हुनेमा मोरङको कानेपोखरी गाउँपालिका– ३ हर्कपुर घर भएकी ३२ वर्षीया सरिता भनिने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी ७ वर्षीया गंगा र जमुना मगर रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । 

दुई जनालाई भने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीन घले र केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

उनीहरू दुवै जनालाई कास्की जिल्लाको पोखरा महानगरपालिका– २५ हेम्जाबाट प्रहरीले पक्राउ गरेको हो । 

आरोपित दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

मृतक तीन जनाको शव पाल्पा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले बताए ।

कमेन्ट गर्नुहोस्